काठमाडौँ । सशस्त्र प्रहरी बलको प्राविधिक समूहमा कार्यरत दुईजना डीआईजीको सेवा अवधि थपिएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी इन्जिनियर सन्दीप थापा र डा. रूपक महर्जनको पदावधि एक वर्ष बढाउने निर्णय गरेको हो।
बिज्ञापन
सरकारको निर्णयसँगै उनीहरू अब २०८३ चैत ५ गतेसम्म सशस्त्र प्रहरीमा कार्यरत रहनेछन्। सशस्त्र प्रहरी नियमावलीको दफा ६५ (ग) अनुसार डीआईजी पदको पदावधि चार वर्ष तोकिएको छ। सोही प्रावधानअनुसार उनीहरूको कार्यकाल २०८२ चैत ५ मा समाप्त हुने अवस्थामा थियो।
हाल इन्जिनियर थापा सशस्त्र प्रहरीको मद्धति तथा सेवा निर्देशनालयको प्रमुखका रूपमा कार्यरत छन् भने डा. महर्जन सशस्त्र प्रहरी अस्पतालको नेतृत्व सम्हालिरहेका छन्।
यसैबीच साधारण समूहतर्फका डीआईजी लक्ष्मणबहादुर सिंह र प्रदीप पालको पदावधि थप गर्ने प्रस्ताव पनि गृह मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएको थियो। तर, मन्त्रिपरिषद् बैठकले उक्त प्रस्तावमा कुनै निर्णय नगरेको स्रोतले जनाएको छ।
बिज्ञापन
राष्ट्रिय सुरक्षा परिषद्मा कार्यरत सिंह र सशस्त्र प्रहरीको कार्य विभागमा रहेका पाल दुवैजना डीआईजीको चार वर्षे पदावधि पूरा गर्दै चैत ५ गते अवकाशमा जाने अवस्थामा छन्।
उनीहरू २०५४ चैत १८ गते नेपाल प्रहरीमा प्राविधिक सई (कम्प्युटर अपरेटर) पदबाट सेवा प्रवेश गरेका थिए र पछि सशस्त्र प्रहरी बलमा समाहित भएका थिए।
प्राविधिक समूहबाट आएका उनीहरूले छोटो तालिमपछि सेवा सुरु गरेको र साधारण समूहतर्फका अधिकृतहरूले जस्तै कठोर आधारभूत तालिम नलिएको भन्दै उनीहरूको म्याद थप प्रस्तावप्रति सशस्त्र प्रहरीभित्रै केही अधिकारीहरूले असन्तुष्टि व्यक्त गरेका थिए।


























