काठमाडौं — विदेशी विनिमय अपचलनमार्फत ठूलो रकमको अवैध कारोवार गरेको आरोपमा एक दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) मुद्दा दायर गरिएको छ। राजस्व अनुसन्धान विभागले अनुसन्धान पूरा गरी पर्वतको साविक कटुवाचौपारी–४ स्थायी ठेगाना भएका तथा हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–९ बस्दै आएका ४३ वर्षीय विकल पौडेल र उनकी श्रीमती एलिना बस्नेत विरुद्ध मुद्दा दायर गरेको हो।
बिज्ञापन
विभागका अनुसार पौडेल दम्पतीले विदेशी विनिमय अपचलन गरी अवैध कारोवार गरेको पाइएपछि यसअघि नै विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम ६२ करोड ६५ लाख ९१ हजार ८९३ रुपैयाँ विगो कायम गर्दै काठमाडौं जिल्ला अदालतमा २०८१ असोज १४ गते मुद्दा दायर गरिएको थियो। सो मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा उनीहरूले उक्त कसूरबाट आर्जित सम्पत्तिको स्रोत सम्बन्धमा थप अनुसन्धान गरिएको थियो।
थप अनुसन्धानका क्रममा उक्त रकमबाट आर्जित सम्पत्ति सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१) अन्तर्गतका कसूरसँग सम्बन्धित रहेको तथ्य स्थापित भएको विभागले जनाएको छ। अनुसन्धानबाट विकल पौडेलको नाममा ६१ करोड १३ लाख २१ हजार १५३ रुपैयाँ २० पैसा र उनकी श्रीमती एलिना बस्नेतको नाममा ७ करोड ८१ लाख ४४ हजार ५१ रुपैयाँ ५० पैसा गरी कुल ६८ करोड ९४ लाख ६५ हजार २०४ रुपैयाँ ७० पैसा बराबरको विगो कायम गरिएको छ।
सोही आधारमा विभागले सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा ३०(१) बमोजिम विगोको दोब्बर जरिवाना तथा कसूरको मात्रा अनुसार कैद सजायको माग गरेको छ। साथै ऐनको दफा ३४(१) र (२) अनुसार उक्त कसूरबाट आर्जित सम्पत्ति जफत गर्नुपर्ने मागदावी समेत गरिएको छ।राजस्व अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदन र रायका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत २०८३ वैशाख १६ गते काठमाडौं जिल्ला अदालत, बबरमहलमा पौडेल दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगपत्र दायर गरिएको विभागले जनाएको छ।
यो प्रकरण विदेशी विनिमय अपचलनमार्फत ठूलो रकम अवैध रूपमा परिचालन गरिएको आरोपसँग जोडिएकाले आर्थिक अपराधको गम्भीर मुद्दाका रूपमा हेरिएको छ। अदालतमा दायर भएको अभियोगपत्रपछि अब यस प्रकरणको कानुनी निरुपण न्यायिक प्रक्रियाबाट हुने छ।





























