अध्यादेशबाटै संघीय निजामती सेवा ऐन ल्याइने,उमेर हद,सेवा हद, मुख्य सचिव,सचिवदेखि सहसचिवसम्मको सेवा अवधिमा व्यापक हेरफेर हुने चर्चा र परिचर्चाले निजामती वृत्तमा हलचल पैदा भएको छ । एकातिर संघीय मन्त्रालयको संख्या कटौती हुँदा बढुवाका मुखमा रहेका चार चार जना सहसचिवहरु बढुवा हुन पाइरहेका छैनन् । यही कारण कर्मचारीको वृत्ति विकासकै बाटो अवरुद्ध हुन लागेको भन्दै कतिपय कर्मचारीहरु त्रसित स्थितिमा छन् ।
बिज्ञापन
आगामी असार २६ बाट बर्तमान मुख्य सचिव सुमनराज अर्याल अनिवार्य अवकाशमा जाँदैछन् । सेवामा रहँदासम्म आमूल परिवर्तन केही गर्न नसके पनि केही नबिगार्ने छविका कर्मचारी हुन उनी । उनी अवकाशमा गएपछि को होलान भावी मुख्य सचिव ? ५५ बर्षको उमेर हद कायम गरिए कुन कुन सचिव अगावै घर जालान ? अहिले यस बिषयमा अनेकन टिका टिप्पणी हुने गरेको छ । प्राप्त विवरण अनुसार ५८ बर्षे उमेर हदका कारण आगामी असार १७ मा प्रमिलादेवी बज्राचार्य,हाल निर्वाचन आयोगमा रहेका सचिव मधुसुदन बुर्लाकोटी आगामी असार २४ गतेबाट पाँच बर्षे सेवाअवधि लागेर अनिवार्य अवकाशमा जाँदैछन् । यस्तै उपराष्ट्रपति कार्यालयमा रहेका डा कृष्णहरि पुष्कर असार २४ मै पाँच बर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाँदैछन् ।
सूची अनुसार,विशेष दरबन्दीमा रहेका सचिव खगेन्द्र नेपाल असार २८ गते अनिवार्य अवकाशमा जानेछन्,उनी पनि पाँच बर्ष अवधिका कारण अवकाशमा पाउन लागेका हुन । मुख्यसचिव सुमन अर्यालले अवकाश पाएको दुई दिन पछि उनी अनिवार्य अवकाशमा जानेछन् । यस हिसाबले मुख्य सचिव अर्यालले पूरै कार्यकाल जिम्मेवारी सम्हालेको खण्डमा बरिष्ठताका आधारमा सबैभन्दा अगाडि उनै खगेन्द्र देखिएका छन् । त्यस पछि हाल प्रधानमन्त्री कार्यालयमा रहेका सचिव किरणराज शर्मा आगामी साउन ४ गते सेवा अवधि पूरा गरेर घर जाँदैछन् । यस्तै,सार्वजनिक खरिद अनुगमन कार्यालयमा कार्यरत रहेका हरिप्रसाद मैनाली साउन १९ मा पाँच बर्षे सेवा अवधि पूरा गरेर घर फर्किनेछन् । यही व्यवस्था कायम रहे,गोविन्द शर्मा साउन २५ मा अनिवार्य अवकाशमा जाँदैछन् । यस्तै,हाल स्वास्थ्य मन्त्रालयमा कार्यरत रहेका डिल्लीराम शर्मा भदौं ५ मा सेवा हदकै कारण अनिवार्य अवकाशमा जानेको सूचीमा रहेका छन् ।
हाल गृह सचिवको भूमिकामा रहेका राजकुमार श्रेष्ठ आगमी भदौं २५,शहरी र भौतिक दुबै मन्त्रालयका जिम्मेवारी सम्हालिरहेका गोपाल सिग्देल आगामी असोज १४,राष्ट्रिय योजना आयोगमा कार्यरत रहेका सचिव रविलाल पन्थ आगामी असोज १९ मा सेवा हदकै कारण अनिवार्य अवकाशमा पाउनेछन् । यस्तै,निर्वाचन आयोगबाट हालैमात्र उद्योगमा रिइन्ट्री भएका कृष्णबहादुर राउत आगामी असोज २१ मा अनिवार्य अवकाश पाउनेको सूचीमा छन । कर्मचारी प्रेसलाई प्राप्त विवरण अनुसार,लोकसेवा आयोगका सचिव रामेश्वर दंगालले आगामी माघ १७ मा अनिवार्य अवकाश पाउनेछन् । पर्यटन सचिव मुकुन्द निरौलाले आगामी फागुन ५ गते सेवा हदकै कारण अनिवार्य अवकाशमा जानेछन ।
यस्तै,प्राविधिक सचिव सरजुकुमार वैद्य आगामी असोज १६ मा उमेर हद लागेर घर जानेछन् । यस्तै बैकुण्ठ अधिकारी उमेर हदकै कारण आगामी आगामी बर्ष असोज १६मा उमेर हदका कारण अनिवार्य अवकाशमा जानेको सूचीमा छन् । सन्जिवराज रेग्मी असोज १८ मा अवकाशमा जानेछन्,उमेर हदकै कारण । हाल राष्ट्रपति कार्यालयमा रहेका महादेव पन्थ आगामी बर्ष माघ १ गते उमेर हदकै कारण घर जानेछन् । हाल बागमती प्रदेशका प्रमुख सचिव रहेका वावुराम अधिकारी उमेर हदकै कारण यही भदौं ४ मा घर फर्कनेछन् ।
जल तथा उर्जा आयोगको सचिवलायमा रहेका दिनानाथ मिश्र आगामी चैत्र महिनामा ५८ बर्षे उमेर हद लागेर घर जानेछन् । यस्तै चिरिञ्जवी चटौत यही असारमा घर जाँदैछन् । यो हिसाबले ८ जना सचिवहरु चालु आर्थिक बर्षमा ५८ बर्षे उमेर हद लागेर र १४ जना सचिवहरु सेवा अवधि पूरा गरेर घर फर्कदै छन् । यस्तो अवस्थामा एकातिर सचिवहरुको उमेर हद नै पाँच बर्षबाट तीनमा झार्ने गरी छलफल चलिरहेको छ । यदी सचिवको सेवा हद तीन बर्षमा झारिए पछिल्लो समयमा बढुवा भएका बाहेक अधिकांश सचिवहरु घर फर्कने स्थिति आउनेछ । प्रशासनिक वृत्तमा चर्चा भए अनुसार,उमेर हद ५५ र सेवा हद ३० बनाइने हो र असार अगावै ऐन आउने स्थिति बन्यो भने भावी मुख्यसचिव को बन्लान भन्न सक्ने स्थिति अहिल्यै छैन ।
































