मुलुकको प्रशासनिक संयन्त्र संचालन, अनुगमन र निर्देशन दिने मुख्य केन्द्र हो, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय । सरकारले लिएका नीति निर्णयहरूको कार्वान्वयन पक्षको अनुगमन तथा निर्देशन दिने, सुशासन कायम गराउने र देशभरको विकास निर्माणको अवस्था बुझ्ने थलो पनि हो त्यो । तर, देशको समग्र प्रशासनिक गतिविधि तथा कामकारवाहीलाई चुस्त दुरुस्त राख्न समन्वय र निर्देशनकारी भूमिका खेल्नुपर्ने प्रधानमन्त्री कार्यालय आफैँ भने भद्रगोल बनेको छ । तीन सचिवले चल्ने कार्यालयमा अहिले १० जना सचिवको भीड लागेपछि ठाउँ अभावले त्यहाँ भद्रगोल हुने स्थिति आएको छ ।
बिज्ञापन
सरकारले मन्त्रालयको संख्या २२ बाट १८ मा झारेसँगै मन्त्रालयको पुर्नसंरचना पछि ठूलो संख्यामा सचिवहरुको सरुवा गर्दा आधा दर्जन सचिवहरुलाई प्रधानमन्त्री कार्यालयमा थुपारिएको हो । सरकारले मन्त्रालयहरूको पुनर्संरचनापछि ढेड दर्जन बढि सचिवको सरुवा गरेको छ। यस अघि नै उपराष्ट्रपति कार्यालयबाट कृष्णहरि पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगिएकोमा गोविन्द शर्मा, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डिल्लीराज शर्मा, सार्वजनिक खरिद अनुगमन कार्यालयका हरि मैनाली, तत्कालीन युवा तथा खेलकुद मन्त्रलायका सचिव लोकनाथ पौडेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएका छन्। यस अघि नै त्यहाँ मुख्य सचिवसहित गोविन्द कार्की,पुष्कर सापकोटा,किरणराज शर्मा र विशेष दरबन्दीका खगेन्द्र नेपाल सचिवको रुपमा कार्यरत रहेका छन् ।
यसरी एकै पटक थप ६ सचिवहरुलाई प्रधानमन्त्री कार्यालयमा अतिरिक्तमा तानिँदा कतिपय सचिवहरुलाई बस्ने कुर्सि र टेवलसम्म पनि छैन त्यहाँ । केही सचिवलाई सहसचिव र उपसचिवहरुले प्रयोग गर्दै आएको कोठा खोजेर बस्ने ठाउँको व्यवस्था मिलाइनुपर्ने अवस्था आएको प्रम कार्यालयका कर्मचारीहरु बताउँछन् । दरबन्दी अनुसार,प्रशासन, कानुनसहित अर्काे एक भए पर्याप्त हुने ठाउँमा बस्ने ठाउँ नै अपुग हुने गरि सचिवको भिड लगाइएकोमा प्रधानमन्त्री कार्यालयकै कर्मचारीहरुले उदेक मानेका छन् । प्रधानमन्त्री कार्यालयमा देखिएको यो रमिताले हाम्रो सत्ता संचालनको शैली र कर्मचारीतन्त्रको अवस्था मज्जैले झल्काएको टिप्पणी हुने गरेको छ ।
































