मन्त्रिपरिषद्को बैठक बस्दै,मन्त्रालय खारेजी र मर्ज मुख्य एजेण्डा
बिज्ञापन
प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । अहिले केहीबेरपछि नै सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको छ । विहान १० बजेदेखि बस्न लागेको बैठकमा अन्य एजेण्डाहरुका साथैं मन्त्रालयहरूको सङ्ख्या घटाउने र गाभ्ने विषयमा छलफल हुने बताइएको छ । सरकारले चारवटा मन्त्रालयलाई खारेज गरी १७ वटा मन्त्रालय बनाउने तयारी गरिरहेको छ । यस अघि २१ वटा मन्त्रालय रहेकामा सरकारले चार वटा मन्त्रालय खारेजी तथा मर्ज गर्न लागेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा गठित ५ सदस्यीय कार्यदलले संघमा १७ मन्त्रालय रहने प्रस्ताव तयार गरेको हो । जस अनुसार,शहरी विकास, युवा तथा खेलकुद, खानेपानी तथा सरसफाइ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खारेज गर्ने प्रस्ताव गरिएको छ । सो प्रस्तावअनुसार खानेपानी तथा सरसफाइ मन्त्रालयबाट सरसफाइलाई स्वास्थ्य मन्त्रालयमा गाभिनेछ । शहरी विकास र खानेपानीलाई भौतिक पूर्वाधार मन्त्रालयमा गाभेर एकीकृत भौतिक पूर्वाधार मन्त्रालय बनाइने गरी कार्यदलले प्रस्ताव गरेको छ ।
युवा तथा खेलकुद मन्त्रालयलाई दुईवटा क्लस्टरका रूपमा शिक्षा र महिला मन्त्रालयमा गाभिनेछ । खेलकुदलाई शिक्षा मन्त्रालयमा गाभी शिक्षा तथा खेलकुद मन्त्रालय नामकरण गरिनेछ । त्यसैगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा युवा, जनसंख्या र सामाजिक सुरक्षा गाभेर लैंगिक समानता तथा सामाजिक विकास मन्त्रालय नामकरण गरिने प्रस्ताव गरिएको छ । यसैगरी भौतिक मन्त्रालयबाट यातायातलाई श्रममा लैजाने तयारी गरिएको छ । यस्तै,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयमा दुई सेक्टरका रूपमा गाभिने तयारी छ ।
अब कार्यसम्पादन नियमावली संशोधनको भएसँगै यी मन्त्रालय खारेजी तथा मर्ज हुनेछन् । अबको एक साताभित्रमा नेपाल सरकार कार्यविभाजन नियमावली २०७४ लाई संशोधन गरिने जनाइएको छ ।


































