काठमाडौं । देशकै सबैभन्दा व्यस्त र रणनीतिक नाका मानिने वीरगन्ज भन्सार कार्यालय पछिल्लो समय गम्भीर अनियमितता, तस्करी र कर्मचारी–व्यापारी मिलेमतोको आरोपले फेरि विवादको केन्द्रमा परेको छ। विशेष गरी राजस्व अनुसन्धान विभाग खारेज गरिएपछि भन्सार क्षेत्रको निगरानी कमजोर बनेको भन्दै सीमित तस्कर समूह र सेटिङमा चल्ने कर्मचारीहरू झन् सक्रिय भएको देखिएको छ।
बिज्ञापन
भन्सार क्षेत्रमा लामो समयदेखि काम गरिरहेका कर्मचारीहरूका अनुसार राजस्व अनुसन्धान विभाग सक्रिय हुँदा भन्सार, राजस्व र आयात–निर्यात कारोबारमा हुने गडबडीमाथि बाह्य निगरानी रहने गर्थ्यो। तर विभाग खारेज भएपछि त्यस्तो स्वतन्त्र निगरानी संयन्त्र कमजोर भएको छ। यसको प्रत्यक्ष फाइदा भन्सारभित्र ‘सेटिङ’मा काम गर्ने सीमित कर्मचारी र तस्कर समूहले उठाइरहेको आरोप लाग्न थालेको छ।
स्रोतका अनुसार वीरगन्ज भन्सार कार्यालयमा अहिले यही अवस्था स्पष्ट देखिन थालेको छ। आयातकर्ताहरू, भन्सार एजेन्टहरू र केही कर्मचारीबीच मिलेमतोमा सामानको परिमाण घटाएर पास गर्ने, प्रतिबन्धित वस्तु भित्र्याउने र विभिन्न प्रकारका ‘सेटिङ’मार्फत राजस्व छल्ने प्रवृत्ति बढेको बताइन्छ।
भन्सार वृत्तका एक स्रोतका अनुसार “राजस्व अनुसन्धान विभाग सक्रिय हुँदा भन्सारभित्र हुने धेरै खेलहरू खुल्ने डर हुन्थ्यो। अहिले त्यो डर कम भएकाले सीमित तस्कर र सेटिङमा चल्ने कर्मचारीहरू झन् मौलाएका छन्।”
बिज्ञापन
वीरगन्ज भन्सारमा ‘सेटिङ’को आरोप
वीरगन्ज भन्सार कार्यालयमा हाल प्रमुख भन्सार प्रशासकका रूपमा सहसचिव कृष्ण मैनाली कार्यरत छन्। तर स्रोतहरूका अनुसार भन्सारभित्र हुने अधिकांश ‘सेटिङ’को व्यवस्थापन भन्सार अधिकृत लेखनाथ पोखरेलमार्फत भइरहेको आरोप उठेको छ।
कर्मचारी वृत्तका अनुसार वीरगन्ज भन्सारमा पोस्टिङ पाउनकै लागि कर्मचारीबीच प्रतिस्पर्धा हुने गरेको छ। कारण, यहाँ आयात हुने सामानको परिमाण अत्यधिक भएकाले ‘सेटिङ’मार्फत ठूलो रकम चल्ने सम्भावना हुन्छ।यही कारण वीरगन्ज भन्सारलाई भित्रभित्रै ‘कमाइको नाका’का रूपमा समेत हेरिने गरेको कर्मचारीहरू नै बताउँछन्।
सुपारीका कन्टेनरदेखि बिलबिजक घोटालासम्म
भन्सारमा भइरहेको गडबडीको संकेत हालै सार्वजनिक भएका केही घटनाबाट पनि देखिन्छ। वीरगन्ज भन्सारको सुख्खा बन्दरगाह (ड्राइपोर्ट) मा कोभिड महामारीका बेला ल्याइएका करिब २०० कन्टेनर मालवस्तु अहिले ठूलो प्रश्न बनेको छ।
ती कन्टेनरलाई ‘बेवारिसे’ भन्दै राखिएको भए पनि १४ कन्टेनर खोल्दा ‘फिड सप्लिमेन्ट’ भनेर घोषणा गरिएको सामानभित्र प्रतिबन्धित सुपारी भेटिएको थियो। त्यसपछि बाँकी कन्टेनरहरूमा पनि सुपारी रहेको आशंका गरिएको छ।
क्वारेन्टाइनले ती सामान नष्ट गर्न सिफारिस गरिसकेको भए पनि प्रक्रिया अझै अघि बढ्न सकेको छैन। यसले ती सामान भन्सार परिसरमै छन् कि कतै ‘सेटिङ’मार्फत बाहिर गइसके भन्ने प्रश्न उठाएको छ।
वीरगन्ज भन्सारमा बिलबिजकभन्दा कम परिमाण देखाएर सामान पास गरिएको अर्को घटना पनि बाहिर आएको छ। १६ साउनमा डिप बोरिङ जडान मेसिनका १८८ थान सामानलाई भन्सार प्रज्ञापनपत्रमा ‘एक पिस’ मात्र देखाएर पास गरिएको तथ्य फेला परेको हो।
स्रोतका अनुसार आयातकर्ता, भन्सार एजेन्ट र भन्सार कर्मचारीबीच मिलेमतोमा उक्त सामान पास गरिएको थियो। तर भन्सारबाट छुटेको केही घण्टामै प्रहरीले विशेष सूचनाका आधारमा उक्त ट्रक नियन्त्रणमा लिएको थियो।
वीरगन्ज महानगरपालिकाको पावरहाउस क्षेत्रस्थित कादम्बरी स्कुलको गल्लीमा सामान अनलोड गर्दै गर्दा प्रहरीले गाडी समातेको थियो। तर नियन्त्रणमा लिएको केही घण्टामै उक्त गाडी र सामान छाडिएको पाइएको छ।
स्रोतहरूका अनुसार एक प्रभावशाली मन्त्रीले प्रहरी प्रमुखलाई फोन गरेर गाडी छाड्न दबाब दिएका थिए। त्यसपछि गाडी राति नै छाडिएको आरोप छ।
भन्सार क्षेत्रमा काम गरिरहेका जानकारहरूका अनुसार अहिले भन्सारमा देखिएको यो अवस्था कुनै एक–दुई घटनामात्र होइन। राजस्व अनुसन्धान विभाग खारेज भएपछि बाह्य निगरानी कमजोर बनेको अवसरमा सीमित तस्कर समूह र सेटिङमा चल्ने कर्मचारीहरूले संगठित रूपमा नेटवर्क विस्तार गरिरहेको आशंका गरिएको छ।
यसले देशकै ठूलो राजस्व नाकामा राज्यको राजस्वमाथि गम्भीर जोखिम बढाएको विश्लेषण गरिएको छ।
सरकारले सुशासन र पारदर्शितालाई प्राथमिकता दिएको दाबी गरिरहेको अवस्थामा वीरगन्ज भन्सारमा देखिएका यी घटनाहरूले गम्भीर प्रश्न उठाएका छन्—के राज्यको सबैभन्दा ठूलो भन्सार नाकामै कर्मचारी र तस्करहरूको मिलेमतोमा ‘सेटिङको समानान्तर प्रणाली’ चलिरहेको छ?
अब प्रश्न सरकारतर्फ सोझिएको छ राजस्व अनुसन्धान विभाग खारेज भएपछि कमजोर बनेको निगरानी प्रणालीलाई कसरी भरपर्दो बनाइन्छ? र वीरगन्ज भन्सारमा देखिएको कर्मचारी–तस्कर मिलेमतोमाथि कस्तो कारबाही हुन्छ? यी प्रश्नको उत्तर अब हुने छानबिनले मात्रै दिनेछ।
भन्सार अधिकृत लेखनाथ पोखरेलको ‘सेटिङ’को रहस्य:-१८८ थान मालसमानलाई १ थान देखाएर भन्सार पास































