ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको भ्रष्टाचार प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। बहुचर्चित विमानस्थल परियोजनामा अनियमितता भएको निष्कर्ष निकाल्दै आयोगले अर्बौं रुपैयाँ बिगो दाबी गर्दै उच्च तहका पूर्वप्रशासक र प्राधिकरणका पदाधिकारीलाई प्रतिवादी बनाएको हो।
विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार मुद्दा अदालतमा रूजु हुने प्रक्रियामा रहेको छ। अख्तियारले यसअघि पनि पोखरा विमानस्थलसँग सम्बन्धित दुई छुट्टाछुट्टै मुद्दा दायर गरिसकेको थियो भने यो तेस्रो चरणको मुद्दा हो।
यसपटक आयोगले ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो मागदाबी गरेको छ। मुद्दामा तत्कालीन अर्थसचिव शंकर प्रसाद अधिकारी, तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपाने, सहसचिवद्वय सुरेश आचार्य र दुण्डुराज घिमिरे, पूर्वसचिव केवल भण्डारीलाई समेत प्रतिवादी बनाइएको छ।
त्यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशकद्वय सञ्जिव गौतम र प्रदीप अधिकारी, उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी तथा इन्जिनियर योगेश अर्यालविरुद्ध पनि मुद्दा दायर गरिएको छ।
अख्तियारले परियोजनाको लागत, खरिद प्रक्रिया र निर्णय तहमा भएको मिलेमतोका आधारमा राज्यलाई ठूलो आर्थिक क्षति पुगेको दाबी गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी विवाद लामो समयदेखि सार्वजनिक बहसको विषय बन्दै आएको थियो भने अब यो प्रकरण अदालतको औपचारिक परीक्षणमा प्रवेश गरेको छ।


































