विगतका सरकारले तह लगाउन नसकेका कर्मचारी ट्रेड युनियनका नेताहरुलाई वर्तमान सरकारले सिंहदरबारबाट बाहिर पठाउन थालेको छ । विगतमा शक्ति र सत्ताका आडमा दशौं बर्षदेखि शक्तिशाली निकायमा बसेका,सिंहदरबार छाडेर कहिल्यै स्थानीय तहमा नबसेका कर्मचारी नेताहरुलाई स्थानीय तहमा खटाएको हो,सरकारले । जस अनुसार,विगत आठ बर्षदेखि राष्ट्रिय योजना आयोगमा कार्यरत रहेका उपसचिव विश्वरुप दाहाल सप्तरी पुगेका छन् । काठमाडौँमा बसेर लोकसेवाको ट्युसन पढाउने गरेका उनलाई कल्याणपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाईएको छ ।
बिज्ञापन
त्यस्तै,उध्योग विभागका तर्कराज भट्ट र बुद्धि उपाध्याय पनि काठमाडौँबाहिर पुगेका छन् । शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला उध्योग मन्त्रालयबाट सरुवा गरी दिल्लीस्थित नेपाली दूतावासमा लगिएका तर्कराज उध्योगमै फर्किएका थिए । बुद्धि पनि सिंहदरबारको रैथाने थिए ।
यसैगरी कर्मचारी युनियनका सचिव भइसकेका हाल गृह मन्त्रालयका उपसचिव नवराज जैसीलाई सुदूरपश्चिम पठाईएको छ । कांग्रेस सत्तामा आउनेबित्तिक्कै आकर्षक ठाउँमा सरुवा हुने यिनी रसुवाको सिडिओ पनि भए । सहकारी विभागमा कार्यरत शशी लम्साल पनि उपत्यका बाहिर पुगेका छन् । एमाले नेत्री तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीका श्रीमान पशुपति पुरीलाई सप्तरीको शम्भुनाथ नगरपालिकामा सरुवा गरिएको छ । पत्नी मन्त्री भएका बेला राजस्व अनुसन्धान विभाग, बुटवलको प्रमुख रहेका उनी यसअघि उध्योग विभागका हर्ताकर्ता थिए ।
सिंहदरबारभित्रका अर्काे रैथाने उपसचिव रुपनारायण खतिवडा र नवराज अधिकारीलाई सिंहदरबारबाट मधेश प्रदेशतिर खटाइएको छ । यता जेनजीहरुको सरकार हुँदा वनबाट सामान्यमा पुगेका र लामो समय अतिरिक्तमा रहेका उपसचिव शोभाखर रेग्मी पर्यटनमा पुगेका छन् । मन्त्रालयले कर्मचारीको पिआइएसका आधारमा कर्मचारी सरुवा गरेको दावी गरेको छ ।
उपसचिवहरुमात्र होइन शाखा अधिकृत खटन पटनमा पनि कर्मचारी दलगत राजनीति गर्दै आएकाहरु प्रथामिकतामा परेका छन् । मन्त्रालयले हालैमात्र ६ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ,जसमा गणेश घिमिरेलाई अछामको मल्लेख गाउँपालिका पठाइएको छ । भदौ २३ को प्रदर्शन र २४ गतेको ध्वंशपछि उत्पन्न परिस्थितिमा राजनीतिक क्षेत्रमा झैँ प्रशासनिक क्षेत्रमा पनि आमूल परिवर्तन गर्नुपर्ने आवाज उठाउँदै उनी सार्वजनिक प्रशासन रुपान्तरण अभियान २०८२ को नेतृत्वकर्ता हुन । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाइलाई सैनिक मुख्यालय पुर्याउने भूमिकामासमेत उनै शाखा अधिकृत गणेश घिमिरे सक्रिय थिए ।
बिज्ञापन
उनी २०७२ सालको व्याच ३१ का अधिकृत हुन् । पाँच बर्ष कानुन मन्त्रालयको सुब्बा तहमा काम गरेर अधिकृत भएका थिए । हाल प्राकृतिक स्रोत तथा वित्त आयोगको नीति योजना तथा विश्लेषण शाखाको जिम्मेवारीमा छन् । यद्यपि निजामती किताबखानाको विवरण अनुसार उनको दरबन्दी सामान्य प्रशासनको अतिरिक्त समूहमा देखिन्छ ०८२ वैशाख २५ देखि । ओखलढुङ्गाको रगनी ७ का स्थायीबासी उनी श्रम मन्त्रालय मातहत रहँदा भक्तपुरबाट ललितपुर सरेका थिए । पाँच बर्ष प्रधानमन्त्री कार्यालय,मुख्य सचिवको सचिवालयमा बिताएका उनले त्यही हुँदा वर्तमान प्रधानसेनापति अशोक सिग्देल र पूर्व प्रधानसेनापति प्रभुराम शर्मासँग विशेष सम्बन्ध बनाएको चर्चा निजामती वृत्तमा सुन्न पाइन्छ ।































