सरकारले दलनिकट कर्मचारी संगठन खारेजी गर्ने भएसँगै केही कर्मचारी संघ संघठने आफ्नो संस्थाको नाममा रहेको चल अचल सम्पत्ति दम्पच पार्ने तयारी गरिरहेको बुझिएको छ ।
बिज्ञापन
सरकारको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ जारी गरेसँगै कर्मचारी ट्रेड युनियनहरूको वैधानिक अस्तित्व समाप्त भएको छ । यसरी आफ्नो अस्तित्व नै समाप्त हुने स्थिति आएसँगै केही ट्रेड युनियनकर्मीहरुले आफ्नो संस्थाका नाममा रहेका चल- अचल सम्पत्तिहरु दम्पच पार्ने प्रक्रिया अगाडि बढाएको स्रोतहरुले जनाएका छन् ।
राष्ट्रपतिबाट जारी अध्यादेशले निजामती सेवा ऐन, २०४९ को दफा ५३ नै फेरबदल गर्दै युनियनसम्बन्धी सबै प्रावधान हटाएको छ । यससँगै कर्मचारीहरूको ‘संगठित राजनीतीकरण’को स्वरूप अब कानुनी रूपमै अन्त्य भएको छ । अध्यादेशले विद्यमान निजामती सेवा ऐनको दफा २ को खण्ड ज १ र ज २ सहित दफा ५२ को प्रतिबन्धात्मक वाक्यांशमा रहेको ट्रेड युनियनको व्यवस्था भिकिदिएसँगै ट्रेड युनियनकर्मीहरुले आफ्नो खातामा भएको लाखौं रकम,संस्थाका माइन्यूट,ल्यापटप,कम्युटर,प्रिन्टर,सोफा लगायतका सामाग्रीहरु दम्पच बनाउने प्रक्रिया शुरु भएको जनाइएको छ ।
हाल अस्तित्वमा प्रमुख दलसम्बद्ध ६ वटा ट्रेड युनियन क्रियाशील छन् । एमाले निकटको नेपाल निजामती कर्मचारी संगठन, काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन, माओवादी निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, मधेसी निजामती कर्मचारी मञ्च र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन अस्तित्वमा छन् । यी कर्मचारी संघ संगठनहरुलाई सरकारले जग्गा नै दिएको छ । सो जग्गामा भवन बनाएर अधिकांश कर्मचारी संगठनहरुले भाडामा लगाएर भाडा उठाउँदै खाँदै आएका थिए । तिनै कर्मचारी संगठनहरु खारेजी हुने भए सँगै खातामा रहेको लाखौं रकम निकाल्ने,संस्थाका नाममा रहेका मंहगा ल्यापटप,डेस्कटप,प्रिन्टरहरु गायब बनाउने प्रक्रिया शुरु भएको एक कर्मचारी ट्रेड युनियनकर्मीले कर्मचारी प्रेसलाई बताएका छन् ।
बिज्ञापन
कर्मचारी नेताहरुका अनुसार, माओवादी निकट कर्मचारी संघठनको खातामा ५० लाख हाराहारी रकम रहेको छ । यस्तै एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको खातामा ७० देखि ८० लाख मौज्जात रहेको बताइएको छ भने युनियनको खातामा एक करोड भन्दा बढी रकम रहेको बताइएको छ । सोही रकम निकाल्ने तयारीमा रहेका छन्,केही ट्रेड युनियनकर्मीहरु । माओवादी निकट कर्मचारी संगठनको कार्यालयकै नाममा पाँच सेट ब्राण्डेड ल्यापटप,प्रिन्टर,सोफा सेट रहेको छ । यी र यस्ता सामाग्री गायब बनाउने र खातामा रहेको लाखौं रकम दम्पच पार्ने तर्फ कर्मचारी नेताहरु अग्रसर रहेको स्रोतको भनाई छ । सो सम्पत्ति समेत जफत गरिनुपर्ने आवाज उठ्न थालेको छ,कर्मचारीहरुबाटै ।


































