अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको सब-डिभिजन वन कार्यालय, बन्दीपुरका कार्यालय प्रमुख (अधिकृत आठौं) रामकेवल राय यादवलाई सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरेको छ।
बिज्ञापन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले उद्योगका लागि ल्याइएको काठको सिलबन्दीअनुसार भए–नभएको रुजु गरी आवश्यक कागजातसहितको फाइल फिर्ता गर्ने प्रक्रियामा सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिँदै घुस मागेको भन्ने विशेष सूचनाका आधारमा मंगलबार साँझ यादवलाई नियन्त्रणमा लिएको हो।
बिज्ञापन
अख्तियारका अनुसार यादवलाई सिरहाको कर्जन्हा नगरपालिका–४ अन्तर्गत मिर्चौया–बन्दीपुर सडक खण्डमा सेवाग्राहीबाट १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरिएको हो। सेवाग्राहीले घुस मागिएको जानकारी अख्तियारको बर्दिवास कार्यालयमा गराएपछि योजनाबद्ध रूपमा ‘ट्र्याप’ अपरेशन सञ्चालन गरिएको थियो।
पक्राउपछि गरिएको खानतलासीका क्रममा यादवको साथबाट घुसको १२ हजार रुपैयाँ सहित स्रोत नखुलेको थप १ लाख ३३ हजार १२० रुपैयाँ नगद बरामद भएको अख्तियारले जनाएको छ। यससँगै उनको साथबाट एउटा मोबाइल फोन पनि नियन्त्रणमा लिइएको छ। बरामद भएको नगदको कुल रकम १ लाख ४५ हजार १२० रुपैयाँ रहेको छ।
बिज्ञापन
घटनाबारे अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले यादवमाथि थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। बरामद भएको अतिरिक्त नगदको स्रोतबारे समेत अनुसन्धान अघि बढाइएको आयोगले जनाएको छ।
यसैबीच, घटनाबारे प्रतिक्रिया माग्दा डिभिजन वन कार्यालय, लहानका सूचना अधिकारी तथा वन अधिकृत राधेश्याम चौधरीले मंगलबार साँझ करिब ५ बजे अख्तियारको टोलीले बन्दीपुर सब-डिभिजन वन कार्यालयका प्रमुख यादवलाई नियन्त्रणमा लिएको पुष्टि गरेका छन्।
अख्तियारले घुसखोरीसँग सम्बन्धित थप प्रमाण संकलन तथा घटनाका अन्य पक्षबारे अनुसन्धान जारी रहेको जनाएको छ।




























