पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी सरकारलाई फिर्ता गरेका छन्। गृह मन्त्रालयबाट दोहोरो सुविधामा लिइएका सवारी साधन फिर्ता गर्न पत्राचार भएपछि उनले बा१३च ६४३७ नम्बरको निजी नम्बर प्लेटको गाडी बुधबार बुझाएको स्रोतले जनाएको छ।
बिज्ञापन
सरकारले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेका सवारी साधन र अन्य सुविधाको विवरण संकलन सुरु गरेपछि पहिलो चरणमै ओलीले गाडी फिर्ता गरेका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृह मन्त्रालयलाई पत्र पठाउँदै पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख तथा पूर्वराष्ट्रियसभा अध्यक्षहरूले हाल प्रयोग गरिरहेका सुविधा र सवारी साधनको यथार्थ विवरण माग गरेको थियो।
प्रधानमन्त्री कार्यालयको प्रारम्भिक अध्ययनमा केही पूर्वविशिष्ट पदाधिकारीहरूले कानुनले तोकेकोभन्दा बढी सुविधा लिएको, कतिपयले फरक–फरक निकायबाट दोहोरो सुविधा उपयोग गरेको तथा सरकारी स्रोत–साधन दीर्घकालसम्म प्रयोग गरिरहेको तथ्य भेटिएपछि विवरण संकलन प्रक्रिया अघि बढाइएको बताइएको छ।
प्रधानमन्त्री Balen Shah को सचिवालयकी प्रेस तथा अनुसन्धान विज्ञ Deepa Dahal ले राज्यकोषको दुरुपयोग रोक्न र सुशासन कायम गर्न सरकारले कडाइका साथ विवरण माग गरेको बताइन्। उनका अनुसार कानुनभन्दा बाहिर गएर लिइएका सुविधा पहिचान गरी प्रणालीलाई पारदर्शी बनाउने उद्देश्यले यो अभियान सुरु गरिएको हो।
बिज्ञापन
लामो समयदेखि पूर्वविशिष्ट पदाधिकारीहरूले मापदण्डविपरीत सरकारी स्रोत–साधन प्रयोग गरिरहेको भन्दै सार्वजनिक आलोचना भइरहेका बेला सरकारले यस विषयलाई प्रशासनिक रूपमा गम्भीरतापूर्वक उठाएको देखिएको छ। गृह मन्त्रालयबाट प्राप्त विवरणका आधारमा मापदण्डभन्दा बढी सुविधा लिनेहरूको सवारी साधन फिर्ता गराउने र आगामी दिनमा सुविधा वितरण प्रणालीलाई व्यवस्थित बनाउने तयारी सरकारको छ।


































