फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सरकारले यसपटक सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखेको छ। स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न गर्ने उद्देश्यसहित ३ लाख ४१ हजार १ सय ११ जना सुरक्षाकर्मी देशभर परिचालन गरिएको छ।
बिज्ञापन
निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिको निर्णयअनुसार परिचालन गरिएको सुरक्षा संयन्त्रमा सबै सुरक्षा निकायको सक्रिय सहभागिता रहेको छ। नेपाली सेनाबाट ७९ हजार ७ सय २७ जना, सशस्त्र प्रहरी बलबाट ३४ हजार ५ सय ७६ जना, नेपाल प्रहरीबाट ७५ हजार ७ सय ९७ जना, राष्ट्रिय अनुसन्धान विभागबाट १ हजार ९ सय २१ जना र म्यादीसहित निर्वाचन सुरक्षाका लागि १ लाख ४९ हजार ९० जना परिचालन गरिएका छन्।
समितिका संयोजक तथा निर्वाचन आयुक्त सगुन शमशेर जबराले हालसम्म देशभर शान्ति सुरक्षाको अवस्था सामान्य रहेको र कुनै गम्भीर चुनौतीको प्रतिवेदन प्राप्त नभएको जानकारी दिएका छन्। आयोगले सुरक्षा निकायका प्रमुखहरूसँग नियमित समन्वय र सूचना आदानप्रदान गर्दै आएको उनले बताए।
यसपटक भने विगतभन्दा केही अघि नै सेना परिचालन गर्ने निर्णय गरिएको छ। अघिल्ला निर्वाचनमा सेना तेस्रो घेरामा राखिँदा सुरक्षा प्रभावकारिता कमजोर भएको राजनीतिक दलहरूको सुझावपछि आवश्यक परे पहिलो घेरामै खटिने गरी मोडालिटी तयार गरिएको जनाइएको छ।
बिज्ञापन
निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिको पहिलो बैठकले नै सरकारलाई निर्वाचनमा सेना प्रयोग गर्न सिफारिस गर्ने निर्णय गरेको थियो। यस व्यवस्थासँगै आगामी निर्वाचनलाई शान्तिपूर्ण र विश्वसनीय बनाउन सरकार दृढ देखिएको छ।


























