सिंहदरबार परिसरभित्र वर्षौंदेखि अस्थायी टहरामा सञ्चालन हुँदै आएका चमेना गृहहरू अब हटाइने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पहलपछि सम्बन्धित निकायहरूले ती संरचना बन्द गराउन औपचारिक प्रक्रिया अघि बढाएका हुन्।
बिज्ञापन
तत्कालीन शहरी विकास मन्त्रालय (हाल पूर्वाधार विकास मन्त्रालय) अन्तर्गत रहेको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले विभिन्न मन्त्रालय परिसरमा सञ्चालन भइरहेका चमेना गृहहरू बन्द गर्न पत्राचार गरिसकेको छ।
निर्देशन अनुसार गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय परिसरमा रहेका अस्थायी चमेना गृहहरू हटाइँदैछन्। ती सबैलाई यही जेठ २७ गतेभित्र सञ्चालन बन्द गर्न भनिएको छ।
कार्यालयका अनुसार सिंहदरबारभित्रका अव्यवस्थित टहरा हटाउने विषय नयाँ होइन। २०७५ साल भदौ ३१ गते तत्कालीन मुख्य सचिवको अध्यक्षतामा बसेको बैठकले मन्त्रालय परिसरभित्र सञ्चालन भइरहेका चमेना गृह हटाउने निर्णय गरेको थियो। त्यसबेला पनि सम्बन्धित निकायलाई पत्राचार गरिएको भए पनि कार्यान्वयन हुन सकेको थिएन।
बिज्ञापन
यसपटक भने प्रधानमन्त्री कार्यालयकै सक्रियतापछि प्रक्रिया अघि बढाइएको बताइएको छ।
उता, संघीय संसद् परिसरभित्र रहेका नेपाली कांग्रेस र नेकपा एमाले संसदीय दलका कार्यालय आसपासका चमेना गृह पनि हटाउने निर्णय गरिएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जेठ १२ गते संसद् सचिवालयलाई पत्र पठाएपछि संसद् सचिवालयले जेठ १३ गते दुवै संसदीय दललाई १५ दिनभित्र चमेना गृह हटाउन निर्देशन दिएको हो।
सरकारले सिंहदरबार परिसरलाई व्यवस्थित, सुरक्षित र सौन्दर्ययुक्त बनाउने योजनाअन्तर्गत अव्यवस्थित अस्थायी संरचना हटाउने अभियानलाई तीव्र बनाएको जनाएको छ।






























