निजामती अस्पतालको सेवा अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि

निजामती अस्पताल को सेवा अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा समेत विस्तार हुने भएको छ। दुवै संस्थाबीच बिहीबार सम्झौता भएपछि निजामती कर्मचारी र उनीहरूका आश्रित परिवारले दाङबाटै निजामती अस्पताल सरहका स्वास्थ्य सुविधा प्राप्त गर्न सक्ने भएका छन्।

बिज्ञापन

काठमाडौँको नयाँ बानेश्वरस्थित निजामती अस्पताल र दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच भएको उक्त सम्झौतामा निजामती अस्पतालका कार्यकारी निर्देशक मोहन चन्द्र रेग्मी र प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार श्याम लम्साल ले हस्ताक्षर गरेका छन्।

बिज्ञापन

सम्झौताअनुसार अब निजामती कर्मचारीहरूले काठमाडौँ आउनु नपरी दाङस्थित प्रतिष्ठानबाटै उपचार सेवा लिन सक्नेछन्। साथै दुवै संस्थाबीच स्वास्थ्य जनशक्ति तालिम, अनुसन्धान तथा सेवा विस्तारका क्षेत्रमा पनि सहकार्य गर्ने उल्लेख गरिएको छ।

निजामती अस्पतालले बहालवाला तथा अवकाशप्राप्त कर्मचारीलाई उपचार सेवामा विशेष छुटको व्यवस्था गर्दै आएको छ। अस्पतालका अनुसार बहालवाला कर्मचारी र उनका परिवार—बुवा, आमा, श्रीमान् वा श्रीमती तथा २१ वर्षमुनिका दुई सन्तान गरी अधिकतम ६ जनासम्मलाई उपचार सेवामा ४० प्रतिशतसम्म छुट प्रदान गरिन्छ। यो छुट ओपिडी सेवा, एम्बुलेन्स सेवा र औषधिमा भने लागू हुँदैन।

बिज्ञापन

त्यस्तै बहालवाला तल्लो तहका कर्मचारीलाई सेवा शुल्कमा ५० प्रतिशत र अधिकृत तहका कर्मचारीलाई ४० प्रतिशत छुट उपलब्ध गराइने व्यवस्था छ। अवकाशप्राप्त निजामती कर्मचारीहरूले भने अधिकांश स्वास्थ्य सेवामा ५० प्रतिशतसम्म छुट पाउने व्यवस्था रहेको अस्पताल प्रशासनले जनाएको छ।

निजामती अस्पतालले कर्मचारीको पहिचान र सेवा सुविधा व्यवस्थापनका लागि विशेष सफ्टवेयर प्रणाली पनि सञ्चालनमा ल्याएको छ। सो प्रणालीमा दर्ता हुन प्रत्येक कर्मचारीले आफ्ना बुवा, आमा, पति वा पत्नी तथा छोराछोरीको विवरणसहित फारम भर्नुपर्ने हुन्छ।

उक्त विवरणलाई अस्पतालले अप्टिकल फाइबर नेटवर्कमार्फत कर्मचारीको अभिलेख रहेको निजामती किताबखानासँग जोड्ने व्यवस्था गरेको छ। उपचारका लागि अस्पताल पुग्दा सफ्टवेयरमा कर्मचारीको नाम प्रविष्ट गरेपछि किताबखानाबाट स्वीकृति प्राप्त भएसँगै सम्बन्धित व्यक्तिले कर्मचारी सरहको सबै सुविधा पाउने व्यवस्था रहेको बताइएको छ।

तर किताबखानामा दर्ता नभएको अवस्थामा कुनै कर्मचारीले परिचयपत्र देखाए पनि अस्पतालको प्रणालीले मान्यता नदिने व्यवस्था छ। यस्तो अवस्थामा सम्बन्धित कार्यालय वा कार्यालय प्रमुखको सिफारिस आवश्यक पर्ने कडा प्रावधान रहेको अस्पतालले जनाएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति प्रा. लम्सालका अनुसार प्रतिष्ठानले आगामी २०८३ साल वैशाख १ गतेदेखि निजामती अस्पताल सरहको सेवा सुरु गर्ने तयारी गरेको छ। उनका अनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमध्ये निजामती कर्मचारीको सेवा सुविधाका लागि यस्तो पहल गर्ने पहिलो संस्था राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नै हो।

उनले यस सम्झौताले लुम्बिनी प्रदेशका निजामती कर्मचारी र उनीहरूका आश्रित परिवारलाई स्वास्थ्य सेवा प्राप्त गर्न ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे। साथै यसबाट नेपाल सरकार र प्रतिष्ठानबीचको सहकार्य अझ सुदृढ हुने अपेक्षा गरिएको पनि उनले बताए।

निजामती अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. रेग्मीले देशभरका निजामती कर्मचारीलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यअनुसार अस्पतालले सातै प्रदेशमा सेवा विस्तार गर्ने योजना बनाएको जानकारी दिए। सोही योजनाअन्तर्गत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरिएको र सेवा प्रवाहमा आवश्यक सहयोग उपलब्ध गराइने उनले बताए।

पछिल्लो दुई वर्षयता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो शैक्षिक तथा स्वास्थ्य सेवा विस्तारलाई तीव्रता दिएको छ। प्रतिष्ठानले एमबीबीएस लगायतका स्नातक कार्यक्रम सञ्चालन गर्दै आएको छ भने एमडी र एमएस जस्ता स्नातकोत्तर कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ। साथै विशिष्टीकृत अस्पताल सेवा विस्तार र अन्य जिल्लासम्म स्वास्थ्य सेवा विस्तारको पहल गर्दै आएको सन्दर्भमा यस नयाँ सम्झौताले प्रतिष्ठानको सेवामा थप आयाम थप्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रास्वपाको जितसँगै कर्मचारी संगठनमा हलचल : संगठनका जिल्ला सचिव मैनालीको राजीनामा

निर्वाचन परिणाम विश्लेषण र आगामी योजना 

लोकसेवा आयोगले माग्यो ३५३ जना खरिदार (विज्ञापनसहित)

रास्वपाको उदयसँगै कर्मचारीमा हलचल : निजामती कर्मचारी संगठनका सचिवले दिए राजीनामा

रास्वपाका सभापतिको भन्दा बरिष्ठ नेताको चुनाव खर्च ४ लाख ७३ हजारले बढी

निजामती अस्पतालको सेवा अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि

भ्रष्टाचार र लुटतन्त्रविरुद्ध नवनिर्वाचित नेताहरूलाई ट्रान्सपरेन्सी नेपालको खबरदारी

कर्मचारीतन्त्र किन र कसरी सुध्रिनुपर्छ ?

बिशेष