नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जिव गौतम कारागार चलान भएका छन् । विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।
बिज्ञापन
पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माण परियोजनामा भएको अनियमितता र हिनामिनामा तत्कालीन महानिर्देशक प्रदिप अधिकारी पछि अर्काे महानिर्देशक गौतम पनि कारागार चलान भएका हुन । सरकारको तर्फबाट विशेष सरकारी वकील कार्यालय, काठमाडौंले प्रतिवादी गौतममाथि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण परियोजनामा अनियमितता र हिनामिना गरेको आरोप लगाएको थियो । अख्तियारले गौतममाथि ६ करोड ७३ लाख ९९ हजार ६४८ रुपैयाँ ५९ पैसा असुल उपर गरी सजाय गर्न मागदाबीसहित विशेषमा गएको थियो ।
परामर्श सेवाको लागत अस्वाभाविक रूपमा बढाई करिब ५० करोड ३४ लाख रुपैयाँको लागत अनुमान स्वीकृत गरिएको र त्यसबाट नेपाल नागरिक उड्डयन प्राधिकरणलाई करिब हानिनोक्सानी भएको दावी गरिएको छ । अख्तियारले दायर गरेको मुद्दामा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार गौतममाथि दफा १७ तथा दफा ३ बमोजिम कैद र जरिवाना माग गरेकोमा पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई विशेष अदालतले पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको छ।
अदालतले उपलब्ध प्रारम्भिक प्रमाण, बयान,सम्झौता विवरण तथा तत्कालीन भूमिकालाई आधार मानेर विशेष अदालत ऐन, २०५९ अनुसार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।






























