३६ औँ वरीयताका सचिव गोविन्दबहादुर कार्की बने मुख्यसचिव, सिंहदरबारमा खैलाबैला

काठमाडौं – सरकारले निजामती सेवाको सबैभन्दा उच्च प्रशासनिक पद मुख्यसचिवमा विशिष्ट श्रेणीको संयुक्त वरीयतामा ३६औँ स्थानमा रहेका सचिव गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेपछि सिंहदरबारमा व्यापक चर्चा र तरंग सिर्जना भएको छ।

बिज्ञापन

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो। हालका मुख्यसचिव सुमनराज अर्यालको कार्यकाल शुक्रबार सकिने भएपछि सरकारले नयाँ नेतृत्व चयन गरेको हो।

बिज्ञापन

कार्की निजामती सेवाका सचिवहरूको वरीयता सूचीमा १८औँ स्थानमा रहे पनि महालेखा परीक्षक, सर्वोच्च अदालत, संसद् सचिवालयलगायत विशिष्ट श्रेणीका अधिकारीहरूको संयुक्त वरीयतामा ३६औँ नम्बरमा पर्छन्। उनको नियुक्तिसँगै उनीभन्दा वरिष्ठ रहेका १७ सचिव नियुक्तिबाट बाहिरिएका छन्।

सिंहदरबार स्रोतका अनुसार यस निर्णयले प्रशासनिक वृत्तमा मिश्रित प्रतिक्रिया जन्माएको छ। एकथरीले सरकारले नेतृत्व क्षमता, कार्यसम्पादन र निर्णय क्षमतालाई प्राथमिकता दिएको बताएका छन् भने अर्काथरीले लामो समयदेखि कायम रहेको वरिष्ठताको अभ्यास कमजोर बनाएको टिप्पणी गरेका छन्।

बिज्ञापन

कार्कीभन्दा अघि वरीयता क्रममा रहेका किरणराज शर्मा, हरिप्रसाद मैनाली, गोविन्दप्रसाद शर्मा, डिल्लीराम शर्मा, राजकुमार श्रेष्ठ, गोपालप्रसाद सिग्देल, रविलाल पन्थ, कृष्णबहादुर राउत, रामेश्वर दंगाल, मुकुन्दप्रसाद निरौला, डा. दीपक काफ्ले, घनश्याम उपाध्याय, लक्ष्मीकुमारी बस्नेत, राधिका अर्याल, सरिता दवाडी, केदारनाथ शर्मा र पाराश्वर ढुंगानालाई पछि पार्दै कार्की मुख्यसचिव बनेका हुन्।

उमेर हदका आधारमा कार्की २०८५ पुस २५ गतेसम्म मुख्यसचिवको जिम्मेवारीमा रहनेछन्। तर उनको नियुक्तिले भने सिंहदरबारमा वरिष्ठता, कार्यसम्पादन र राजनीतिक विश्वासमध्ये कुन आधारमा उच्च प्रशासनिक नेतृत्व चयन हुनुपर्ने भन्ने बहसलाई पुनः सतहमा ल्याएको छ।

त्यस्तै सरकारले ३० / ५५ ल्याउने हो भने उनी पहिलो नम्बरमा घर जानेछ्न ।२०२७ साल पुस २५ गते भोजपुर जिल्लाको साविक भोजपुर गाउँ विकास समिति वडा नम्बर २ मा उनको जन्म भएको थियो ।

उनले २०४३ सालमा द्वितीय श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए । त्यसपछि त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा २०४६ सालमा प्रवीणता प्रमाणपत्र तह, २०४९ सालमा स्नातक तह र २०५२ सालमा स्नातकोत्तर तह द्वितीय श्रेणीमा उत्तीर्ण भए ।

उनले आफ्नो प्रशासनिक क्षमता अभिवृद्धिका लागि २०५६ सालमा त्रिभुवन विश्वविद्यालयबाटै जनप्रशासन विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर गरे भने अन्तर्राष्ट्रिय स्तरको अनुभवका लागि जापानबाट २०६० सालमा मानविकी तथा सामाजिक शास्त्र विषयमा अर्को स्नातकोत्तर उपाधि हासिल गरे ।

कार्कीको अघिल्लो नोकरी जोडिने पूर्वसेवाको शुरूआत २०४६ साल असोज २ गते भए तापनि उनको खुला प्रतिस्पर्धाबाट नेपाल प्रशासन सेवाको सामान्य प्रशासन समूह अन्तर्गत राजपत्रांकित तृतीय श्रेणी अर्थात् शाखा अधिकृत पदमा २०५३ साल पुस ७ गते औपचारिक नियुक्ति भएको थियो ।

उनको पहिलो पदस्थापन सामान्य प्रशासन मन्त्रालयमा भएको थियो । शाखा अधिकृतका रूपमा करिब ९ वर्ष काम गरेपछि २०६२ साल मंसिर १५ गते राजपत्रांकित द्वितीय श्रेणी अर्थात् उपसचिव पदमा उनी बढुवा भएका थिए ।

उपसचिवको रूपमा काम गर्ने सिलसिलामा उनले लमजुङ, भोजपुर र काभ्रेपलाञ्चोक जिल्लामा स्थानीय विकास अधिकारीको रूपमा स्थानीय निकाय र समुदायको विकासमा कुशल नेतृत्व प्रदान गरेका थिए ।

कार्की निजामती सेवाको अर्को महत्त्वपूर्ण खुड्किला २०७० साल चैत २१ गते उक्लिएन । जतिबेला उनी राजपत्रांकित प्रथम श्रेणी अर्थात् सहसचिव पदमा बढुवा भए । सहसचिवका रूपमा १० वर्षभन्दा बढी समय सेवा गर्दा उनले गृह प्रशासन, अध्यागमन, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिको क्षेत्रमा फराकिलो प्रशासनिक अनुभव बटुले ।

डोटी र कञ्चनपुरको प्रमुख जिल्ला अधिकारीको रूपमा काम गरेका उनले मुख्य अध्यागमन अधिकृतको रूपमा समेत काम गर्ने अवसर प्राप्त गरे ।

उनले चीनको तिब्बतस्थित ल्हासामा रहेको नेपाली महावाणिज्य दूतावासमा महावाणिज्यदूतका रूपमा पनि काम गरे भने गृह, परराष्ट्र, पर्यटन र उद्योग मन्त्रालयका साथै विराटनगरस्थित कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयमा प्रदेश सचिवको रूपमा पनि जिम्मेवारी सम्हाले ।

सहसचिवका रूपमा लामो प्रशासनिक तथा कूटनीतिक परिपक्वता प्राप्त गरेपछि २०८१ साल भदौ २० गते राजपत्रांकित विशिष्ट श्रेणी अर्थात् सचिव पदमा उनी बढुवा भएका थिए ।

सचिव बनेलगत्तै उनले बागमती प्रदेशको प्रमुख सचिव बने । पछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव हुँदै कार्की हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए ।

हालसम्म उनको निजामती सेवाको कूल अवधि ३६ वर्ष ९ महिना २३ दिन पुगेको छ भने उमेर हदका कारण उनको अनुमानित अनिवार्य अवकाशको मिति २०८५ साल पुस २५ गते रहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३६ औँ वरीयताका सचिव गोविन्दबहादुर कार्की बने मुख्यसचिव, सिंहदरबारमा खैलाबैला

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरु

औषधि आपूर्ति नै नभई सिस्टममा इन्ट्री, म्याद गुज्रेका औषधि लुकाएर करिब ३ करोड भ्रष्टाचार : निजामती अस्पतालका ८ कर्मचारीविरुद्ध मुद्दा

प्राधिकरणको विकास आयुक्तमा शाक्य

मुख्य सचिवमा गोविन्द कार्की नियुक्त

टिकापुर अस्पतालका दुई कर्मचारीबीच कुटाकुट

म्यादभित्र सम्पत्ति विवरण बुझाउन राष्ट्रिय किताबखानाको आग्रह, नबुझाए १० हजार रुपैयाँ जरिवाना

असारभित्रै १४ सचिव रिक्त,बढुवाको छैन सुरसार

बिशेष