भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो केही कर्मचारीहरूको सरुवा गरे पनि मन्त्रालयभित्र लामो समयदेखि जरा गाडेर बसेका ‘रैथाने’ कर्मचारीहरूलाई भने यथावत् राखिएको भन्दै मन्त्रालयभित्रै असन्तुष्टि बढेको छ। बाहिरबाट हेर्दा सरुवाको लहर चलाइएको देखिए पनि वास्तविक शक्ति केन्द्रमा बसेका कर्मचारीहरूलाई भने मन्त्री प्रतिभा रावल र सचिव चन्द्रकला पौडेल ले छुने आँट गर्न नसकेको आरोप कर्मचारी वृत्तमै उठ्न थालेको छ।
बिज्ञापन
मन्त्रालय स्रोतका अनुसार सामान्य प्रशासनमा दशकौँदेखि एउटै शाखामा प्रभाव जमाएर बसेका कर्मचारीहरू अझै पनि शक्तिकेन्द्रकै संरक्षणमा टिकिरहेका छन्। केही कर्मचारीलाई मात्रै सरुवा गरेर ‘सस्तो लोकप्रियता’ खोजिएको आरोप समेत लाग्न थालेको छ।
सामान्य प्रशासन मन्त्रालयमा १८ वर्षदेखि प्रभाव कायम राख्दै आएका केही कर्मचारीहरू अझै पनि चलायमान हुन नसकेको चर्चा छ। नायब सुब्बा पुष्प रेग्मी १० वर्षदेखि मन्त्रालयमै कार्यरत छन्। उनी नेपाल निजामती कर्मचारी युनियन अन्तर्गत श्रम मन्त्रालयका विभागीय अध्यक्ष समेत हुन्। त्यस्तै युनियनकै केन्द्रीय सदस्य पुण्यप्रसाद ढकाल पनि एक दशकदेखि सामान्य प्रशासनमै रहेको बताइएको छ।
राष्ट्रिय निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य गोविन्द फुयाल कर्मचारी प्रशासन शाखामा कार्यरत छन्। उनी पनि करिब १० वर्षदेखि सोही मन्त्रालयमै टिकिरहेका छन्। मन्त्रालयभित्र ट्रेड युनियन र राजनीतिक पहुँचको आडमा कर्मचारीहरूले स्थायी प्रभाव जमाएको चर्चा चलिरहेको छ।
बिज्ञापन
त्यस्तै २०६४ सालदेखि एउटै मन्त्रालय वरिपरि घुमिरहेका कर्मचारीहरूको सूची अझ लामो रहेको बताइन्छ। नायब सुब्बाहरू सुनिल महर्जन, रिना महर्जन, बुद्धि महर्जन, राजु श्रेष्ठ, रोजी भैल र चन्द्रप्रसाद शर्मा लामो समयदेखि सामान्य प्रशासनबाट दायाँबायाँ नभएको मन्त्रालय स्रोतको दाबी छ।
कम्प्युटर अपरेटर उत्तम खड्काको भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा भए पनि उनी अझै रमाना नलिई कर्मचारी प्रशासन शाखामै प्रभाव जमाएर बसेको आरोप छ।
अधिकृत तहमा पनि उस्तै अवस्था देखिएको छ। द्रोण निरौला सात वर्षदेखि सामान्य प्रशासनमै कार्यरत छन् भने खगेन्द्र पौडेल सचिव चन्द्रकला पौडेलका नातेदार भएकै कारण नहटाइएको आरोप मन्त्रालयभित्रै उठेको छ। उनी १० वर्षदेखि बढुवा शाखामा कार्यरत रहेको बताइएको छ। गौरव पन्थी पनि सात वर्षभन्दा बढी समयदेखि बढुवा शाखामै कार्यरत छन्।
भवेन्द्र कार्की कर्मचारी प्रशासन शाखामा रहँदा पटक–पटक विवादमा मुछिएका कर्मचारीका रूपमा चिनिएका थिए। हाल उनी आन्तरिक शाखामा कार्यरत छन् र त्यहाँ पनि चार वर्ष बिताइसकेका छन्। उनलाई एमाले निकट शक्तिको संरक्षण प्राप्त रहेको आरोप समेत लाग्दै आएको छ।
यसैबीच, जेन्जी आन्दोलनका क्रममा सामान्य प्रशासन मन्त्रालयको ग्राउन्ड फ्लोरस्थित आन्तरिक शाखामा आगजनी भएको घटनालाई लिएर पनि नयाँ प्रश्न उठाइएको छ। स्टोर किपर तेजप्रसाद पौडेलले नजलेका कम्प्युटर, ल्यापटप र गाडीहरू समेत जलेको देखाएर चलखेल गरेको आरोप मन्त्रालयभित्र चर्चामा रहेको स्रोतको दाबी छ। उनलाई महासचिवहरू रामचन्द्र अधिकारी र उमेश पराजुलीले संरक्षण गरेको आरोप समेत लगाइएको छ। पौडेल पाँच वर्षदेखि स्टोर शाखामै कार्यरत रहेको बताइएको छ।
मन्त्रालयभित्र लामो समयदेखि एउटै शाखा र जिम्मेवारीमा रहेका कर्मचारीहरूलाई हटाउन नसक्दा सुशासन, पारदर्शिता र निष्पक्ष प्रशासनमाथि नै प्रश्न उठ्न थालेको कर्मचारीहरूको भनाइ छ। सरुवा प्रणालीलाई निष्पक्ष र प्रभावकारी बनाउने सरकारको दाबीबीच शक्तिशाली कर्मचारीहरू भने अझै ‘अछुत’ जस्तै बनेका छन्।



































