मनसुनजन्य विपद्का घटनालाई प्रभावकारी रूपमा सामना गर्न सशस्त्र प्रहरी बल नेपालले देशव्यापी रूपमा व्यापक पूर्वतयारी, जनशक्ति परिचालन तथा प्रतिकार्य योजना कार्यान्वयन गरेको जनाएको छ। सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीका अनुसार मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३ अनुरूप देशभर रहेका २१ हजार ६ सय ९९ जना सशस्त्र प्रहरी कर्मचारीलाई विपद् व्यवस्थापनसम्बन्धी अनुशिक्षण तालिम प्रदान गरी तयारी अवस्थामा राखिएको छ। असार मसान्तसम्म सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई यस्तो तालिम प्रदान गरिसक्ने लक्ष्य राखिएको छ।
बिज्ञापन
विपद्का बेला तत्काल उद्धार तथा राहत कार्य सञ्चालन गर्न ८ हजार १ सय ८० जना सशस्त्र प्रहरी कर्मचारीलाई २४सै घण्टा स्टेण्डबाइ अवस्थामा राखिएको छ। साथै, देशभरका सशस्त्र प्रहरी कार्यालयहरूमा विपद् व्यवस्थापनसम्बन्धी ‘डिजास्टर फोकल पर्सन’ तोकी सम्बन्धित निकायहरूसँग समन्वय गर्ने व्यवस्था मिलाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए), राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्र, प्रदेश तथा जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रहरूमा सञ्चार तालिम प्राप्त ९५ जना सशस्त्र प्रहरी कर्मचारी खटाएर सूचना आदान–प्रदान तथा समन्वयलाई प्रभावकारी बनाइएको छ।
बिज्ञापन

सशस्त्र प्रहरी बलले विपद् प्रभावित क्षेत्रमा छिटो पुग्न सकिने वातावरण निर्माण गर्न देशभरका विभिन्न जोखिमयुक्त स्थानमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरेको छ। कोशी प्रदेशमा ६, मधेश प्रदेशमा ११, बागमती प्रदेशमा १६, गण्डकी प्रदेशमा ४, लुम्बिनी प्रदेशमा ७, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा ८ गरी कुल ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरेर कार्य सञ्चालन भइरहेको छ। त्यस्तै, १६ वटा अति जोखिमयुक्त स्थानमा स्थायी विपद् व्यवस्थापन बेस स्थापना गरी आवश्यक जनशक्ति तथा स्रोत–साधनसहित तयारी अवस्थामा राखिएको छ।
बाढी तथा डुबानका घटनामा तत्काल उद्धार गर्न सशस्त्र प्रहरी बलसँग रहेका ८२ वटा राफ्ट बोट र ५३ वटा मोटरबोट तयारी अवस्थामा राखिएका छन्। जलजन्य विपद्का घटनामा परिचालनका लागि १ सय ३४ जना गोताखोर तालिम प्राप्त जनशक्तिलाई देशभरका ११ वटा जोखिमयुक्त स्थानमा आवश्यक उपकरणसहित तयारी अवस्थामा राखिएको छ। यसबाहेक विपद् व्यवस्थापनसम्बन्धी विभिन्न विशिष्टीकृत तालिम प्राप्त ४ हजार ७ सय १० जना सशस्त्र प्रहरी कर्मचारीलाई आवश्यक सामग्रीसहित तत्काल परिचालन गर्न सकिने अवस्थामा राखिएको छ।
बिज्ञापन
विपद्का घटनामा ठूलो संख्यामा घाइते तथा प्रभावित व्यक्तिको उद्धार तथा उपचार व्यवस्थापन गर्न सशस्त्र प्रहरी बलसँग रहेका ८ वटा ‘मास क्याजुअल्टी भेहिकल’ र ८ वटा ‘ए–क्लास एम्बुलेन्स’ समेत तयारी अवस्थामा राखिएका छन्। खानेपानी संकट उत्पन्न हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका ७ स्थान र उपत्यकाबाहिर कास्की, नवलपरासी, बाँके तथा कैलालीमा गरी कुल १२ स्थानमा डिप ट्युबवेल सञ्चालनका लागि तयारी अवस्थामा राखिएको छ।
विपद्पछि राहत वितरण तथा अस्थायी बसोबास व्यवस्थापनलाई सहज बनाउन २८ वटा ‘डिजास्टर रिलिफ सिस्टम’ कन्टेनर १३ जिल्लामा राखिएको छ। सुनसरीमा २, सप्तरीमा ३, चितवनमा १, सिन्धुपाल्चोकमा ३, दोलखामा ३, रसुवामा २, लमजुङमा २, म्याग्दीमा ३, गोरखामा २, मनाङमा १, दाङमा १, कैलालीमा ३ र दार्चुलामा २ वटा कन्टेनर तयारी अवस्थामा राखिएको प्रवक्ता कार्कीले जानकारी दिए।
सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनमा समुदायको सहभागिता अभिवृद्धि गर्न स्वयंसेवक उत्पादन र जनचेतनामूलक कार्यक्रमलाई पनि प्राथमिकता दिएको छ। गत आर्थिक वर्षमा ९ सय ९० जना र चालु आर्थिक वर्षमा ७ सय ५१ जना गरी हालसम्म १ हजार ७ सय ४१ जना विपद् स्वयंसेवक तयार पारिएको छ भने ६ वटा तालिममा १ सय ५९ जना प्रशिक्षणरत छन्। यसै आर्थिक वर्षमा विद्यालय १ हजार २ सय ७८ र क्लब तथा समुदायस्तरका १ हजार ४३ स्थानमा गरी कुल २ हजार ३ सय २१ स्थानमा विपद् सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ, जसमा १ लाख १४ हजार ९ सय ४० जना सहभागी भएका छन्।
त्यस्तै, ३ सय ४३ वटा विपद् सम्बन्धी कृत्रिम अभ्यास सञ्चालन गरी ४९ हजार ९ सय २९ जनालाई सहभागी गराइएको छ। देशका विभिन्न स्थानीय तहमा विपद् सम्बन्धी सूचना तुरुन्त प्राप्त गर्न १ लाख ६८ हजार ९ सय ५६ जना विपद् सूचक तयार गरिएको छ। मनसुनलाई लक्षित गरी प्रमुख राजमार्ग तथा करिडोरहरूको खोज तथा उद्धार योजना तयार गरी सम्बन्धित कार्यालयहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। सम्भावित बाढी, पहिरो तथा डुबानबाट प्रभावित हुन सक्ने स्थानहरूको प्रदेशगत विवरणसमेत अद्यावधिक गरिएको छ।
सशस्त्र प्रहरी बलका प्रदेशगत ८ वटै बाहिनी मुख्यालय तथा विपद् उद्धार गणमा रहेका विपद् व्यवस्थापन टोलीलाई पूर्ण तयारी अवस्थामा राखिएको छ। साथै, समुदायबाट प्राप्त हुने विपद् सूचनालाई तत्काल उद्धार कार्यमा रूपान्तरण गर्न ‘एपीएफ–कम्युनिटी अलर्ट सिस्टम (APF-CAS)’ मोबाइल प्रणाली सञ्चालनमा ल्याइएको छ। यस प्रणालीमार्फत प्राप्त सूचना सम्बन्धित बाहिनी तहको अपरेसनल रुममा तत्काल पुग्ने र उद्धार टोली परिचालनका लागि आदेश जारी हुने व्यवस्था गरिएको छ।
जल तथा मौसम विज्ञान विभागबाट प्राप्त रियल टाइम मौसम तथा जलसम्बन्धी तथ्यांक सम्बन्धित कार्यालयहरूमा तत्काल उपलब्ध गराइ प्रतिकार्यका लागि तयारी अवस्थामा राखिएको छ। साथै, बढ्दो गर्मी तथा तातो हावाको जोखिमलाई मध्यनजर गर्दै ‘हिट वेभ रिस्क रिडक्सन एन्ड म्यानेजमेन्ट’ सम्बन्धी कार्ययोजना कार्यान्वयन गर्न मातहतका कार्यालयहरूलाई आवश्यक निर्देशन दिइएको सशस्त्र प्रहरी बलले जनाएको छ।
सशस्त्र प्रहरी बल, नेपालले मनसुनजन्य विपद्का बेला जनधनको क्षति न्यूनीकरण, शीघ्र उद्धार तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक सम्पूर्ण जनशक्ति, उपकरण, पूर्वाधार तथा प्रविधिसहित उच्च सतर्कता अपनाएर तयारी अवस्थामा रहेको जनाएको छ।
























