अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंका नायब सुब्बा हेमबहादुर मस्राङ्गीविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार मस्राङ्गीले वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दा प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना तथा उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो। त्यसक्रममा अख्तियारको टंगालस्थित टोलीले उनलाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको जनाएको छ।
बिज्ञापन
अनुसन्धानबाट मस्राङ्गीले वैदेशिक रोजगारसम्बन्धी मुद्दा मिलापत्रका लागि अगाडि बढेको अवस्थामा विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख हैरानी दिएको, तारेखमा बस्न नपर्ने, मुद्दा नचल्ने निर्णय गराइदिने तथा कारबाही टुंग्याउन सहजीकरण गरिदिने भन्दै १५ हजार रुपैयाँ घुस माग गरी लिएको स्थापित भएको अख्तियारले जनाएको छ।
आयोगले मस्राङ्गीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ उपदफा (१) अनुसार कसुर कायम गरी १५ हजार रुपैयाँ बिगो, सो बराबर जरिवाना तथा कैद सजायको मागदाबी गर्दै आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उक्त जानकारी दिइएको छ।



































