बिल पास गर्न दबाब दिँदै गाउँपालिका कार्यालयमै प्राविधिकमाथि कुटपिट, ‘हातखुट्टा भाँचिदिन्छौं, ज्यान मारिदिन्छौं’ भन्दै धम्की

रसुवा । रसुवाको कालिका गाउँपालिकामा बिल भुक्तानी प्रक्रियामै रहेका प्राविधिक कर्मचारीमाथि कार्यालयभित्रै मदिरा सेवन गरेर प्रवेश गरेको निर्माण व्यवसायीको टोलीले कुटपिट गरेको, लेखापालमाथि समेत सांघातिक आक्रमण गरेको तथा बिल पास नगरे हातखुट्टा भाँच्ने र ज्यान मार्ने धम्की दिएको आरोप सार्वजनिक भएको छ। घटनापछि गाउँपालिकाका सम्पूर्ण कर्मचारीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दोषीमाथि तत्काल कडा कानुनी कारबाहीको माग गरेका छन्।

बिज्ञापन

कर्मचारीहरूले जारी गरेको विज्ञप्तिअनुसार कालिका गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, धैबुङ, रसुवाको प्राविधिक शाखामा कार्यरत कर्मचारीहरू चालु आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत ठेक्का प्रक्रियामार्फत सञ्चालित आयोजना तथा योजनाहरूको बिल भेरिफाइ, रुजु र भुक्तानीका लागि अन्तिम तयारीमा जुटिरहेका थिए। सोही क्रममा असार २४ गते राति करिब १०ः४५ बजे कालिका गाउँपालिका–५ को वडा भवन निर्माण गरिरहेको अधिकारी निर्माण सेवा/L.S. कन्स्ट्रक्सन, विदुर–५, नुवाकोट का प्रोप्राइटर लक्ष्मण श्रेष्ठ, उनका दाजु राम श्रेष्ठ, भतिज तथा निर्माण व्यवसायीका इन्जिनियर रुपेश बोगटी सहितको टोली मादक पदार्थ सेवन गरेर गाउँपालिका कार्यालयभित्र प्रवेश गरेको विज्ञप्तिमा उल्लेख छ।
कर्मचारीहरूको आरोपअनुसार उक्त टोलीले कार्यालयभित्र प्रवेश गरेलगत्तै अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको, कुनै कारणबिनै प्राविधिक शाखा प्रमुखमाथि हातपात गरेको तथा बीचबचाउ गर्न पुगेका गाउँपालिकाका लेखापालमाथि समेत सांघातिक हमला गरेको थियो।

बिज्ञापन

विज्ञप्तिमा निर्माण व्यवसायी पक्षले आफूहरूले भनेअनुसार बिल पास नगरे “जुनसुकै बेला हातखुट्टा भाँचिदिने र ज्यानसमेत मारिदिने” धम्की दिएको दाबी गरिएको छ। इलाका प्रहरी कार्यालय कालिकास्थानबाट प्रहरी टोली गाउँपालिका कार्यालयतर्फ आउँदै गरेको देखेपछि मात्र उनीहरू घटनास्थलबाट फरार भएको कर्मचारीहरूको भनाइ छ।

घटनाप्रति गम्भीर आपत्ति जनाउँदै गाउँपालिकाका कर्मचारीहरूले राष्ट्रसेवक कर्मचारीहरू दिनरात नभनी आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको अवस्थामा यस्तो हिंसात्मक घटना हुनु अत्यन्त दुःखद र निन्दनीय भएको बताएका छन्।

बिज्ञापन

पीडित कर्मचारीहरूले सुरक्षा निकायमा उजुरी दिइसकेको जनाउँदै घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिहरूमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्। साथै राष्ट्रसेवक कर्मचारीहरूको जिउधनको सुरक्षा सुनिश्चित गर्दै सुरक्षित र सम्मानजनक कार्य वातावरण निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

कर्मचारीहरूले भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन र दोषीमाथि कानुनबमोजिम कडा कारबाही हुने सुनिश्चितता गर्न माग गर्दै कालिका गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको तर्फबाट संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

बिल पास गर्न दबाब दिँदै गाउँपालिका कार्यालयमै प्राविधिकमाथि कुटपिट, ‘हातखुट्टा भाँचिदिन्छौं, ज्यान मारिदिन्छौं’ भन्दै धम्की

कर्मचारीलाई नयाँ आचारसंहिता : कार्यास्थल बाहिर सेवाग्राही भेट्न बन्देज,समाजिक सञ्जाल चलाउन थप कडाइ

प्रधानन्यायधीशदेखि मुख्यसचिवसम्मको नियुक्तिले के संकेत गर्दछ ?

पाँच उजुरी, सरकारी छानबिन र कारबाही सिफारिसपछि पनि उपकुलपति दौडमा पूर्व निर्देशक

३०/५५ वर्षे प्रस्ताव अब के हुन्छ ? नयाँ मुख्यसचिव नियुक्तिसँगै सरकारको योजना अन्योलमा

आयल निगमको सञ्चालक समितिमा अझैं ट्रेड युनियनकर्मीको प्रतिनिधित्व

३६ औँ वरीयताका सचिव गोविन्दबहादुर कार्की बने मुख्यसचिव, सिंहदरबारमा खैलाबैला

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरु

बिशेष