प्रेमको अपरिमेय पाठशाला : ‘प्रेमालय’ को दार्शनिक–मनोवैज्ञानिक पक्ष

  तोमनाथ उप्रेती

बिज्ञापन

 

बिज्ञापन

१. बिषय प्रवेश 

अश्विनी कोइराला जो भावनात्मक गहिराइ र दार्शनिक सोचलाई कथा र उपन्यासमा समेट्ने क्षमताले परिचित छन्। उनको लेखनमा मानव मनोविज्ञान, सामाजिक यथार्थ र आध्यात्मिक अनुभवको विस्तृत चित्रण पाइन्छ। ‘प्रेमालय’ जस्ता कृतिहरूले प्रेम, स्वतन्त्रता, ईर्ष्या र मानवीय सम्बन्धको जटिलतालाई उल्याउँछन्। उनले भाषा सरल राख्दै पनि गहन अर्थ व्यक्त गर्ने कला देखाएका छन्। उनी नेपाली साहित्यमा संवेदनशीलता र दार्शनिकताको प्रतीक हुन्।

बिज्ञापन

प्रेम शब्द सानो छ, तर यसको अर्थ अनन्त छ। मानिसले हजारौँ वर्षदेखि प्रेमबारे बोलिरहेको छ। लेखिरहेको छ। गाइरहेको छ। रोइरहेको छ। तर अझै पनि एउटा सरल प्रश्नको स्पष्ट उत्तर दिन सकेको छैन—प्रेम के हो? के प्रेम दुई हृदयबीचको आकर्षण मात्र हो वा त्यो कुनै गहिरो आध्यात्मिक ऊर्जा हो? के प्रेममा यौन आवश्यक छ वा प्रेम यौनभन्दा परको अनुभूति हो? के प्रेम प्राप्तिमा सीमित छ वा त्यागमा पनि उत्तिकै जीवित रहन्छ? यी प्रश्नहरू सामान्य देखिन्छन्। तर यिनको गहिराइ असाधारण छ। यी जिज्ञासा मात्र होइनन् मानव अस्तित्वका मौन कम्पन हुन्। यिनले मानिसलाई बाहिर होइन, भित्रतिर फर्काउँछन्। आफ्नै चेतनाको तहमा झार्छन्।

कोइरालाको उपन्यास ‘प्रेमालय’ यिनै जटिल प्रश्नहरूको उत्तर खोज्ने एक यात्रा हो। यो उत्तर दिन हतार गर्दैन। यसले पाठकलाई सोच्न बाध्य पार्छ। उसलाई आफ्नै अनुभूति, आफ्नै विगत र आफ्नै सम्बन्धहरूसँग सामना गराउँछ।

यस कृतिलाई प्रेमकथा भन्नु यसको गहिराइलाई सानो बनाउनु हो। यो दर्शन हो। यो मनोविज्ञान हो। यो समाजको प्रतिबिम्ब हो। ‘प्रेमालय’ वास्तवमा एउटा प्रयोगशाला हो जहाँ प्रेमलाई अनुभूत गरिन्छ। परीक्षण गरिन्छ र कहिलेकाहीँ भत्काएर पुनः निर्माण पनि गरिन्छ।

२. कृतिको स्वरूप :

२९५ पृष्ठमा फैलिएको यो उपन्यास आकारमा सानो देखिए पनि यसको विचारक्षेत्र अत्यन्त विशाल छ। १४ खण्डमा विभाजित यसको संरचना सन्तुलित र सुव्यवस्थित छ। प्रत्येक खण्ड एक नयाँ प्रश्नको उद्घाटन हो। प्रत्येक खण्डले पाठकलाई फरक कोणबाट प्रेमलाई हेर्न बाध्य पार्छ।

लेखकको सबैभन्दा ठूलो विशेषता जटिल विचारलाई सरल शब्दमा प्रस्तुत गर्ने क्षमता हो। उनले गहिरा दार्शनिक अवधारणालाई बोझिलो बनाएका छैनन् बरु सहज रूपमा प्रवाह दिएका छन्। काव्यात्मकता र दार्शनिकता दुवैको सुन्दर सन्तुलन यस कृतिमा पाइन्छ। कतिपय स्थानमा विज्ञानका दृष्टान्तहरू प्रयोग गरेर प्रेमलाई व्याख्या गर्ने प्रयास गरिएको छ जसले कृतिलाई थप रोचक, तर्कसंगत र बौद्धिक बनाएको छ।

यो उपन्यास अनुभूति गराउने माध्यम हो। यहाँ शब्दहरू अनुभूत गरिन्छन्। पाठक कथासँग मात्र जोडिँदैन आफ्नै भित्री संसारसँग पनि जोडिन्छ। यही विशेषताले ‘प्रेमालय’ लाई साधारण उपन्यासभन्दा माथि उठाएर एक गहन साहित्यिक अनुभव बनाएको छ।

३. कथावस्तु : 

कथाको केन्द्रमा तीन पात्र छन्—सहज, गुराँस र ऋषभ। यी तीन पात्रहरूले प्रेमका तीन फरक आयामहरूलाई प्रतिनिधित्व गर्छन्, जसले उपन्यासलाई कथात्मक मात्र होइन, दार्शनिक बनाउँछ। सहज संवेदनशील छ। ऊ प्रेममा डुब्न जान्छ। तर ऊ प्रेमको वास्तविक अर्थ बुझ्न सक्दैन। उसको प्रेम स्वामित्वमा केन्द्रित छ। ऊ प्रेमलाई आफ्नो बनाउने चाहन्छ। यही चाहनाले उसको प्रेमलाई सीमित बनाउँछ।

गुराँस स्वतन्त्र छिन्। उनी प्रेमलाई बाँध्न चाहन्नन्। उनी प्रेमलाई प्रवाहजस्तो देख्छिन् जहाँ कुनै रोकावट हुँदैन। जहाँ स्वतन्त्रता नै मूल मूल्य हुन्छ। तर यही स्वतन्त्रता कहिलेकाहीँ अस्थिरता पनि बन्छ।

ऋषभ सर बौद्धिक छन्। उनी प्रेमलाई अध्ययन गर्छन्। उनी प्रेमलाई अनुभूति भन्दा बढी विश्लेषणको विषय बनाउँछन्। उनी प्रेमलाई बुझ्न चाहन्छन्, तर त्यसलाई नियन्त्रण गर्न सक्दैनन्।

यी तीन पात्रहरू तीन दृष्टिकोण हुन्—भावनात्मक, स्वतन्त्र र बौद्धिक। गुराँस यी दुई पुरुषबीच उभिन्छिन्—एक भावनात्मक प्रेम र अर्को बौद्धिक तथा शारीरिक प्रेमबीच। यो त्रिकोण सम्बन्धको द्वन्द्व होइन। यो चेतनाको द्वन्द्व हो। अन्ततः यो सम्बन्ध त्रासदीमा परिणत हुन्छ। सहजले ऋषभको हत्या गर्छ। त्यसपछि ऊ आफैँ पनि मृत्यु रोज्छ। गुराँस, जसले दुई प्रकारका प्रेम अनुभव गरेकी हुन्छिन्, अन्ततः एक्लोपनमा बाँच्छिन्। कथा समाप्त हुन्छ, तर यसले उठाएका प्रश्नहरू पाठकको मनमा अझ गहिरो रूपमा जीवित रहन्छन्।

४. प्रेमालय : एउटा वैकल्पिक शिक्षा प्रणाली 

उपन्यासको सबैभन्दा रोचक पक्ष यसको अवधारणा हो—प्रेमालय। यो एउटा विद्यालयको कल्पना होइन, यो मानव चेतनाको एउटा आध्यात्मिक क्षेत्र हो, जहाँ ज्ञान बाह्य वस्तु होइन, भित्री अनुभूति बन्छ। यहाँ विज्ञान, गणित वा व्यवस्थापनका सूत्रहरू पढाइँदैनन्। यहाँ अनुभूति, आकर्षण, विश्वास, धोका, ईर्ष्या र सम्बन्ध पढाइन्छ। यी विषयहरू कागजमा सीमित हुँदैनन्, ती हृदयमा घटित हुन्छन्।

प्रेमलाई विषय बनाइएको छ। प्रेमलाई पाठ्यक्रम बनाइएको छ। तर यो पाठ्यक्रम पुस्तकमा सीमित छैन। यो जीवनमा अभ्यास गर्नुपर्ने साधना हो। प्रेमालय यस अर्थमा एउटा गुरुकुलजस्तो देखिन्छ, जहाँ आत्मा नै विद्यार्थी हो र अनुभूति नै गुरु।

यो अवधारणा साहसी मात्र होइन आध्यात्मिक पनि छ। किनभने हाम्रो समाजले बाह्य ज्ञानलाई प्राथमिकता दिएको छ, तर भित्री चेतनालाई उपेक्षा गरेको छ। हामी विद्यालय जान्छौँ। भाषा, विज्ञान, तर्क धेरै कुरा सिक्छौँ। तर हामी प्रेम गर्न सिक्दैनौँ। हामी सम्बन्धको सार बुझ्दैनौँ।

लेखकले यही शून्यतालाई उजागर गरेका छन्। हामी शिक्षित छौँ तर भावनात्मक रूपमा अशिक्षित छौँ। हाम्रो ज्ञानले हामीलाई सफल बनाउँछ, तर हाम्रो अवचेतनले हामीलाई अस्थिर बनाउँछ उनले देखाएका छन्। प्रेमालय यसै कारण एक आह्वान हो आफूलाई चिन्ने, आफ्ना भावनालाई बुझ्ने र अन्ततः प्रेमलाई केवल सम्बन्ध होइन, आत्मबोधको मार्गका रूपमा स्वीकार गर्ने।

५. प्रेमको दर्शन : 

प्रेमलाई शब्दमा बाँध्न सकिँदैन। यो उपन्यासले यही सत्यलाई बारम्बार स्मरण गराउँछ कि प्रेम कुनै परिभाषामा सीमित हुने वस्तु होइन, बरु अनुभूतिमा विस्तार हुने चेतना हो। शब्दहरू प्रेमलाई समेट्न खोज्छन्, तर प्रेम सधैँ शब्दभन्दा ठूलो रहन्छ।

प्रेम न त भावना हो, न त केवल शारीरिक आकर्षण। भावना क्षणिक हुन सक्छ, आकर्षण परिवर्तनशील हुन सक्छ, तर प्रेम ती दुवैभन्दा परको एक सूक्ष्म ऊर्जा हो एक अदृश्य प्रवाह, जसले मानिसलाई भित्रबाट स्पर्श गर्छ। यो मन, शरीर र आत्माबीचको अदृश्य सेतु हो, जहाँ तर्क हराउँछ र अनुभूति बोल्न थाल्छ।

प्रेम पाउनुमा मात्र छैन। गुमाउनुमा पनि छैन। प्रेम आफैँमा यात्रा हो। एक यस्तो यात्रा, जसको कुनै निश्चित गन्तव्य छैन। कहिलेकाहीँ यो यात्रामा मिलन हुन्छ। कहिलेकाहीँ वियोग। तर दुवै अवस्थाले प्रेमलाई समाप्त गर्दैनन्; बरु त्यसलाई अझ गहिरो बनाउँछन्।

लेखकले प्रेमलाई कुनै निश्चित परिभाषामा सीमित गरेका छैनन्। उनले यसलाई खुला आकाशझैँ छोडेका छन्, जहाँ हरेक पाठकले आफ्नो अनुभवअनुसार अर्थ खोज्न सक्छ। यही खुलापनले ‘प्रेमालय’ लाई विशेष बनाउँछ। यो उत्तर दिने कृति होइन। प्रश्न जगाउने कृति हो। निर्देशन गर्ने होइन। आत्मबोधतर्फ डोऱ्याउने एक मौन आमन्त्रण हो।

६. प्रेम र यौन : संवेदनशील बहस 

उपन्यासले एउटा महत्वपूर्ण र संवेदनशील प्रश्न उठाउँछ—के प्रेममा यौन आवश्यक छ? यो प्रश्न सरल देखिए पनि यसको उत्तर बहुआयामिक छ। लेखकले यसलाई एकै कोणबाट हेरेका छैनन्; बरु जीवन, समाज र चेतनाको विविध तहबाट विश्लेषण गरेका छन्।

यौन जीवनको प्राकृतिक आवश्यकता हो। यो शरीरको भाषा हो। जैविक सत्य हो। तर प्रेमको सम्पूर्णता भने होइन। प्रेम शरीरको मिलनमा सीमित हुँदैन। यो मनको स्पर्श र आत्माको संवाद पनि हो। जहाँ यौन समाप्त हुन्छ, त्यहाँ पनि प्रेमको सम्भावना जीवित रहन सक्छ।

हाम्रो समाजमा यौनलाई अझै पनि लुकाएर राखिन्छ। यसलाई अश्लीलताको दृष्टिले हेर्ने प्रवृत्ति छ। मानिस खुला रूपमा यसबारे कुरा गर्न डराउँछ। तर विडम्बना के छ भने यही समाजले प्रेमलाई शारीरिक आकर्षणमा सीमित गरेर बुझ्ने गर्छ।

उपन्यासले यही विरोधाभासलाई उजागर गरेको छ। यौनलाई अस्वीकार गर्नु पनि गलत हो र प्रेमलाई यौनमा सीमित गर्नु पनि अधुरो बुझाइ हो। साँचो प्रेम त्यहाँ हुन्छ, जहाँ शरीर, मन र आत्माबीचको सन्तुलन कायम हुन्छ। यस दृष्टिले ‘प्रेमालय’ हाम्रो सामाजिक सोच, नैतिकता र चेतनाको पुनर्विचार गर्न प्रेरित गर्ने गहिरो विमर्श हो।

७. सामाजिक यथार्थ : बन्द मानसिकताको आलोचना 

‘प्रेमालय’ हाम्रो समाजको ऐना हो।एक ऐना जसमा हामी आफैँलाई स्पष्ट देख्न सक्छौँ। हामी प्रेमबारे धेरै कुरा गर्छौँ। गीत, कविता, कथा, संवाद सबैमा प्रेमको चर्चा हुन्छ। तर वास्तविकतामा हामी प्रेमको सार बुझ्दैनौँ।

हामी यौनलाई लुकाउँछौँ। यसलाई अश्लील ठान्छौँ। तर त्यसै ऊर्जा, इच्छा र जीवनको प्राकृतिक पक्षमा हामी निर्भर रहन्छौँ। यस विरोधाभासले हाम्रो समाजको दुविधा प्रकट गर्छ जहाँ यौन निन्द्य छ, तर आवश्यक पनि।

हामी विवाहलाई प्रेम ठान्छौँ। संस्कार, कानूनी बन्धन, सामाजिक मान्यता यी सबैलाई प्रेमको सट्टामा राख्छौँ। तर प्रेम सामाजिक संरचना वा नियममा सीमित छैन। प्रेम मन, चेतना र आत्माको अन्तरक्रिया हो।

‘प्रेमालय’ ले यही मानसिकताको सीमिततालाई उजागर गरेको छ। हामी शिक्षित छौँ, तर भावनात्मक रूपमा अशिक्षित छौँ। हामी बाह्य रूपमा सभ्य देखिन्छौँ, तर भित्री अनुभूति र संवेदनामा अप्ठ्यारोमा छौँ भन्ने भाव लेखकले देखाएका छन्।

८. पौराणिक सन्दर्भ : मिथकको पुनर्पाठ 

लेखकले पौराणिक कथाहरूलाई नयाँ दृष्टिकोणबाट पुनः व्याख्या गरेका छन्। उनी रामायणलाई राम र सीताको आदर्श प्रेमकथा मात्र नभएर रावणको प्रेमकथा पनि मान्छन्। यसले स्थापित परम्परागत दृष्टिकोणलाई चुनौती दिन्छ।

यो दृष्टिकोण विवादास्पद हुन सक्छ। किनभने हाम्रो समाजमा रामायणलाई नैतिक र आदर्शको प्रतीकका रूपमा हेरिन्छ। प्रत्येक पात्रको प्रेम अनुभूति, स्वभाव र नियति फरक हुन्छ र त्यसको मूल्यांकन विजय वा हारको आधारमा हुनु गलत हुन्छ भन्ने लेखकले देखाएका छन्।

पाठकलाई कथा पढ्नु मात्र होइन, सोच्न र विश्लेषण गर्न प्रेरित गर्छ। यसले प्रेमको बहुआयामिकता र जटिलतालाई उजागर गर्छ। राम, सीता, रावण यी पात्रहरूको प्रेम रोमान्स होइन; यो चेतना, इच्छाशक्ति र सामाजिक तथा व्यक्तिगत प्रतिबन्धसँगको द्वन्द्व पनि हो। लेखकको यस दृष्टिकोणले पाठकलाई पौराणिक कथामा मात्र होइन, आफ्नै जीवन र समाजमा पनि प्रेमको विविध आयामलाई बुझ्ने अवसर दिन्छ। यसले प्रेमलाई पारंपरिक परिभाषाभन्दा परिपूर्ण, गहिरो र चुनौतीपूर्ण बनाउँछ।

९. मनोविज्ञान र प्रकृतिवाद : 

कोइरालाले देखाएका छन कि मानिसको भित्री जीवनमा एउटा आदिम प्रवृत्ति लुकेको हुन्छ। यस भित्री संसारमा ईर्ष्या, स्वामित्व र हिंसा प्रेमसँगै उत्पन्न हुन सक्छन्।

सहजको हिंसा कथा घटनाको परिणाम होइन। यो मानव मनको गहिरो, अवचेतन पक्षको अभिव्यक्ति हो। जब प्रेम स्वामित्वमा परिणत हुन्छ, जब इच्छा र आत्मसन्तोषको द्वन्द्व उत्पन्न हुन्छ, तब यो हिंसा जन्मिन्छ।

हाम्रो बाहिरी सभ्यता र भित्री प्रवृत्ति सधैं समान हुँदैन। हामी शान्त र सभ्य देखिन्छौँ, तर भित्री भावनाले कहिलेकाहीँ असंयमित प्रतिक्रिया जन्माउँछ। सहजको क्रिया केवल व्यक्तिगत त्रासदी होइन; यो चेतनाको, भावनाको र सामाजिक संरचनाको द्वन्द्वको प्रतीक हो। यसले पाठकलाई सोच्न बाध्य पार्छ।प्रेम केवल सुन्दर भावना मात्र होइन यसमा गहिरो मानव मनोविज्ञान र अस्तित्ववादका पक्षहरू पनि समाहित छन्।

१०. भाषा र शैली : सरलता भित्रको सौन्दर्य 

लेखकले अनावश्यक जटिलता प्रयोग गरेका छैनन्। उनले सरल शब्दहरूमा गहिरो भाव व्यक्त गरेका छन्। शब्दहरू महसुस गराउने, अनुभूति जगाउने माध्यम बनेका छन्। प्रत्येक वाक्यले पाठकको मनमा एक ध्वनि जस्तै प्रतिध्वनि छोड्छ।

साधारण शब्दावलीमा दार्शनिकता छ। मनोवैज्ञानिक विश्लेषण छ। जीवनका गहन प्रश्नहरू यहाँ सरल तर अर्थपूर्ण शैलीमा प्रस्तुत छन्। यसले पाठकलाई सोच्न बाध्य पार्छ। शब्दहरूको प्रवाहले भावनात्मक र बौद्धिक यात्रामा लग्छ।

सजिलो भाषा प्रयोग गरिए पनि कथाको गहिराई कम भएको छैन। साना वाक्यहरूले कथा मात्रै अघि बढाउँदैनन्; ती पाठकको चेतनामा खुराक दिने पुल जस्तो काम गर्छन्। लेखकले शब्दहरूको चयनमा स्पष्टता राखेका छन्।कतिपय वाक्य छोटा, कतिपय विचारपूर्ण र घुलमिल छन्।

११. शीर्षकको अर्थ : प्रेमको घर कि कारागार? 

प्रेमालय’ प्रतीक हो। यो प्रेमको घर हो जहाँ हृदय खुल्छ, भावना उजागर हुन्छ र अनुभवको पाठ सिकाइन्छ। तर कहिलेकाहीँ यही प्रेमको घर कारागार पनि बन्न सक्छ। जहाँ स्वतन्त्रताको अभावले, स्वामित्वको जालले, ईर्ष्याको बाधाले प्रेमलाई रोक्छ।

यो स्थल प्रेमको शिक्षालय हो जहाँ सिकाइन्छ विश्वास, समझदारी, त्याग र संवेदनशीलता। तर यही प्रेमले कहिलेकाहीँ बन्धन पनि बनाउँछ। मनको नियन्त्रण, चाहनाको अधिनायकता र भावनाको जालमा फसाउँछ।

प्रेम अनुभूति मात्र होइन यो अनुभव र जिम्मेवारीको समष्टि हो। यहाँ पाठ शब्दमा होइन, हृदय र आत्मामा हुन्छ। प्रेम सिकिन्छ, अभ्यास गरिन्छ, तर सिकाइले कहिलेकाहीँ स्वतन्त्रताको मूल्य र भावनाको जटिलतालाई उजागर पनि गर्छ।

१२. वियोगान्त : अन्त्यको मौन करुणा 

उपन्यासको अन्त्य अत्यन्त पीडादायी छ। मृत्यु छ। एक्लोपन छ। हरेक पात्रले आफ्नो जीवनको अन्तिम सीमा छोएको छ। तर यही अन्त्यले पाठकमा एउटा गहिरो प्रश्न जन्माउँछ—के प्रेम समाप्त भयो?

शायद होइन। प्रेम जीवित शारीरिक सम्बन्धमा सीमित हुँदैन। यो स्मृतिमा बाँकी रहन्छ। पीडामा झल्किन्छ र अनुभूतिमा अविरल प्रवाहित हुन्छ। सहज, गुराँस र ऋषभको कथा समाप्त भए पनि, प्रेमको ऊर्जा अझै पाठकको मनमा रहन्छ। यो प्रेमले पाठकलाई भावनात्मक र दार्शनिक यात्रामा लगेर जीवनको अर्थ, सम्बन्धको मूल्य, र भावनाको गहिराइ बुझ्न बाध्य पार्छ।

प्रेम कुनै निश्चित समाप्ति बिन्दुमा टुंगिँदैन। मृत्युले मात्र शारीरिक उपस्थिति अन्त्य गर्न सक्छ।प्रेमको अनुभूति, सम्बन्धको गहिराइ र स्मृतिको स्पर्श अझै बाँकी रहन्छ। यही बाँकी प्रेमले पाठकलाई जीवन, सम्बन्ध र चेतनाको अनन्त यात्रा बुझ्न प्रेरित गर्छ।

१३. समालोचना : शक्ति र सीमाहरू 

यस उपन्यासको सबैभन्दा ठूलो शक्ति यसको दार्शनिक गहिराइ हो। लेखकले प्रेमलाई कथा होइन, जीवन र चेतनाको प्रश्नको रूपमा प्रस्तुत गरेका छन्। पाठक के पात्रको व्यवहार हेर्ने मात्र छैन; उनी आफ्नै अनुभूति, इच्छाशक्ति र मनोवैज्ञानिक तहसँग पनि सामना हुन्छ।

तर केही ठाउँमा विचारप्रधानता बढी देखिन्छ। कथाको प्रवाह कहिलेकाहीँ विचार र दर्शनको भारले ढाकिएको अनुभूति दिन्छ। यसले केही पाठकलाई कथा प्रवाहबाट केही दूरीमा राख्न सक्छ। तथापि, यिनै दर्शनात्मक खण्डहरूले उपन्यासलाई अर्थपूर्ण बनाउँछन्।

 ‘प्रेमालय’ प्रभावशाली छ। यसले पाठकलाई प्रेम, सम्बन्ध, स्वतन्त्रता, ईर्ष्या, विश्वास र मानव मनोविज्ञानको जटिलतामा डुबाउँछ। कथाको त्रासदीपूर्ण अन्त्य, पात्रहरूको द्वन्द्व र प्रेमको अपरिभाषित स्वरूपले उपन्यासलाई केवल पठनीय मात्र नभई अनुभव गर्न योग्य बनाएको छ।

१४. निष्कर्ष : 

‘प्रेमालय’ एक अनुभवको यात्रा हो, जहाँ प्रेमलाई पढाइँदैन, महसुस गराइन्छ। प्रेम सिक्न सकिन्छ तर बुझ्न सजिलो छैन। प्रेम सुन्दर छ, तर कहिलेकाहीँ खतरनाक पनि हुन्छ। प्रेम स्वतन्त्र छ, तर यसले कहिलेकाहीँ बाँध्ने शक्ति पनि बोकेको हुन्छ।

उपन्यासको कथामा सहज, गुराँस र ऋषभले प्रेमका तीन भिन्न आयामलाई चित्रित गर्छन्—संवेदनशीलता, स्वतन्त्रता र बौद्धिक प्रयोग। त्रिकोणभित्रको द्वन्द्व सम्बन्धको द्वन्द्व होइन; यो चेतनाको द्वन्द्व हो। अन्ततः त्रासदीले समाप्त भए पनि प्रश्नहरू अझै बाँकी रहन्छन् के प्रेम पाउनुमा छ, कि त्यागमा?

प्रेम न भावना हो, न शारीरिक आकर्षण। यो ऊर्जा हो, प्रवाह हो, यात्रा हो। यौन आवश्यक हुन सक्छ, तर प्रेमको पूर्णता होइन। सामाजिक प्रतिबन्ध, लुकावट र विवाहलाई प्रेम मान्ने मानसिकता उपन्यासले चुनौती दिन्छ। प्रेम आफैंमा प्रश्न हो। यो पाठ्यक्रम होइन, चेतनाको साधना हो।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रेमको अपरिमेय पाठशाला : ‘प्रेमालय’ को दार्शनिक–मनोवैज्ञानिक पक्ष

सरकार ‘शून्य बाँकी फाइल’ अभियानमा, तर संघीय सचिवालय निर्माण कार्यालयमा प्रतिशत विवादले फाइल थन्किए

फाइल थन्क्याउने कर्मचारीमाथि कारबाही चेतावनी, सरकारले ल्यायो ‘शून्य बाँकी फाइल’ अभियान

स्पन्दन गजुरेलको गजल

स्थानीय सेवा ऐन संशोधनसहित पारित : दफा ९ र २७ प्रति कर्मचारीको आपत्ति

समृद्ध नेपालको प्रस्थानविन्दु : सुशासन, प्रशासनिक पुनर्संरचना र भ्रष्टाचार नियन्त्रणको मार्गचित्र

नायब सुब्बा घुससहित पक्राउ परे,कार्यालय प्रमुखलाई कसरी गर्ने कारवाही ?

निजामती कर्मचारीलाई वैदेशिक अध्ययनको अवसर

बिशेष