सरकारले कर्मचारीको तलब बढाएको छ । सुरु स्केलमा १० प्रतिशत तलब बढेको छ ।सरकारले निजामती कर्मचारी, नेपाली सेना, प्रहरी, शिक्षक लगायतका राष्ट्रसेवक कर्मचारीको तलब तथा सुविधामा उल्लेखनीय वृद्धि गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले कर्मचारीको मनोबल उच्च बनाउने उद्देश्यसहित तलब, भत्ता र प्रोत्साहन प्रणालीमा सुधार ल्याएको हो ।
बिज्ञापन
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा बजेट प्रस्तुत गर्दै कर्मचारीको बेसिक तलबमा नै १० प्रतिशत वृद्धि गरिएको घोषणा गर्नुभयो । यससँगै हाल पाइँदै आएको महँगी भत्ता भने यथावत् राखिएको छ ।
सरकारले अब कार्यसम्पादन र कार्यक्षमताका आधारमा अतिरिक्त १० प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने व्यवस्था पनि ल्याएको छ । यसलाई कर्मचारी प्रशासन सुधार र सेवाप्रवाहलाई प्रभावकारी बनाउने रणनीतिका रूपमा हेरिएको छ ।
तलब वृद्धि, महँगी भत्ता र प्रोत्साहन भत्ता जोडिएपछि न्यूनतम् तहका कर्मचारीको मासिक आम्दानी नै करिब ४० हजार रुपैयाँ पुग्ने सरकारी दाबी छ ।
बिज्ञापन
सरकारले कर्मचारीको सेवा–सुविधालाई “सम्मानजनक र समयानुकूल” बनाउँदै लैजाने नीति लिएको जनाएको छ । प्रशासनिक सुधार, कार्यक्षमता वृद्धि र सार्वजनिक सेवामा उत्तरदायित्व बढाउने लक्ष्यसहित यस्तो व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।






























