कर्मचारी प्रेस डटकममा विभिन्न मितिमा प्रकाशित समाचारप्रति सिनियर डिभिजन इन्जिनियर कल्पना अधिकारीले आपत्ति जनाएकी छिन् । उनले कर्मचारी प्रेस डटकममा खण्डन सामग्री पठाउँदै प्रकाशित समाचार सामाग्रीमा लगाइएका आरोपहरुप्रति खेद प्रकट गरेकी छिन् । सडक विभाग र मातहतका निकायमा आफ्नो जागिरे जीवनको डेढ दशक लामो करिअरमा पेशागत उच्च नैतिकता कायम राखेर काम गरेको उल्लेख गर्दै आफ्नो पेशागत आचरण, निष्ठा र इमानदारीमाथि प्रश्न उठाउँदै प्रकाशित समाचार सामाग्रीका कारण व्यक्तिगत मर्यादामा प्रतिकूल असर समेत परेको उल्लेख गरिएको छ । समाचारमा उल्लेख गरिएझैं आजको मितिसम्म पेशागत मर्यादाभन्दा बाहिर गएर कसैसँग अनैतिक वा गैरकानूनी गतिविधि गरी अनुचित लाभ नलिएको उल्लेख गरेकी छिन् । आफ्नो जागिरे जीवनको यो कालखण्डसम्ममा व्यक्तिगत लाभको लागि अर्थात पदस्थापना तथा सरुवामा भाग नलिएको र कुनै बाह्य शक्ति केन्द्रको प्रभावमा काम समेत नगरेको स्पष्ट पारेकी छिन् ।
बिज्ञापन
कुनै कर्मचारीको सरुवा गर्ने बिषय सम्बन्धित मन्त्रालय,विभागको विशेषाधिकार रहेको उल्लेख गर्दै एक सार्वजनिक सेवकको रूपमा मन्त्रालय अर्थात विभागले जहाँ र जुन निकायमा खटाउँछ,सोही निकायमा गएर सेवा गर्न आफू बाध्य रहेको र सरकारले विश्वास गरेर खटाएको तथा पदस्थापन गरेका निकायमा आफूले अत्यन्तै इमान्दारिता, व्यावसायिकता र प्रतिबद्धताका साथ आफ्ना जिम्मेवारीहरू पूरा गरेको बताएकी छिन् ।
समाचारमा उल्लेख गरिएजस्तो आफ्नो सरुवाका लागि कुनै ठेकेदारहरूले पैरवी गरेको वा आफ्नो निहित स्वार्थका लागि परियोजनासँग सम्बन्धित निर्णयहरूलाई प्रभाव पारेको आरोपहरू पूर्णतया आधारहीन र भ्रामक रहेको भन्दै ती सामाग्रीको खण्डन गरेकी छिन् । यस्तै निजामती पुरस्कारको सवालमा समेत आफूले पेश गरेका कुनै कागजातहरु गलत नरहेको र सबै कागजातहरू र प्रमाणहरू सम्बन्धित अधिकारीहरूद्वारा कुनै पनि समयमा सही र प्रमाणीकरणयोग्य दावी गरिएको छ । यस्तै आफ्नो करिअर अवधिमा हालसम्म तीनवटा वैदेशिक कार्यक्रममा भाग लिएको उल्लेख गर्दै यसरी वैदेशिक कार्यक्रममा मनोनयन गर्ने काम विधिवत भएको उल्लेख प्रेषित खण्डमा उल्लेख गरिएको छ । प्रकाशित समाचारमा आफ्नो तस्विरको अनधिकृत प्रयोग भएको र समाचार प्रकाशन अघि कुनै सोधपुछ समेत नगरिएको,एकतर्फी रुपमा समाचार प्रकाशन गरिएको प्रति भ्रामक तथा तथ्यहीन समाचार प्रकाशनप्रति खेद समेत गरेकी छिन् ।





























