राष्ट्रिय किताबखानाले ई–पेन्सन सेवामा बाँकी रहेका सबै आवेदन फर्छ्योट गरी शून्यमा झार्ने उद्देश्यले आइतबार एकदिने विशेष अभियान सञ्चालन गरेको छ।
बिज्ञापन
किताबखानाका अनुसार २०८२ फागुन ८ गतेदेखि सुरु गरिएको ई–पेन्सन सेवामा हालसम्म कुल ५ सय १७ वटा आवेदन परेका छन्। तीमध्ये ४ सय ३३ जनाले सेवा प्राप्त गरिसकेका छन् भने अत्यधिक कार्यबोझका कारण ८४ वटा आवेदन अझै फर्छ्योट हुन बाँकी रहेका थिए। आर्थिक वर्षको अन्त्य नजिकिँदै जाँदा ती सबै आवेदन एकै दिनमा टुंग्याउने लक्ष्यसहित ‘शून्य बाँकी ई–पेन्सन आवेदन’ विशेष अभियान सञ्चालन गरिएको हो।
बिज्ञापन
महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार आइतबार सार्वजनिक बिदाका दिन पनि सात जना कर्मचारीको विशेष टोली खटाएर सेवा प्रवाह भइरहेको छ। अषार २५ गतेपछि कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत अवकाश सुविधाको भुक्तानीमा समस्या आउन सक्ने भएकाले विभिन्न जिल्लाबाट आवेदन दिएका निवृत्त कर्मचारीहरूको अनुरोधलाई ध्यानमा राख्दै विशेष अभियान सञ्चालन गरिएको उनले बताए।
राष्ट्रिय किताबखानाका अनुसार हाल निवृत्त भएका कर्मचारीमध्ये ५० प्रतिशतभन्दा बढीले ई–पेन्सन सेवा रोज्ने गरेका छन्। श्रेणीविहीनदेखि विशिष्ट श्रेणीसम्मका निवृत्त कर्मचारी यस सेवाबाट लाभान्वित भइरहेका छन्।
बिज्ञापन
किताबखानाले पछिल्लो समय राजीनामा दिने कर्मचारीको संख्या उल्लेख्य रूपमा बढेकाले ई–पेन्सन सेवाको माग पनि तीव्र रूपमा बढेको जनाएको छ। महानिर्देशक पोखरेलका अनुसार चालु अषार महिनाको १ गतेदेखि १९ गतेसम्मको १५ कार्यदिनको अवधिमा १ सय ४२ जना अनिवार्य अवकाशमा गएका छन् भने १ सय ४६ जनाले राजीनामा दिएका छन्। यसले अनिवार्य अवकाशभन्दा राजीनामा दिने कर्मचारीको संख्या बढी रहेको प्रवृत्ति देखाएको उनले बताए।
सोही अवधिमा सहायक स्तरका ७९ जना, शाखा अधिकृत स्तरका २९ जना, उपसचिव स्तरका ३३ जना र सहसचिव स्तरका ५ जनाले राजीनामासहित पेन्सनका लागि आवेदन दिएको राष्ट्रिय किताबखानाले जनाएको छ। पुस्तागत रूपमा बढ्दै गएको ई–पेन्सन सेवाको प्रयोगसँगै आवेदनको चाप पनि निरन्तर बढिरहेको कार्यालयको भनाइ छ।





























