काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले पछिल्लो समय राजनीतिक नियुक्तिमा पूर्वसैनिक अधिकारीहरूलाई प्राथमिकता दिन थालेको देखिएको छ। पछिल्ला दुई दिनमा सरकारले दुई महत्त्वपूर्ण सार्वजनिक संस्थामा पूर्वसैन्य पृष्ठभूमिका व्यक्तिहरूलाई उच्च जिम्मेवारी दिएको हो।
बिज्ञापन
वैशाख ३० गते सरकारले पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति को कार्यकारी अध्यक्षमा नेपाली सेनाका पूर्व महासेनानी डा. आनन्द सिंह भाटलाई नियुक्त गरेको छ। भाट २०७६ सालमा नेपाली सेनाबाट अवकाश प्राप्त गरेका अधिकारी हुन्।
त्यसको भोलिपल्ट वैशाख ३१ गते सरकारले नेपाल वायुसेवा निगम को सञ्चालक समितिको सदस्यमा डा. दीपक प्रसाद बाँस्तोलालाई एक नम्बरमा सिफारिस गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यका अनुसार बाँस्तोलाले नेपाली सेनामा उपरथीको जिम्मेवारी सम्हालिसकेका छन् भने उनी एरोनोटिकल इन्जिनियरसमेत हुन्।
मन्त्रालयका अनुसार उड्डयन सुरक्षा, एरोनोटिकल इन्जिनियरिङ, व्यवस्थापन तथा शैक्षिक क्षेत्रमा रहेको दीर्घ अनुभवका आधारमा उनलाई राष्ट्रिय महत्वको संस्थाको सञ्चालक पदमा सिफारिस गरिएको हो।डा. बाँस्तोलाले आईसीएओसँग सम्बन्धित एभियसन फ्लाइट सेफ्टी तथा सेफ्टी म्यानेजमेन्ट कार्यक्रम पूरा गरेका छन्। उनी नेपाली सेनाको वायुसेना शाखाका पूर्व प्रमुख एरोनोटिकल इन्जिनियर तथा मेजर जनरल (सेवानिवृत्त) हुन्।
बिज्ञापन
उनले भारतबाट एरोनोटिकल इन्जिनियरिङ, फ्रान्सबाट एरोस्पेस म्यानेजमेन्ट तथा काठमाडौं विश्वविद्यालय बाट व्यवस्थापनमा स्नातकोत्तर र पीएचडी गरेका छन्। उनी काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट, लिबर्टी कलेज, नेसनल ल कलेज तथा भारतको चेन्नईस्थित एचआईटीएस डीम्ड टु बी युनिभर्सिटीमा आमन्त्रित प्राध्यापकका रूपमा पनि आबद्ध छन्।
उनकै नेतृत्वमा नेपाली सेनाको वायुसेना शाखाले नेपालमै १५ जना नेपाली नागरिक पाइलट उत्पादन गर्न सफल भएको दाबी गरिएको छ। उड्डयन तथा एरोस्पेस क्षेत्रमा योगदान पुर्याएबापत उनले भारतको एरोनोटिकल सोसाइटीबाट सन् १९९४ मा डा. एपीजे अब्दुल कलाम अवार्ड, फ्रान्सको एरोनोटिकल एन्ड स्पेसियल अवार्ड–२००९ तथा अन्य विभिन्न अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन्।
सरकारले बागमती सभ्यता र नेपाल वायुसेवा निगमजस्ता रणनीतिक महत्वका निकायमा पूर्वसैनिक अधिकारीहरूलाई जिम्मेवारी दिएपछि प्रशासनिक तथा प्राविधिक नेतृत्वमा सैन्य पृष्ठभूमिका व्यक्तिहरूको प्रभाव बढ्दै गएको चर्चा सुरु भएको छ।




































