काठमाडौँ — नेपाल सरकारले ईरानका नागरिकलाई नेपाल प्रवेश गर्दा उपलब्ध गराइँदै आएको आगमन भिसा (अन अराइभल भिसा) सुविधा बन्द गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयले मिति २०८२ फागुन २९ गते मन्त्रीस्तरबाट यस्तो निर्णय गरेको हो।
बिज्ञापन
निर्णयअनुसार अबदेखि सरकारी तथा कूटनीतिक राहदानीबाहक बाहेकका ईरानी नागरिकले नेपाल प्रवेश गर्नुअघि अनिवार्य रूपमा विदेशस्थित नेपाली दूतावास वा नियोगबाट भिसा प्राप्त गर्नुपर्नेछ। यसअघि उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित नेपालका विभिन्न प्रवेश नाकामा आगमन भिसा उपलब्ध हुने व्यवस्था थियो।
यस निर्णयसँगै नेपालमा आगमन भिसा सुविधा नपाउने मुलुकको संख्या १३ पुगेको छ। आगमन भिसा नपाउने अन्य मुलुकमा नाइजेरिया, घाना, जिम्बाब्वे, स्वाजिल्यान्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरिया रहेका छन्।
यसैगरी शरणार्थी हैसियतमा जारी गरिएको यात्रा कागजात भएका व्यक्तिले पनि नेपाल प्रवेश गर्दा विदेशस्थित नेपाली दूतावासबाट भिसा लिएपछि मात्र नेपाल प्रवेश गर्न पाउने व्यवस्था कायम रहेको छ।
बिज्ञापन
अध्यागमन विभागका निमित्त महानिर्देशक टीकाराम ढकालका अनुसार उक्त निर्णयसँगै नेपाल प्रवेशसम्बन्धी भिसा व्यवस्थालाई थप व्यवस्थित र नियमनयुक्त बनाउने उद्देश्य राखिएको छ।


























