लोक सेवा आयोगको पछिल्लो नतिजाले झापालाई प्रशासनिक जनशक्तिको ‘उत्पादन केन्द्र’का रूपमा पुनः चर्चामा ल्याएको छ। यस वर्षको प्रतिस्पर्धात्मक परीक्षामा झापाबाट एकैसाथ तीन जना सहसचिव र तीन जना उपसचिव सिफारिस भएपछि जिल्लाले निजामती प्रशासनमा उल्लेखनीय उपस्थिति देखाएको हो।
बिज्ञापन
विशेषगरी सहसचिव तहमा झापाली उम्मेदवारहरूको सफलता निकै प्रभावशाली देखिएको छ। राजपत्रांकित प्रथम श्रेणीअन्तर्गत आन्तरिक प्रतियोगिताबाट भद्रपुरका डा. डिजन भट्टराई पहिलो योग्यताक्रममा सिफारिस भएका छन्। खुलातर्फ गौरीगञ्जका विजयकुमार शर्माले पनि पहिलो नम्बरमै नाम निकाल्न सफल भएका छन्। यस्तै कमल गाउँपालिकाका तीर्थराज राई पनि सहसचिव पदमा सिफारिस भएसँगै झापाबाट यस वर्ष तीन जना सहसचिव थपिएका छन्।
उपसचिव तहमा पनि झापाको उपस्थिति कमजोर देखिएन। परराष्ट्र सेवाको खुला प्रतिस्पर्धामा भद्रपुरकी गङ्गा सुन्दास पहिलो योग्यताक्रममा नाम निकाल्दै जिल्लाको प्रतिष्ठा बढाएकी छन्। राजस्व समूहमा खगेन्द्र बर्देवा तथा प्रशासन समूहमा अर्जुनधाराका पर्वत गिरी पनि उपसचिव पदका लागि सिफारिस भएका छन्।
रोचक पक्ष के छ भने, उपसचिवमा सिफारिस भएका गङ्गा सुन्दास र खगेन्द्र बर्देवा पारिवारिक नातासम्बन्धमा समेत जोडिएका छन्। एउटै जिल्लाबाट मात्र होइन, एउटै परिवारिक घेराबाट समेत उच्च प्रशासनिक सेवामा सफलता प्राप्त हुनु अहिले झापामा चर्चा बनेको छ।
बिज्ञापन
पछिल्ला वर्षहरूमा पनि निजामती सेवामा झापाली युवाको आकर्षण र सफलताको दर उच्च देखिँदै आएको थियो। यस वर्षको नतिजाले भने झापालाई प्रशासनिक नेतृत्व उत्पादन गर्ने जिल्लाका रूपमा अझ बलियो रूपमा स्थापित गरेको टिप्पणी हुन थालेको छ।



































