मूलमै फोहोर छ, धाराको टुटी सफा गरेर के अर्थ ? लाइन मिनिष्ट्री मानिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयभित्रै एक तिहाई कर्मचारी निजामती ऐनविपरीत कार्यरत छन् । कर्मचारी संगठन, माथिसम्मकै पहुँच, पावरका भरमा जरा गाढेर बसेका रैथाने कर्मचारीलाई बल्लतल्ल मन्त्री रामेश्वर खनाल र सचिव चन्द्रकला पौडेल लगायतले सरुवा गर्ने हिम्मत त गरे तर सहसचिव अटेरी गरी मन्त्रालय छाड्न मानिरहेका छैनन् । उपसचिव बढुवा भएदेखि अर्थात ७२ सालदेखि सामान्य प्रशासनमा रमाएका उनी हालैमात्र सहसचिवमा बढुवा भएका हुन । गत माघमा सहसचिवमा उक्लिएका तिनै नवनियुक्त सहसचिवलाई महिना दिन अगाडि नै सरुवा भए पनि रमाना नलिइ अटेरी गरेर बसिरहेका छन् ।निजामती ऐन अनुसार,सरुवा भएका कर्मचारीहरुले २१ दिनभित्रै रमाना लिनुपर्ने व्यवस्था भए पनि यस्ता कानुनी र कागजी व्यवस्था निर्धा कर्मचारीहरुका लागि मात्र लागू भइरहेको यो अर्काे जल्दोबल्दो उदाहरण हो ।
बिज्ञापन
जागिर खाएको २७ वर्ष सिंहदरबार नछाड्ने उपसचिव पनि त्यहीँ छन्, १३ वर्षदेखि सो मन्त्रालय छाडेर दायाँ बायाँ नहुने ट्रेड युनियनका नेता पनि त्यही भेटिन्छन् । यस्तै मध्येका एक हुन रेशमलाल कँडेल,जस्ले जागिरे जीवनको ११ बर्ष एउटै मन्त्रालयमा बिताए । उपसचिवबाट सहसचिवमा उक्लिएपछि उनको सरुवा भएको थियो, वीरगन्ज महानगरपालिका कार्यालयको प्रमुख प्रशासकीय अधिकृतको रूपमा । तर सरुवा भएको महिना दिन हुँदा पनि उनी हालसम्म हाजिर हुन पुगेका छैनन् ।
निर्वाचन आचारसंहिताकै बीच गत फागुन २१ को मन्त्रिपरिषद्को बैठकले कँडेलसहित २३ जना सहसचिवको सरुवा गरेको थियो । सो सरुवाको सूची अनुसार सामान्यको अतिरिक्तमा रहेका कँडेललाई महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाएको थियो । लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालित कँडेल यो समाचार तयार पार्दासम्म महानगरपालिकामा हाजिर भएका छैनन् ।
निजामती किताबखानाको रेकर्ड अनुसार कँडेल ०५९ फागुन १९ बाट निजामती सेवामा पाइला राखेका हुन । नेपाल कृषि सेवा अन्तर्गत प्राविधिक सहायकबाट निजामतीमा पाइला राखेका कँडेल ०६३ सालका सेक्सन अफिसर हुन । ०६९ चैत २७ गते उपसचिव भएका उनी ७२ सालदेखि सामान्य प्रशासन मन्त्रालयका रैथाने कर्मचारीका रुपमा चिनिन्छन् । ०८२ माघ २३ गते सहसचिवमा उक्लिएका उनलाई महिना दिन पछि सामान्यले वीरगन्ज महानगरपालिकामा खटाएको भए पनि उनले अझैं सामान्य प्रशासन छाड्न नमानेको मन्त्रालयका अधिकारीहरुले पृष्टि गरेका छन् ।


























