एक यस्ता प्रशासक,जो सचिव बने यताको साढे चार बर्षमा दसौं पटक सरुवामा परेका छन् । विगतका सरकारहरुले पटक पटक भकुण्डो बनाएका हक्की स्वभावका उनै सचिवलाई नयाँ सरकार आएको साता दिनमै सरुवा गरिएको छ,यो उनको सचिव बने यताको दसौं सरुवा हो । सरकारले दुई सचिवको सरुवा गरेको छ । साढे तीन महिना अगाडि तथ्यांक कार्यालयबाट उद्योगमा पुगेका हक्की स्वभावका सचिव मधुसुदन बुर्लाकोटीलाई तीन महिनामै नयाँ सरकारले सरुवा गरेर निर्वाचन आयोगमा खटाएको हो ।
बिज्ञापन
गत मंसिर अन्तिम सातामात्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उद्योग सचिव कृष्णबहादुर राउतलाई निर्वाचन आयोगमा सरुवा गरिएको थियो । उनलाई निर्वाचन सम्पन्न भएसँगै उद्योगमै फिर्ता ल्याइएको छ भने राउतको ठाउँमा बुर्लाकोटीलाई खटाइएको हो । हिजो बसेको क्याविनेटले राउत र बुर्लाकोटीको जिम्मेवारी हेरफेर गरेको हो । यस अघि राउत करिब डेढ वर्षदेखि उद्योग मन्त्रालयको सचिवको जिम्मेवारीमा रहँदै थिए । निर्वाचनको समयमा आयोगमा पठाएर त्यहाँ राष्ट्रिय तथ्यांक कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीलाई ल्याइएकोमा साढे महिनामै बुर्लाकोटी सरुवामा परेका हुन ।
यो उनको सचिव बनेपछिको दसौं सरुवा हो । बुर्लाकोटी ०७८ असारमा सचिवमा बढुवा भएका हुन । त्यसपछि उनलाई सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा खटाएको थियो । ६ महिनामै उनी ०७८ पुसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइयो । प्रधानमन्त्री कार्यालयमा डेढ महिना पछि उनलाई २०७८ फागुनमा सार्वजनिक खरिद अनुगमन कार्यालय पुगेका थिए। उनी सबैभन्दा लामो समय बसेको कार्यालय त्यही हो । जहाँ डेढ वर्ष बसे। त्यसपछि ०८० साउनमा उपराष्ट्रपति कार्यालय सरूवा भएका उनलाई त्यहाँबाट ८ महिना पछि ०८० चैतमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेको दुई महिना पनि नपुगी सचिव बुर्लाकोटी २०८१ जेठ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा भकुण्डो बनाइयो । वित्त आयोगमा पनि डेढ महिनामै सरुवामा परे । त्यस पछि वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव भएर गए। तर त्यहाँ पनि उनी डेढ महिना पनि टिकेनन्। २०८१ साउन १४ वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव बनेर गएका बुर्लाकोटी २०८१ भदौ नबित्दै राष्ट्रिय तथ्याङ्क कार्यालय पुगेका हुन्। त्यहाँबाट उनलाई गत बर्ष मंसिरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ल्याइएकोमा नयाँ सरकार बनेको दुई साता नपुग्दै सरुवा गरेर निर्वाचन आयोगमा पठाइएको छ ।


























