सरकारले प्रशासनिक खर्च घटाउने,अनावश्यक दरबन्दीहरु कटौती गर्ने योजना बनाएर काम गरिरहँदा संघीय संसद सचिवालयले भने करारबाटै तीन दर्जन बढी पदमा जनशक्ति भर्ना गर्ने तयारी गरेको छ । संघीय संसद् सचिवालयले श्रेणीविहिनदेखि शाखा अधिकृत तहसम्मका पदमा ३८ जना कर्मचारी करारबाट भर्ती गर्ने भएको छ ।
बिज्ञापन
संघीय संसद सचिवालयले एक सूचना प्रकाशन गर्दै शाखा अधिकृत तहमा २ जना नायब सुव्वा तहका पदमा २५ जना,खरिदार तहमा ७ र श्रेणीविहिन ६ जना गरी ३८ जना कर्मचारी करार सेवाबाट पदपूर्ति गर्न लागिएको हो । जस अनुसार शाखा अधिकृत तहको साउण्ड इञ्जिनियर २, इलेक्ट्रोनिक्स ओभरसियरमा ६ जना, भिडियोग्राफर पदमा २ जना पदपूर्ति गर्न लागिएको हो । सचिवालयको विज्ञापन अनुसार मेसेज सञ्चालक पदमा २, अडियो भिडियो इडिटर पदमा ४ जना जनशक्ति करार सेवाबाट पदपूर्ति गर्न लागिएको हो । यस्तै, प्रशारण सहायक ४ जना, माइक सञ्चालक २ जना माग गरिएको छ भने ओभरसियर तीन जना माग गरिएको छ । यस्तै खरिदार तहका इलेक्ट्रोनिक्स हेल्पर, विद्युत हेल्पर, आईटी हेल्पर पदमा दुई दुई जना गरी ६ र स्वास्थ्य हेल्पर एक जना माग गरिएको छ । यस्तै श्रेणीविहिनका पदहरु भारी सवारी चालक ४ र हलुका सवारी चालक २ गरी ६ जना माग गरिएको छ ।
सचिवालयले योग्यता पुगेका इच्छुक व्यक्तिले सात दिनभित्र दरखास्त पेश गर्न सक्नेछन् । उम्मेदवार स्वयम् सचिवालयमा उपस्थित भई वा पदपूर्ति समितिको इमेलमार्फत दरखास्त पेश गर्न सकिने व्यवस्था गरिएको छ ।



































