टिकापुर अस्पतालभित्र दुई कर्मचारीबीच भएको कुटाकुटको घटना अस्पतालको सीसीटीभी फुटेज सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बनेको छ।
बिज्ञापन
मंगलबार दिउँसो अस्पतालको प्रयोगशालामा कार्यरत उमेशप्रसाद बजगाईँ र फिजियोथेरापिस्ट अनिलकुमार तिवारीबीच विवाद चर्किँदा हातपात भएको हो। सार्वजनिक भएको सीसीटीभी भिडियोमा तिवारी दौडिँदै आएर बजगाईँमाथि मुक्का प्रहार गरेको देखिन्छ। त्यसपछि बजगाईँले पनि प्रतिकारस्वरूप लात हानेका छन्। केहीबेरपछि अन्य कर्मचारीले हस्तक्षेप गरी दुवैलाई छुट्याएका थिए।
बिज्ञापन
अस्पतालका सूचना अधिकारी पदमराज भट्टका अनुसार प्रयोगशालासँग सम्बन्धित भनिएको अनियमितताको विषयलाई लिएर दुवै कर्मचारीबीच लामो समयदेखि मतभेद रहँदै आएको थियो। सोही विवाद मंगलबार हातपातसम्म पुगेको उनले बताए। उनले घटनाबारे प्रहरीमा जानकारी गराइसकिएकाले अनुसन्धान प्रभावित हुने गरी थप टिप्पणी गर्न नमिल्ने उल्लेख गर्दै अनुसन्धानपछि वास्तविकता स्पष्ट हुने बताए।
उता इलाका प्रहरी कार्यालय टिकापुरले घटनाबारे औपचारिक अनुसन्धान सुरु गरेको जनाएको छ। कार्यालय प्रमुख डीएसपी प्रकाश डाँगीका अनुसार घटनासम्बन्धी निवेदन दर्ता भइसकेको छ र अस्पताल व्यवस्थापन समितिका अध्यक्षसहित सम्बन्धित पक्षसँग छलफल गरी घटनाको वास्तविक कारणबारे अनुसन्धान अघि बढाइनेछ।
बिज्ञापन
प्रहरीका अनुसार प्रयोगशालाका कर्मचारी उमेशप्रसाद बजगाईँले आफूलाई बिना कारण कुटपिट गरिएको भन्दै फिजियोथेरापिस्ट अनिलकुमार तिवारीविरुद्ध कानुनी कारबाहीको माग गर्दै निवेदन दिएका छन्। घटनाको वास्तविक कारण र जिम्मेवारीबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।




























