पछिल्लो समय निजामती सेवा र प्रहरी सेवामा राजीनामा दिनेको लर्काे लागेको छ । लोक सेवा आयोगको उच्च प्रतिस्पर्धाबाट सेवामा प्रवेश गरेका निजामती कर्मचारीले बीचमै राजीनामा दिएर जागिर छाड्ने क्रम बढ्दै गएको छ । यसरी बीचमै जागिर छाड्नेमा तल्ला तहका कर्मचारीहरुदेखि सचिव तहसम्मका कर्मचारीहरु रहेका छन् ।
बिज्ञापन
नयाँ सरकार बने यता यो क्रमले तिव्रता पाएको छ । रास्वपाको सरकार बनेको तीन सातामै पाँच जना कर्मचारीहरुले राजीनामा दिएका छन् । जसमध्ये एक जनाको मात्र राजीनामा स्वीकृत भएको र अरुको होल्डमा रहेको मन्त्रालयहरुले जनाएका छन् । जागिरप्रति वितृष्णा व्यक्त गर्दै पछिल्लो समय राजीनामा दिनेमा एक उपसचिव र चार जना शाखा अधिकृत रहेका छन् । सरकारले हालैमात्र केही उपसचिव र शाखा अधिकृतहरुलाई सिंहदरबारबाट स्थानीय तहमा खटाएको थियो । यसरी स्थानीय तहमा खटाएका शाखा अधिकृतदेखि उपसचिव तहसम्मका कर्मचारीहरुले धमाधम राजीनामा दिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । पछिल्लो विवरण अनुसार,उपसचिव चिव भीम कोइरालाले राजिनामा दिएका छन् । गृह मन्त्रालयले हालैमात्र उनको सरुवा डोल्पाका प्रमुख जिल्ला अधिकारीबाट पाँचथरमा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरेकोमा प्रमुख जिल्ला अधिकारीबाट झरेर सहायक प्रमुख जिल्ला अधिकारी खान नगई उनले राजीनामा दिएका छन् । उता सामान्य प्रशासनमा यो बीचमा चार जना शाखा अधिकृतहरुले राजीनामा दिएका छन्,मन्त्रालयका अनुसार सोमबारमात्र शाखा अधिकृत गणेश घिमिरे र चुणामणि केसीले राजीनामा दिएका हुन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार,घिमिरेलाई अछामको मल्लेख गाउँपालिका पठाइएको थियो । जेनजी विद्रोह पछि सार्वजनिक प्रशासन रूपान्तरण अभियानका संयोजकसमेत रहेका घिमिरेले सोमबार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिवसमक्ष राजीनामा बुझाएका हुन । यस्तै हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अध्यागमन अधिकृत जिम्मेवारीमा रहेका केसीलाई सामान्य प्रशासन मन्त्रालयले सल्यानको कुमाख गाउँपालिका खटाएको थियो गत १९ मा । तर गृह जिल्लामा सरूवा भएका केसी खटाएको ठाउँमा नगइ राजीनामा दिएका हुन् ।
यस अघि अवकाशको मुखमा रहेका दुई अधिकृतहरुले पनि खटाएको ठाउँमा नगइ राजीनामा दिएका छन् । मन्त्रालयले दार्चुलाको व्यास गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाइएका हरि पौडेल र नुवाकोटको तारकेश्वर गाउँपालिकामा खटाइएका शेखरनिधि पौड्यालले राजीनामा दिएको जनाएको छ । दुवै अधिकृतले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका छन्। दुवै अधिकृतको राजीनामा मन्त्रालयमा बुझाएको भए पनि सो राजीनामा स्वीकृत नहुँदै थप दुई अधिककृतले राजीनामा दिएका हुन । यसरी राजीनामा दिने मध्ये केही पेन्सनका लोभमा दुई चार दिन अगावै राजीनामा दिन्छन् भने केहीले लगतै अर्को नियुक्ति खानका लागि । पदबाट राजीनामा दिएर दिनेश थपलियाहरु निर्वाचन आयोग,प्रेम राई अख्तियार दुरुपयोग अनुसन्धान आयोग,तोयम राया महालेखा परीक्षकको नियुक्ति खानका लागि बीचमै राजीनामा दिएका थिए । केही सचिवहरुले यहाँबाट पदबाट राजीनामा दिएर विदेशी आइएनजिओहरुमा जागिर खानका लागि समेत पदबाट राजीनामा दिने विकृती बढ्दो छ । यसरी निजामती सेवामा गत चार वर्षको अवधिमा २८९० जना निजामती कर्मचारीले बिचैमा जागिर छाडेका छन् ।किताबखानाको तथ्यांक अनुसार ०७८/ ७९ मा ७६९ जनाले बीचमै जागिर छाडेका थिए भने ०७९/ ८० मा ८०४ जना, २०८०/ ८१ मा ७१४ जनाले बीचमै जागिर छाड्दा अघिल्लो आर्थिक बर्षमा ५ सय ९८ जना कर्मचारीले जागिर छाडेर हिडेका छन् ।
यसरी बीचमै जागिर छाड्नेमा कार्यालय सहयोगीदेखि सचिव तहसम्मका कर्मचारीहरु रहेका छन् । उता,जेनजी विद्रोह पछि प्रहरीमा समेत अत्यासलाग्दो रुपमा राजीनामा दिनेहरु देखिएका छन् । पछिल्लो पाँच बर्षमा झण्डै आठ हजार प्रहरीहरुले सेवा अवधि बाँकी छँदै राजीनामा ठोकेर हिडेका छन् । प्रहरीको अभिलेखअनुसार साउनयता उपदान सुविधा लिएर ९० र अरू सात सय प्रहरीले २० वर्ष सेवा पुगेपछि पेन्सन सुविधामा जागिर छाडेका हुन् । नेपाली सेनाभित्रको चित्र यो भन्दा फरक छैन ।
बिज्ञापन
































