संघीय निजामती सेवा विधेयकको प्रारम्भिक मस्यौदामा ३ हजारभन्दा बढी राय तथा सुझाव प्राप्त भइसकेको जनाइएको छ । मस्यौदा सार्वजनिक गरेर सुझाव मागिएको तीन दिनमै ३ हजार बढी सुझाव प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
बिज्ञापन
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राष्ट्रसेवक कर्मचारी तथा सर्वसाधारण नागरिकबाट तीन हजारभन्दा बढी संख्यामा सुझाव तीन दिनभित्रैमा प्राप्त भएको जनाएको छ । मन्त्रालयले गत ११ वैशाखमा आफ्नो आधिकारिक वेबसाइटमार्फत विद्येयकको प्रारम्भिक मस्यौदा सार्वजनिक गरेको थियो । सो मस्यौदामा साता दिनको समय दिएर सुझाव माग गरेको थियो । मन्त्रालयले विधेयकको मस्यौदामाथि राय, सुझाव तथा पृष्ठपोषण दिन सरोकारवाला निकाय, राष्ट्रसेवक कर्मचारी र आम नागरिकलाई आग्रह गरेको तेस्रो दिनमै तीन हजार बढी सुझाव प्राप्त भएको हो ।
मन्त्रालयका अनुसार संघीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्न तयार पारिएको संघीय निजामती सेवा विधेयकको प्रारम्भिक मस्यौदा २०८३ वैशाख ११ गते मन्त्रालयको आधिकारिक वेबसाइटमा सार्वजनिक गरिएको थियो । उक्त मस्यौदाप्रति हालसम्म तीन हजारभन्दा बढी राय, सुझाव तथा पृष्ठपोषण प्राप्त भइसकेको मन्त्रालयले जनाएको छ । तीन दिनमै तीन हजारभन्दा बढी संख्यामा सुझाव प्राप्त भएको र प्राप्त भएका सुझावलाई संकलन गरी विश्लेषण गर्ने कार्य जारी रहेको जनाइएको छ ।
विधेयकलाई थप प्रभावकारी र समसामयिक बनाउन प्रशासन सुधार महाशाखा प्रमुखको संयोजकत्वमा विशेष कार्यसमूह गठन गरिएको छ । उक्त समूहले प्राप्त सुझावहरूको अध्ययन तथा विश्लेषण गर्ने जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ ।
बिज्ञापन
सामान्य प्रशासन मन्त्रालयल प्राप्त सुझावहरूसँगै विभिन्न सामाजिक सञ्जालमा व्यक्त भएका प्रतिक्रिया समेत संकलन गरी विश्लेषण गरिरहेको जनाएको छ । प्रशासन सुधार महाशाखा प्रमुखको संयोजकत्वमा कार्यसमूह गठन गर्दै उक्त कार्यसमूहले प्रारम्भिक मस्यौदामा उठेका विषयहरूको अध्ययन गरी उपयुक्तता र औचित्यका आधारमा आवश्यक सुधारसहित अन्तिम रूप दिन सहयोग गर्ने मन्त्रालयको भनाइ छ ।
मन्त्रालयले यसअघि उपलब्ध गराइएको सुझाव लिंकबाहेक थप सुझाव, राय तथा पृष्ठपोषण इमेलमार्फत तथा ह्वाट्सएप नम्बरहरूमा समेत पठाउन सकिने जनाएको छ । यस विषयमा सम्बन्धित सबैलाई सक्रिय सहभागिताका लागि मन्त्रालयले अनुरोध गरेको छ ।





























