काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका विभिन्न निकायमा कार्यरत उच्च पदाधिकारीहरू एकैपटक पदमुक्त भएका छन्। ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ को दफा २ बमोजिम उनीहरू स्वतः पदमुक्त भएको मन्त्रालयले जनाएको छ।
बिज्ञापन
अध्यादेश कार्यान्वयनसँगै नेपाल विद्युत प्राधिकरण का कार्यकारी निर्देशक तथा सदस्य सचिव हितेन्द्र देव शाक्यसहित पाँच जना पदमुक्त भएका छन्। पदमुक्त हुने अन्य सदस्यहरूमा रतन बहादुर ऐर, डा. बल बहादुर पराजुली, श्याम किशोर यादव र रोहित पौडेल रहेका छन्।
त्यसैगरी विद्युत नियमन आयोग का अध्यक्ष डा. राम प्रसाद धितालसहित पाँच जना पदाधिकारी पनि पदमुक्त भएका छन्। आयोगबाट पदमुक्त हुनेहरूमा डा. मधुसुधन अधिकारी, डा. झमक प्रसाद शर्मा, गौतम डङ्गोल र भागिरथी भट्टराई ज्ञवाली रहेका छन्।
सरकारले अध्यादेशमार्फत सार्वजनिक निकायहरूको पुनर्संरचना तथा नीतिगत सुधारलाई तीव्रता दिने उद्देश्यसहित यस्तो निर्णय लिएको बताइएको छ। यस निर्णयले ऊर्जा क्षेत्रको नेतृत्व तहमा ठूलो परिवर्तन ल्याउने देखिएको छ भने आगामी नियुक्ति प्रक्रिया र नीतिगत दिशामा समेत यसको प्रभाव पर्ने अपेक्षा गरिएको छ।
यस विषयमा मन्त्रालयले थप विवरण सार्वजनिक गर्ने तयारी गरेको छ।


































