सरकारी शैक्षिक प्रोत्साहन वृत्ति पाएका विद्यार्थीले बीचैमा पढाइ छोडेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तिनका अभिभावकसँग व्याजसहित पैसा फिर्ता मागेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार,यसरी शैक्षिक प्रोत्साहन वृत्ति पाएकामध्ये २८ जनाले बीचमै पढाइ छाडेको पाइएको छ । जसमध्ये २ जनाको मृत्यु भएको कारण उनीहरुबाट फिर्ता लिनुपर्ने रकम मिनाहा गरिएको मन्त्रालयले जनाएको छ ।बाँकी ८ जनाका अभिभावकबाट व्याजसहित रकम फिर्ता माग गरेको हो ।
बिज्ञापन
सरकारले निजामती कर्मचारीका छोराछोरीलाई एक लाखभन्दा कम शिक्षण शुल्क लाग्ने अवस्थामा पूरै रकम, एक लाख रुपैयाँभन्दा बढी र ५ लाखसम्म शुल्क लाग्ने अवस्थामा एक लाख, ५ लाखभन्दा बढी र १० लाखसम्म शुल्क लाग्ने अवस्थामा २ लाख, १० लाखभन्दा बढी र १५ लाखसम्म शुल्क लाग्ने अवस्थामा ३ लाख तथा १५ लाखभन्दा बढी शुल्क लाग्ने अवस्थामा ५ लाख रुपैयाँ शैक्षिक वृत्ति दिँदै आएको छ । यसरी शैक्षिक वृत्ति लिएर बीचमै पढाइ छाड्नेको संख्या हालसम्म २८ जनाको मन्त्रालयले पहिचान गरेको छ । जसमध्ये दुई जनाको मृत्यु भएको,१८ जनाले फिर्ता गरेको भए पनि ८ जनाबाट फिर्ता हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।
२०७८ मा शैक्षिक प्रोत्साहन छात्रवृत्ति निजामती कर्मचारीहरूका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउनेसम्बन्धी निर्देशिका, २०७८ निर्माण गरिएको थियो। सो आर्थिक बर्षमा निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउन १६ करोड ६४ लाख ३६ हजार खर्च भएको मन्त्रालयको आँकडा रहेको छ । यस्तै आव ०७८/७९ मा यस कार्यक्रममा सरकारले ६० करोड ४१ लाख चार हजार रूपैयाँ खर्च गरेको थियो । त्यस पछिका बर्षहरुमा १७ करोड १८ करोड हुँदै यस आर्थिक बर्षका लागि २२ करोड रकम छुट्टाइएको मन्त्रालयले जनाएको छ । आर्थिक बर्ष ८०/ ८१ मा सरकारले कर्मचारीका सन्ततिलाई छात्रवृत्ति दिन २१ करोड ३१ लाख रूपैयाँ खर्च गरेको संघीय मामिला मन्त्रालयले जनाएको छ। यस आर्थिक बर्षका लागि समेत २२ करोड रकम छुट्टाइएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयले यो आर्थिक वर्ष शैक्षिक वृत्ति दिनका लागि शुक्रबार नै ७९३ विद्यार्थीको सूची निकालेको छ।
मन्त्रालयका अनुसार,७८ साल यता शैक्षिक वृत्ति लिएर २८ जनाले बीचमै पढाइ छाडेका हुन । यसरी शैक्षिक प्रोत्साहन वृत्ति लिएर बीचमै पढाइ छाड्नेहरुसँग दिएको रकममा रकममा १० प्रतिशत ब्याज थपेर पैसा फिर्ता मागेको हो।



































