अर्थ मन्त्रालयकै पदचाप पछ्याउँदै युवा, श्रम तथा रोजगार मन्त्रालयले कर्मचारी आचारसंहिता जारी गरेको छ ।जसमा अधिकाश आचारसंहिता अर्थकै कपिपेष्ट गरिएको छ।
बिज्ञापन
आचारसंहिताअनुसार कर्मचारीहरुलाई सामाजिक सञ्जालको प्रयोगमा कडाइ गरिएको छ । जस अनुसार, कार्यालय अवधिमा मोबाइल तथा कम्प्युटरमार्फत व्यक्तिगत प्रयोजनका लागि सामाजिक सञ्जालको प्रयोगमा रोक लगाइएको छ । पदीय हैसियतबाट मन्त्रालय वा निकायका नामबाट सामाजिक सञ्जालको प्रयोग गर्दा व्यक्तिगत पहिचान समेत खोल्न नपाइने भएको छ ।कार्यालय समय बाहेकको समयमा समेत सामाजिक सञ्जाल प्रयोग गर्दा सेवाको मर्यादा र आस्थामा आँच नआउनेगरी व्यवसायिक अचारसंहिताको अधिनमा रही उच्चतम सतर्कता अपनाई प्रयोग गर्नुपर्नेछ ।
यस्तै, कर्मचारीले सेवाग्राहीसँग शिष्ट, मर्यादित र सम्मानजनक व्यवहार गर्नुपर्नेछ । कुनै पनि प्रकारको घुस, उपहार, सुविधा वा अनुचित लाभ लिन नपाइने व्यवस्था गरिएको छ । आफ्नो पद र अधिकारको दुरुपयोग गर्न, व्यक्तिगत स्वार्थका लागि निर्णय प्रभावित पार्न तथा सरकारी स्रोत–साधन निजी प्रयोजनमा प्रयोग गर्न पनि निषेध गरिएको छ । मन्त्रालयले जारी गरेको नयाँ आचारसंहिताले कर्मचारीको व्यक्तिगत आचरण, कार्यालय व्यवहार, सेवा प्रवाह, गोपनीयता, आर्थिक अनुशासन तथा सामाजिक सञ्जाल प्रयोगसम्मका विषयलाई समेटेको छ ।
मन्त्रालयले कार्यालय समयको पूर्ण पालना गर्न, निर्धारित पोशाक लगाई शिष्ट व्यवहार अपनाउन, सहकर्मीसँग सहयोगी सम्बन्ध कायम गर्न र कार्यालयको गोपनीयता संरक्षण गर्न कर्मचारीलाई निर्देशन दिएको छ । निर्णय प्रक्रिया, कागजात तथा सेवाग्राहीसँग सम्बन्धित संवेदनशील जानकारी अनधिकृत रूपमा सार्वजनिक गर्न नपाइने उल्लेख छ ।
बिज्ञापन
मन्त्रालय र अन्तर्गतका निकायमा कार्यरत कर्मचारीको आचरणलाई निष्पक्ष, पारदर्शी, लोकतान्त्रिक एवम् सेवामूलक बनाई कार्यसम्पादन तथा सेवा प्रवाहमा प्रभावकारी ल्याउन आचारसंहिता जारी गरिएको मन्त्रालयले जनाएको छ ।
सरकारी नीतिविरुद्ध भ्रम फैलाउने, संस्थाको प्रतिष्ठामा आँच पुग्ने सामग्री प्रकाशन गर्ने वा गोप्य सूचना सार्वजनिक गर्ने कार्यलाई अनुशासनहीनता मानिने व्यवस्था गरिएको छ। आचारसंहिताको पालना नगरेमा प्रचलित कानुनअनुसार विभागीय कारबाही हुने मन्त्रालयले जनाएको छ ।



































