जेनजीको आन्दोलन दमनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली,गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । यस्तै सोही क्याविनेटका उर्जामन्त्री दीपक खड्का पनि आज बिहान मात्र पक्राउ परेका छन् ।
जेनजी आन्दोलनमा दमनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, आईजीपी चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरिएको थियो । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले २३ र २४ भदौमा भएको जेन जी आन्दोलनबारे गरेको अध्ययन प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, आईजीपी चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरिएको थियो । यस्तै, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा पनि कारबाही सिफारिसमा परेका छन् । वर्तमान आईजीपी दानबहादुर कार्कीलाई पनि नसियत दिन आयोगले सिफारिस गरेको छ ।
बिज्ञापन
यस्तै,गृह सचिव गोकर्णमणि दुवाडी काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालविरुद्ध दफा १८२ अनुसार कारबाही गर्न सिफारिस गरिएको भए पनि उनीहरु तत्काल पक्राउ नपर्ने भएका छन् । सो प्रतिवेदनमा नेपाल प्रहरीका एआईजी सिद्धविक्रम शाह, डीआईजी ओमबहादुर राना, एसएसपी विश्व अधिकारी, एसएसपी दीप शम्शेर, र इन्स्पेक्टर ऋषिराम कँडेललाई प्रहरी ऐन र नियमावलीअनुसार कारबाही गर्न सिफारिस गरिएको छ ।
यस्तै, अपरेसन कमाण्डर नारायणदत्त पौडेल, वाहिनीपति सुरेशकुमार श्रेष्ठ, र एसपी जीवन केसीलाई सशस्त्र प्रहरी ऐन र नियमावलीअनुसार कारबाही गर्न सिफारिस गरिएको छ । सो प्रतिवेदनमा राष्ट्रपति भवन शीतल निवास, प्रधानमन्त्री निवास बालुवाटार, सिंहदरबार सचिवालय र संसद् भवनको सुरक्षामा खटिएका चार नेपाली सेनाका कमाण्डर अधिकारीहरू : मनोज बैदवार, दिवाकर खड्का, गणेश खड्का र सन्तोष ढुंगेललाई सैनिक ऐनअनुसार कारबाही गर्न सिफारिस गरिएको भए पनि राजनीतिक नेतृत्वलाई मात्र तत्काल कारवाही गर्ने प्रशासनिक र सुरक्षा संयन्त्रमा रहेकाहरुलाई तत्काल कारवाही नगर्ने भनिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
सो प्रतिवेदनमा केपी शर्मा ओली,रमेश लेखक,तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी,तत्कालीन काठमाडौंकौ प्रमुख जिल्ला अधिकारी छवि रिजालसहित सात जनालाई मुद्दा चलाउन सिफारिस गरिएको भए पनि सुरक्षा संयन्त्रको परिभाषाभित्र तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी र काठमाडौंका तत्कालीन सिडिओ छवि रिजाललाई पनि राखिएको कारण उनीहरु तत्काल पक्राउ नपर्ने भएका हुन । सुरक्षा संयन्त्रको हकमा थप अध्ययनपछि र राजनीतिक नेतृत्वको हकमा तत्काल कार्यान्वयन गर्ने निर्णय भएको थियो । सोहीअनुसार शनिबार नै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिसकिएको छ।
बिज्ञापन
यसैबीच गृह मन्त्रालयले जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वनका लागि शनिबार प्रहरीकहाँ पठाएको छ ।


























