निजामती कर्मचारी,अवकाशप्राप्त कर्मचारीहरुले अब उपचार सेवा लिन काठमाडौं धाउनु नपर्ने भएको छ । काठमाडौं बाहिर रहेका कर्मचारी तथा अवकाशप्राप्त कर्मचारीहरुलाई लक्षित गर्दै सरकारले प्रदेश स्तरमै निजामती कर्मचारी अस्पतालको स्वास्थ्य उपचार सुविधा दिन लागेको हो ।
बिज्ञापन
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल, काठमाडौं)को सेवा प्रदेशस्तरसम्म विस्तार गर्ने नीतिअनुसार प्रदेश अस्पतालहरूबाटै कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन लागेको हो । जस अनुसार अब उपत्यका बाहिर कार्यरत तथा बसोबास गर्ने निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी र आश्रित परिवारहरूको सहजताका लागि प्रदेशमै स्वास्थ्य सेवा पाउने भएका हुन ।
आइतबार मन्त्रालयले दुई अस्पतालसँग सम्झौता गरेसँगै सोमबारबाटै सेवा प्रदान गर्न लागेको हो । जस अनुसार,पहिलो चरणमा मधेश प्रदेशका लागि नारायणी अस्पताल वीरगन्ज, पर्सा र बागमती प्रदेशका लागि भरतपुर अस्पताल, चितवनबाट निजामती कर्मचारीले निजामती अस्पताल काठमाडौंबाट पाउने छुट तथा सहुलियत सहित स्वास्थ्य सेवा पाउने छन् । मधेश र बागमती बाहेक अन्य प्रदेशमा समेत सेवा बिस्तार गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग समन्वय भइ सेवा प्रदायक अस्पतालहरूको सूचीकरणसमेत भइसकेको छ ।
































