काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीका लागि भन्दै राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) बाट माग गरिएको एउटा सवारी साधनको प्रयोग र अवस्थाबारे गम्भीर प्रश्न उठेको छ। मन्त्रीको सचिवालयको अनुरोधमा उपलब्ध गराइएको गाडी मन्त्रालयको अभिलेखमै नरहेको तथा त्यसको प्रयोगकर्ताबारे समेत मन्त्रालयका जिम्मेवार अधिकारीहरू अनभिज्ञ रहेको तथ्य बाहिर आएपछि सरकारी सम्पत्तिको दुरुपयोग भएको आशंका गरिएको छ।
बिज्ञापन
प्राप्त कागजातअनुसार कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीका निजी सचिव सन्तोष चौधरीले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई पत्राचार गर्दै मन्त्रीको प्रयोगका लागि सवारी साधन उपलब्ध गराइदिन अनुरोध गरेका थिए। सोही अनुरोधका आधारमा कोषले बी एबी २९२१ नम्बरको रेनल्ट डष्टर गाडी उपलब्ध गराएको देखिन्छ। कोषले तीन दिनपछि उक्त गाडी मन्त्रालयतर्फ पठाइएको थियो।
तर आश्चर्यजनक रूपमा मन्त्री चौधरी स्वयंले भने उक्त गाडी प्रयोग गरिरहेको देखिँदैन। वन मन्त्रालय स्रोतका अनुसार मन्त्री हाल बा १ झ ३८६७ नम्बरको सरकारी गाडी प्रयोग गरिरहेकी छन्। यसले मन्त्रीका लागि भनेर माग गरिएको रेनल्ट डष्टर गाडी अहिले कहाँ छ र कसले प्रयोग गरिरहेको छ भन्ने प्रश्न खडा गरेको छ।
यस विषयमा बुझ्दा राष्ट्रिय प्रकृति संरक्षण कोषले गाडी मन्त्रालयका चालकलाई बुझाएर पठाएको जनाएको छ। तर वन मन्त्रालयका अधिकारीहरूले भने उक्त गाडी मन्त्रालयमा नरहेको बताएका छन्। मन्त्रालयका सूचना अधिकारी तथा आन्तरिक प्रशासन शाखा प्रमुख बाबुराम घिमिरेले समेत बी एबी २९२१ नम्बरको गाडीबारे आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन्।
बिज्ञापन
सामान्यतया मन्त्रालयअन्तर्गत प्रयोग हुने सबै सवारी साधनको अभिलेख आन्तरिक प्रशासन शाखामा रहने व्यवस्था हुन्छ। कुन गाडी कहाँ प्रयोग भइरहेको छ, कसको जिम्मामा छ र त्यसको इन्धन तथा मर्मत खर्च कहाँबाट भइरहेको छ भन्ने सम्पूर्ण विवरण शाखामा सुरक्षित रहने प्रचलन छ। तर मन्त्रालयको आन्तरिक प्रशासन हेर्ने अधिकारी नै उक्त गाडीबारे अनभिज्ञ हुनु र अभिलेखमा समेत विवरण नदेखिनुले थप आशंका उत्पन्न गरेको छ।
स्रोतका अनुसार उक्त गाडी हाल सरोज बुढाथोकी नामका व्यक्तिले प्रयोग गरिरहेका छन्। तर उनी न मन्त्रालयका कर्मचारी हुन्, न मन्त्रीको सचिवालयका सदस्य। यदि मन्त्रालयसँग सम्बन्ध नराख्ने व्यक्तिले मन्त्रीका लागि भनेर माग गरिएको गाडी प्रयोग गरिरहेका छन् भने त्यसले सरकारी स्रोत र सम्पत्तिको दुरुपयोग भएको प्रश्न उठाउँछ।
यस प्रकरणमा अर्को गम्भीर आरोप पनि जोडिएको छ। स्रोतहरूका अनुसार एनटीएनसीबाट गाडी मात्र नभई इन्धनसमेत उपलब्ध गराइँदै आएको छ। अर्थात् मन्त्रीको सचिवालयसँग सम्बन्धित व्यक्तिहरूले कोषको स्रोतबाट इन्धन सुविधा समेत उपभोग गरिरहेको आरोप छ। यस्ता गतिविधिलाई कोषका निमित्त सदस्य सचिव डा. चिरञ्जीवी प्रसाद पोखरेलले संरक्षण गरिरहेको मन्त्रालयभित्र चर्चा हुने गरेको स्रोतहरूको दाबी छ।
मन्त्रालय स्रोतका अनुसार डा. पोखरेलविरुद्ध विभिन्न निकायमा उजुरी परे पनि हालसम्म कुनै प्रभावकारी छानबिन वा कारबाही भएको छैन। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय सतर्कता केन्द्रसम्म उजुरी पुगेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा आएपछि विभिन्न निकायमा नियुक्ति भएका व्यक्तिहरूले राजीनामा दिइसकेका छन्। राजीनामा दिएपछि उक्त निकायमा नयाँ नियुक्तिको लागि प्रक्रिया सुरु भइसकेको छ। तर एन्टीएनसीमा भने अहिलेसम्म सूचना समेत प्रकाशन गरिएको छैन। मन्त्रालयभित्र डा. पोखरेललाई नै निरन्तरता दिन विभिन्न तहमा पहल भइरहेको चर्चा पनि चलिरहेको छ।
स्रोतहरूले मन्त्रीलाई खुसी पार्न विभिन्न सुविधा उपलब्ध गराइएको आरोप समेत लगाएका छन्। गाडी र इन्धन व्यवस्थापनदेखि लिएर अन्य सामग्री उपलब्ध गराइएको चर्चा मन्त्रालयभित्र हुने गरेको बताइन्छ।
त्यस्तै, केही समयअघि मन्त्री चौधरी परिवारसहित घान्द्रुक भ्रमणमा गएको र सो भ्रमणसँग सम्बन्धित खर्चसमेत संरक्षण क्षेत्रको कार्यालयमार्फत व्यवस्थापन गरिएको भन्ने आरोप मन्त्रालयभित्र उठिरहेको स्रोतहरूको दाबी छ।





























