काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहका मुख्य स्वकीय सचिव सुवास शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनालसँग सम्बन्धित ‘चियादानी काठमाडौं’ नामक व्यवसायविरुद्ध कर छलीको गम्भीर आरोपसहित आन्तरिक राजस्व कार्यालयमा उजुरी दर्ता भएको छ।
काठमाडौंको शंखमूल–प्रगतिनगर क्षेत्रमा सञ्चालित उक्त व्यवसायले वास्तविक कारोबार लुकाएर करिब ७५ लाख रुपैयाँ बराबरको मूल्य अभिवृद्धि कर (भ्याट) र आयकर छल गरेको दाबी उजुरीमा गरिएको छ। उजुरीकर्ताले आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ अवधिमा व्यवसायको वास्तविक कारोबार साढे तीन करोड रुपैयाँभन्दा बढी पुगेको अनुमान गरे पनि कर कार्यालयमा भने वार्षिक ३० लाख रुपैयाँभन्दा कम बिक्री देखाइएको आशंका व्यक्त गरेका छन्।
बिज्ञापन
रोशिका राना नाम उल्लेख गरिएकी एक व्यक्तिले आन्तरिक राजस्व कार्यालय, नयाँ बानेश्वरमा पठाएको उजुरीमा व्यवसायले भ्याट दर्ताको सीमा नाघे पनि भ्याटमा दर्ता नभई कारोबार जारी राखेको, बिक्री बिजक जारी नगर्ने गरेको तथा वास्तविक कारोबार लुकाएको आरोप लगाइएको छ।
उजुरीमा चिया पसलको रूपमा सञ्चालन भए पनि मुख्य आम्दानी ‘हुक्का’ बिक्रीबाट हुने उल्लेख गरिएको छ। दैनिक ६० देखि ११० वटासम्म हुक्का बिक्री हुने र प्रतियुनिट न्यूनतम ४९० रुपैयाँ शुल्क लिइने गरिएको दाबी गरिएको छ। सोही आधारमा हुक्काबाट मात्रै वार्षिक एक करोड रुपैयाँभन्दा बढी कारोबार हुने अनुमान उजुरीकर्ताको छ।
बिज्ञापन
उजुरीमा व्यवसायले प्रयोग गरेको पुरानो प्यान नम्बर बन्द गरी नयाँ प्यान दर्ता गरिएको प्रक्रियामाथि पनि प्रश्न उठाइएको छ। पुरानो व्यवसायिक प्यानलाई व्यक्तिगतमा रूपान्तरण गरेर नयाँ प्यानमार्फत कारोबार अघि बढाइनु कर छलीसँग सम्बन्धित हुन सक्ने आशंका उजुरीकर्ताले व्यक्त गरेका छन्।कर छलीको सत्यतथ्य पत्ता लगाउन फोनेपे क्यूआरमार्फत भएको कारोबार, बैंक खाताको विवरण, कम्प्युटर प्रणाली, किचेन अर्डर टिकट (KOT), सीसीटीभी फुटेज तथा सञ्चालक र कर्मचारीको बयान जाँच गर्नुपर्ने सुझाव उजुरीमा समावेश गरिएको छ।
उक्त चिया पसल पछिल्लो समय थप चर्चामा आएको थियो। केही दिनअघि प्रधानमन्त्रीका मुख्य स्वकीय सचिव सुवास शर्मा र सांसद केपी खनालसँग सम्बन्धित सो व्यवसायमा बालेन शाह स्वयं पुगेपछि सामाजिक सञ्जालमा व्यापक चर्चा भएको थियो।यद्यपि उजुरीमा लगाइएका आरोपहरू सम्बन्धित निकायबाट पुष्टि भइसकेका छैनन्। आन्तरिक राजस्व कार्यालयले अनुसन्धान अघि बढाएपछि मात्र कर छलीसम्बन्धी दाबीको वास्तविकता सार्वजनिक हुने देखिएको छ।
यसैबीच, सरकारी तथा प्रशासनिक वृत्तमा सुवास शर्माको प्रभावबारे पनि विभिन्न गुनासा सुनिन थालेका छन्। केही कर्मचारीहरूले प्रशासनिक निर्णय प्रक्रियामा उनको अस्वाभाविक प्रभाव रहेको तथा क्षेत्रीय निकटताका आधारमा केही कर्मचारीलाई संरक्षण र अरूलाई दबाब दिने गरेको आरोप लगाउने गरेका छन्। यस्ता आरोपहरूको भने स्वतन्त्र पुष्टि हुन बाँकी छ।































