भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटलाइज गर्ने भएको छ । मन्त्रालयका अनुसार,अब कर्मचारी सरुवाको आवेदनदेखि निर्णयसम्म अनलाइनबाटै गर्ने भएको हो ।
बिज्ञापन
सरुवा प्रक्रियालाई पारदर्शी, व्यवस्थित, छिटोछरितो र प्रविधिमैत्री बनाउने उद्देश्यले मन्त्रालयले डिजिटल सरुवा प्रणाली विकास गर्न लागेको जनाएको छ । मन्त्रालयले एक सूचना जारी गर्दै अबदेखि सरुवा सम्बन्धी सम्पूर्ण कार्यहरू उक्त प्रणालीमार्फत मात्र सञ्चालन गरिने जानकारी गराएको छ। जारी सूचना अनुसार सरुवाका लागि इच्छुक कर्मचारीहरूले अनिवार्य रूपमा उक्त अनलाइन प्रणालीमा आफ्नो व्यक्तिगत खाता सिर्जना गरी आवेदन पेस गर्नु पर्नेछ । अनलाइन प्रणालीभन्दा बाहेक अन्य कुनै पनि माध्यमबाट प्राप्त हुने सरुवा सम्बन्धी निवेदनहरू उपर कुनै पनि कारबाही नगरिने व्यहोरा समेत मन्त्रालयले स्पष्ट पारेको छ ।
बिज्ञापन
मन्त्रालयका अनुसार सो प्रणाली कर्मचारीको डिजिटल प्रोफाइलमा आधारित हुनेछ । कर्मचारीको व्यक्तिगत तथा सेवासम्बन्धी विवरण सम्बन्धित प्रणालीसँग प्रत्यक्ष वा अप्लिकेसनमार्फत आबद्ध हुने भएकाले आवश्यक विवरण स्वतः अद्यावधिक हुनेछ ।सरुवाका लागि इच्छुक कर्मचारीले मन्त्रालयको वेबसाइट [http://saruwa.mofaga.gov.np/](http://saruwa.mofaga.gov.np/) मार्फत वा सूचनामा दिइएको क्यूआर (QR) कोड स्क्यान गरेर प्रणालीमा पहुँच पाउन सक्नेछन् । यस प्रणालीमा सरुवासम्बन्धी आवेदनका लागि फ्ल्यागिङ प्रणाली समेत रहनेछ । यसले दोहोरिने, विशेष निगरानी आवश्यक पर्ने वा थप परीक्षण गर्नुपर्ने आवेदनको सहज पहिचान गर्न सहयोग गर्नेछ । साथै, कर्मचारीले आफ्नो सरुवा आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी प्रोसेस ट्र्याकिङ प्रणाली मार्फत अनलाइनबाटै हेर्न सक्नेछन् ।
मन्त्रालयका अनुसार सरुवासम्बन्धी पत्रहरू प्रणालीबाटै स्वचालित रूपमा तयार हुनेछन् । आवश्यक परे अन्य सम्बन्धित निकायका प्रणालीसँग अप्लिकेसनमार्फत सूचना आदान–प्रदान गर्न सकिने व्यवस्था पनि हुनेछ । साथै, सरुवासम्बन्धी निर्णय तथा विवरण मन्त्रालयको वेबसाइटमा २४ घण्टाभित्र स्वतः सार्वजनिक गरिने व्यवस्था मिलाइनेछ ।























