शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शाखा अधिकृत (विद्यालय निरीक्षक) श्यामला पौडेललाई सरकारी सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले दोस्रो पटक सूचना प्रकाशित गर्दै उनलाई स्पष्टीकरण पेश गर्न अन्तिम मौका दिएको हो।
मन्त्रालयका अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुर अन्तर्गत शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूहमा कार्यरत रा.प. तृतीय श्रेणी शाखा अधिकृत (विद्यालय निरीक्षक) श्यामला पौडेललाई २०७७ असोज ३ गतेको निर्णयअनुसार असाधारण बिदा स्वीकृत गरिएको थियो। उक्त निर्णयअनुसार उनी २०७७ असोज ११ गतेसम्म असाधारण बिदामा बसेकी थिइन्।
तर बिदा समाप्त भएको मिति २०७७ असोज १२ गतेपछि पनि उनी ९० दिनभन्दा बढी समयसम्म कार्यालयमा हाजिर नभएको मन्त्रालयले जनाएको छ। लामो समयसम्म कार्यालयमा उपस्थित नभएकाले निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) अनुसार भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट किन नहटाउने भन्ने विषयमा स्पष्टीकरण माग गरिएको थियो।
यसै क्रममा २०८२ फागुन १७ गते गोरखापत्र दैनिकमार्फत १५ दिने सूचना प्रकाशित गरी सफाइ तथा स्पष्टीकरण पेश गर्न भनिएको थियो। तर तोकिएको समयभित्र पौडेलबाट कुनै स्पष्टीकरण प्राप्त नभएको मन्त्रालयले जनाएको छ।
त्यसपछि मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा ६६ तथा दफा ६७ र निजामती सेवा नियमावली, २०५० को नियम ११० (ख) अनुसार पुनः सूचना प्रकाशित गर्दै ३० दिनभित्र सफाइ तथा स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।
सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेश नभएमा श्यामला पौडेललाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने प्रक्रिया अगाडि बढाइने मन्त्रालयले जनाएको छ।


























