काठमाडौं । संयुक्त अरब इमिरेट्सस्थित नेपाली राजदूतावास, अबुधाबीका लागि काउन्सेलर (श्रम) पदमा उपसचिव बसन्त बहादुर बोहोरा छनोट भएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०८३ वैशाख १४ गते सूचना प्रकाशित गर्दै मूल्याङ्कन प्रक्रियाबाट मुख्य र प्रतिक्षा सूचीका उम्मेदवार चयन भएको जानकारी दिएको हो।
बिज्ञापन
मन्त्रालयका अनुसार काउन्सेलर (श्रम) तथा श्रम सहचारी छनौट तथा नियुक्ति सम्बन्धी मापदण्ड, २०८१ अनुसार गरिएको मूल्याङ्कन प्रक्रियाबाट बोहोरा मुख्य सूचीमा परेका छन्। उनी हाल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमै उपसचिवका रूपमा कार्यरत छन्।
सूचना अनुसार वैकल्पिक सूचीमा उपसचिव मेघनाथ रिमाल परेका छन्। प्रतिस्पर्धामा सहभागी उम्मेदवारमध्ये बोहोराले सबैभन्दा बढी २८.५८ अंक प्राप्त गरेका थिए। कुल ३० अंकको मूल्याङ्कनमा रिमालले २७.१२ अंक प्राप्त गरेका छन् भने तेस्रो स्थानमा रहेकी शारदा भण्डारीले २७ अंक प्राप्त गरेको बताइएको छ।
श्रम मन्त्रालयले यसअघि २०८२ माघ ५ गते काउन्सेलर (श्रम) पदका लागि आवेदन आह्वान गरेको थियो। त्यसपछि मापदण्डअनुसार मूल्याङ्कन, कार्ययोजना प्रस्तुतीकरण तथा अन्य प्रक्रियामार्फत उम्मेदवार छनोट गरिएको मन्त्रालयले जनाएको छ।
तर यस पदको छनोट प्रक्रिया सुरुदेखि नै प्रशासनिक वृत्तमा चर्चाको विषय बनेको थियो। मन्त्रालय स्रोतका अनुसार सुरुवाती चरणमा तेस्रो नम्बरमा रहेकी शारदा भण्डारीलाई पठाउने प्रयास भएको चर्चा कर्मचारी वृत्तमा व्यापक रूपमा भएको थियो।यस विषयमा कर्मचारी प्रेस तथा विभिन्न माध्यममा पटक–पटक समाचार सार्वजनिक भएपछि छनोट प्रक्रियामा सम्भावित चलखेल रोकिन पुगेको दाबी कर्मचारी वृत्तका स्रोतहरूले गरेका छन्। उनीहरूका अनुसार बाहिरबाट आएको दबाब र सार्वजनिक बहसका कारण अन्ततः मेरिटका आधारमा निर्णय भएको हो।
बिज्ञापन
वैदेशिक नियोगमा श्रम काउन्सेलर वा सहचारीका रूपमा खटिने पदलाई वैदेशिक रोजगारसँग प्रत्यक्ष सम्बन्धित महत्वपूर्ण जिम्मेवारीका रूपमा हेरिन्छ। तर विगतमा यस्ता पदमा खटिने प्रक्रियामा आर्थिक चलखेल हुने गरेको आरोप पटक–पटक उठ्ने गरेको छ। प्रशासनिक वृत्तका केही स्रोतहरूका अनुसार श्रम सहचारी वा काउन्सेलरका रूपमा विदेश पठाउन २० लाखदेखि ४० लाख रुपैयाँसम्मको चलन रहेको चर्चा हुने गरेको छ, यद्यपि यसबारे आधिकारिक पुष्टि भने सार्वजनिक रूपमा भएको छैन।
यस्ता आरोप र चर्चाबीच यस पटकको छनोट प्रक्रियामा अंकका आधारमा पहिलो स्थानमा रहेका उम्मेदवार नै छनोट भएपछि प्रशासनिक वृत्तमा त्यसलाई सकारात्मक संकेतका रूपमा हेरिएको छ।
अबुधाबीस्थित नेपाली राजदूतावासमा काउन्सेलर (श्रम) पदले त्यहाँ कार्यरत नेपाली श्रमिकका समस्या समाधान, श्रम विवाद व्यवस्थापन, उद्धार तथा समन्वय जस्ता महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने गर्दछ। संयुक्त अरब इमिरेट्स नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य मुलुक भएकाले उक्त पदलाई संवेदनशील जिम्मेवारीका रूपमा पनि लिने गरिन्छ।
यद्यपि नियुक्ति प्रक्रियालाई लिएर उठेका विवाद र चलखेलका चर्चाले श्रम मन्त्रालयभित्र पारदर्शिता र सुशासनबारे पुनः प्रश्न उठाएको छ। कर्मचारी वृत्तका अनुसार भविष्यमा यस्ता नियुक्ति प्रक्रिया पूर्ण रूपमा पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन थप कडा मापदण्ड आवश्यक पर्ने देखिएको छ।





























