भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी आचारसंहिता सार्वजनिक गरेको छ। मन्त्रालयले कर्मचारीहरूका लागि ‘कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, २०८३’ जारी गरेको हो ।
बिज्ञापन
मन्त्री प्रतिभा रावलस्तरीय निर्णयबाट असार १६ गते स्वीकृत भएको र असार २२ गतेबाट कार्यान्वयनका लागि सबै महाशाखा र निकायहरूमा पठाइएको आचारसंहितामा कर्मचारीहरूलाई सामाजिक सञ्जालको प्रयोगमा कडाइ गरिएको छ । यस्तै नयाँ आचारसंहितामा कार्यालय समयमा बाहिर जानुपर्दा सुपरिवेक्षकको अनुमति लिई लग बुक भरेर मात्र जानुपर्ने व्यवस्था राखिएको छ । यसरी बाहिर जाँदा आफू अन्तर्गतका शाखा, महाशाखा र कर्मचारीलाई जानकारी गराई सेवाको निरन्तरता सुनिश्चित गर्नुपर्ने छ।
बिज्ञापन
त्यसैगरी आचारसंहितामा फेसबुक, ट्वीटर, ह्वाट्सएप, टिकटक जस्ता सञ्जालहरू प्रयोग गर्दा सेवाको मर्यादा र आस्थामा आँच नआउने गरी व्यावसायिक सतर्कता अपनाउनुपर्ने सर्त पनि आचार संहितामा राखिएको छ । सरकारको नीति र कार्यक्रमको प्रतिकूल हुने गरी लेख रचना प्रकाशित गर्न वा सामाजिक सञ्जालमा टिप्पणी गर्न समेत मन्त्रालयले रोक लगाएको छ । कर्मचारीहरूले कार्यालय समयको पूर्ण पालना गर्नुपर्ने, तोकिएको पोसाक र परिचयपत्र अनिवार्य रूपमा लगाउनुपर्ने व्यवस्था गरिएको छ। कार्यालयमा रहँदा वा सार्वजनिक स्थलमा मदिरा सेवन, जुवातास खेल्ने वा धूम्रपान गर्ने जस्ता अमर्यादित कार्य गर्न पाइने छैन।
कर्मचारीले कार्यसम्पादन गर्ने क्रममा कुनै समस्या देखिएमा समाधानका लागि अधिकतम प्रयास गर्नुपर्ने छ। कर्मचारीले कुनै पनि प्रकारको अनुचित दबाब, प्रभाव र प्रलोभनबाट मुक्त भई निष्पक्ष रूपमा कार्य गर्नुपर्ने पनि नयाँ आचारसंहितामा उल्लेख छ। त्यसैगरी कुनै पनि कर्मचारीले आफ्नो नाममा रहेको बेरुजु समयमा नै फर्स्र्यौट गर्नुपर्ने छ। सेवाग्राही तथा सम्बन्धित सरोकारवालालाई कामको सिलसिलामा कार्यस्थलभन्दा बाहिर भेटघाट गर्न नहुने, प्रत्यक्ष रूपमा निजी स्वार्थ जोडिने गरी निर्णय गर्न नहुने, सरकारी सम्पत्तिको प्रयोग सरकारी कामबाहेक अन्य काममा प्रयोग गर्न नहुने विषय पनि आचारसंहितामा उल्लेख छ। कर्मचारीले कार्यालयको काममा रहेको समयमा कार्यालय परिसर वा फिल्डमा खटिएको अवस्थामा कार्यालयको पोसाकमा खिचिएका फोटो वा भिडियोहरू सामाजिक सञ्जालमा राख्न नपाउने आचार संहितामा उल्लेख छ । तर, शिक्षामूलक वा सूचनामूलक सामग्रीका हकमा भने यो नियम लागू नहुने आचारसंहितामा लेखिएको छ ।
बिज्ञापन
कर्मचारीहरूलाई सेवाग्राहीसँग शिष्ट, मर्यादित र समान व्यवहार गर्न निर्देशन दिएको छ। कुनै पनि प्रकारको मोहलाहिजा, पक्षपात वा पूर्वाग्रह बिना कार्य सम्पादन गर्नुपर्ने र सेवाग्राहीलाई धर्म, वर्ण, लिङ्ग वा जातका आधारमा भेदभाव गर्न नपाइने नियम पनि मन्त्रालयले बताएको छ । यस्तै आचारसंहितामा सरकारी प्रतीक चिन्ह, छाप, इमेल, पासवर्ड र सरकारी कागजातहरूको सुरक्षा गर्ने जिम्मेवारी कर्मचारीको हुनेछ। सरकारी सम्पत्ति, सूचना प्रणाली र उपकरणहरूको दुरुपयोग गर्न नपाइने र व्यक्तिगत लाभका लागि प्रयोग गर्न नपाइने आचारसंहितामा उल्लेख छ।
आचारसंहिता पालना भए तथा नभएको बारे मन्त्रालयको सचिव वा निजले तोकेको अधिकृतले नियमित अनुगमन गर्ने र आचारसंहिता विपरीतका कार्य गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी मन्त्रालयले दिएको छ।




























