काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत–साधनको दुरुपयोग रोक्न विशेष अभियान सञ्चालन गर्दै प्रचलित कानुनविपरीत पहुँचका आधारमा सरकारी सवारी सुविधा लिइरहेका कर्मचारी तथा पदाधिकारीबाट ६२२ वटा सरकारी सवारी साधन फिर्ता गराएको थियो। त्यसयता अधिकांश सरकारी कर्मचारी सार्वजनिक यातायात, साझा सवारी वा निजी साधन प्रयोग गरेर कार्यालय पुग्न बाध्य भएका छन् ।
बिज्ञापन
तर, सरकारको यही मितव्ययिता अभियानलाई चुनौती दिने गरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव ध्रुव घिमिरेले एकै समयमा तीन वटा सरकारी सवारी साधन प्रयोग गरिरहेको आरोप सार्वजनिक भएको छ।
बिज्ञापन
स्रोतका अनुसार मन्त्रालयको जग्गा प्रशासन महाशाखामा कार्यरत घिमिरेले मन्त्रालयको बा.ए.ए. ५७५० नम्बरको सरकारी गाडी नियमित रूपमा प्रयोग गर्दै आएका छन्।
यसैबीच उनी साझा भण्डार सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारीमा समेत छन्। सोही जिम्मेवारीका नाममा उनले संस्थाको बा.ए.ब. ४००३ नम्बरको निजी नम्बर प्लेट भएको सवारी साधन पनि प्रयोग गरिरहेको आरोप छ। संस्थाका कर्मचारीहरूका अनुसार उक्त गाडी कार्यालय प्रयोजनभन्दा बढी सार्वजनिक बिदाको दिनमा व्यक्तिगत कामका लागि प्रयोग हुने गरेको छ। उनी आफ्नी श्रीमतीलाई कार्यालय लैजान–ल्याउन समेत यही गाडी प्रयोग गर्ने गरेको कर्मचारीहरूको दाबी छ। उनकी श्रीमती अर्थ मन्त्रालयअन्तर्गतको मध्यमस्तरीय करदाता कार्यालयमा कार्यरत छन्।
बिज्ञापन
यति मात्र होइन, घिमिरेलाई हाल गुठी संस्थान को प्रशासकको जिम्मेवारी समेत दिइएको छ। सो जिम्मेवारीसँगै उनले संस्थानको बा.ए.सी. ६०६० नम्बरको सरकारी गाडी पनि प्रयोग गरिरहेका छन्। स्रोतका अनुसार उक्त गाडीको इन्धन, चालकको तलब तथा मर्मत–सम्भारको सम्पूर्ण खर्च गुठी संस्थानबाटै व्यहोर्ने गरिएको छ।
सरकारले सरकारी सवारी साधनको दुरुपयोग रोक्न कडाइ गरिरहेको र मन्त्रीहरूलाई समेत एउटा मात्रै गाडीमा सीमित गरिएको अवस्थामा एउटै सहसचिवले तीन वटा सवारी साधन प्रयोग गरिरहेको विषयले सरकारी मितव्ययिता अभियानमाथि नै प्रश्न उठाएको छ।
सार्वजनिक स्रोतको प्रयोगमा पारदर्शिता र समान मापदण्ड लागू गर्नुपर्ने आवाज उठिरहेका बेला सम्बन्धित निकायले यस विषयमा छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने माग समेत बढ्न थालेको छ।






























