काठमाडौं । कार्यालय समयमा कुर्सीमा नभेटिने, ढिलो आउने र काममा ढिलासुस्ती गर्ने १३ सयभन्दा बढी सरकारी कर्मचारी कारबाहीमा परेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयको प्रत्यक्ष निगरानीमा राष्ट्रिय सतर्कता केन्द्रले देशभर सरकारी कार्यालयमा छड्के अनुगमन तीव्र बनाएको हो। चैत १६ देखि वैशाख ९ सम्म मात्रै करिब ३ सय सरकारी कार्यालयमा गरिएको छड्केमा विभिन्न तहका कर्मचारी कारबाहीमा परेका छन्।
सतर्कता केन्द्रले स्पाई क्यामेरा, सीसीटीभी निगरानी र फाइल ट्रयाकिङ प्रणाली प्रयोग गर्दै कर्मचारीको उपस्थितिदेखि कार्यशैलीसम्म निगरानी बढाएको छ। केन्द्रका १४७ कर्मचारीहरूलाई विभिन्न टोलीमा विभाजन गरी दैनिक रूपमा छड्के अनुगमन गरिँदै आएको छ।
कार्यालयमा अनुपस्थित हुने, आफ्नै कार्यकक्षमा नबस्ने, पोशाक नलगाउने तथा सेवाग्राहीलाई सेवा नदिने कर्मचारीलाई सम्बन्धित कार्यालय प्रमुखमार्फत चेतावनी दिने र अभिलेख राख्ने प्रक्रिया अघि बढाइएको छ। कारबाहीमा कार्यालय सहयोगीदेखि सहसचिवसम्मका कर्मचारी परेका छन्।
सिंहदरबारभित्रका मन्त्रालय मात्र होइन, त्रिभुवन विश्वविद्यालय, सरकारी अस्पताल, मालपोत र यातायात कार्यालय तथा सरकारी बैंकहरूमा समेत सतर्कताको टोली पुगेर अनुगमन गरिरहेको छ। बिचौलियाको गतिविधि भेटिएमा तत्काल प्रहरी बोलाएर नियन्त्रणमा लिने काम पनि भइरहेको छ।
सतर्कता केन्द्रले हरेक दिनको छड्के प्रतिवेदन प्रधानमन्त्रीको सचिवालयमा बुझाउँदै आएको छ। अहिले पहिलो चरणमा सचेत गराउने प्रक्रिया चलिरहेको भए पनि पुनः गल्ती दोहोरिए कडा विभागीय कारबाहीको तयारी गरिएको स्रोतले जनाएको छ।































