नेपाल सरकारका पूर्वसचिव तथा एरोनोटिकल इञ्जिनियर सुरेश आचार्य (साहित्यिक उपनाम सियारा आचार्य) ले जेनजी पुस्ताको भावना समेटिएको नयाँ राष्ट्रिय गीत सार्वजनिक गरेका छन्।
‘यो मुलुक जोगाउने योद्धा हौ युवा, नयाँ नेपालको अभियन्ता हौ युवा’ बोलको उक्त गीतले वर्तमान पुस्ताका युवालाई देश निर्माणमा सक्रिय भूमिका खेल्न प्रेरित गर्ने सन्देश बोकेको छ। सार्वजनिक भएको भिडियोले छोटो समयमै दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ।
बिज्ञापन
गीतमा ‘५ स’ को विशेष संयोग जुरेको छ। रचना सियारा आचार्य स्वयंको रहेको छ भने संगीत शक्ति बल्लभले दिएका छन्। स्वर सुमित खड्काको रहेको छ। एरेन्जर तथा रेकर्डिङ/मिक्सिङको काम सुरज श्रेष्ठले गरेका हुन्। गीत सेभेन्थ स्टुडियोमा रेकर्ड गरिएको हो।
सुरेश आचार्य साहित्यिक तथा सांगीतिक क्षेत्रमा ‘सियारा आचार्य’ उपनामबाट परिचित छन्। उनले यसअघि पनि विभिन्न गीति एल्बम सार्वजनिक गरिसकेका छन्। ‘हाम्रो मौलिक शहर आज’, ‘गहिरो छ माया’, ‘तिम्रो प्रेरणाले’, ‘मुलुकले आज केही खोजिरहेछ’, ‘रमाउँदै आयौ’ र ‘चुपचाप’ लगायतका एल्बम बजारमा ल्याइसकेका छन्। साथै ‘हाम्रो मौलिक शहर’, ‘न नजर थियो यहाँ न बहर थियो’, ‘गहिरो छ माया’ लगायत करिब एक दर्जन गीत सार्वजनिक गरिसकेका छन्।
पेशाले प्राविधिक भए पनि सुरेश आचार्यले साहित्य र संगीतमार्फत सामाजिक चेतना र राष्ट्रप्रेमलाई अभिव्यक्त गर्दै आएका छन्। नयाँ राष्ट्रिय गीतमार्फत उनले विशेषतः जेनजी युवाहरूलाई सकारात्मक परिवर्तनका अभियन्ताका रूपमा अघि बढ्न आह्वान गरेका छन्।

























