पुरातत्व विभागका तत्कालीन इन्जिनियर पूर्णबहादुर श्रेष्ठ र सहायक पथप्रदर्शक देउकला अधिकारीविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा उनीहरूविरुद्ध दुवै मुद्दा दर्ता गरेको हो।
बिज्ञापन
आयोगका अनुसार श्रेष्ठ र अधिकारीले निर्माण कार्यसँग सम्बन्धित एक संयुक्त उद्यम (जेभी) ठेक्काबाट घुस लिएको आरोप छ। उक्त ठेक्का ६४ करोड २१ लाख ८९ हजार ६०३ रुपैयाँको रहेको र सोही ठेक्कासँग सम्बन्धित निर्माण कम्पनी तथा सम्बद्ध जेभीका बैंक खाताबाट पटक–पटक गरी देउकला अधिकारीको बैंक खातामा ४ करोड २२ लाख ७५ हजार ९८५ रुपैयाँ जम्मा गरिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।
अनुसन्धानका क्रममा घुसवापत प्राप्त रकम दुवैले संयुक्त रूपमा प्रयोग गरी विभिन्न सम्पत्ति खरिद गरेको पाइएको छ। सो रकमबाट जग्गा किनबेच, सुन खरिद तथा विभिन्न व्यक्तिलाई भुक्तानी गरी अवैध आम्दानीको स्रोत लुकाउने, रूपान्तरण गर्ने र हस्तान्तरण गर्ने प्रयास भएको आयोगको दाबी छ।
यही कारण उनीहरूविरुद्ध ४ करोड २२ लाख ७५ हजार ९८५ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचारका साथै सम्पत्ति शुद्धीकरण अन्तर्गतको कसुरमा समेत मुद्दा दायर गरिएको आयोगका प्रवक्ताले जानकारी दिएका छन्।
बिज्ञापन
आयोगका अनुसार घुस लिएको अभियोगमा छुट्टै भ्रष्टाचार मुद्दा पनि विशेष अदालतमा पेश गरिएको छ।
































