निजामती किताबखानाले ज्येष्ठ नागरिक तथा सेवानिवृत्त कर्मचारीहरूको स्वास्थ्य उपचारमा थप राहत पुग्ने गरी निर्णय गरेको छ ।
बिज्ञापन
निजामती किताबखाना (कर्मचारी)ले अवकाश प्राप्त कर्मचारीले प्राप्त गर्दै औषधी उपचार खर्च थप उपलब्ध गराउने निर्णय गरेको हो । किताबखानाका अनुसार अब निवृत्तिभरण(पेन्सन) पाइरहेका व्यक्तिहरूले उमेरका आधारमा निवृत्तिभरण रकमको १० प्रतिशत रकम औषधी उपचार खर्चबापत उपलब्ध गराइने भएको हो ।
किताबखानाले ७५ बर्ष उमेर पूरा भएका निवृत्तभरण बुझ्दै आएका कर्मचारीलाई मासिक पेन्सनमा १० प्रतिशत र ८५ बर्ष उमेर पूरा भएका कर्मचारीहरुलाई थप १० प्रतिशत गरी २० प्रतिशत थव रकम पाउने व्यवस्था लागू गर्न महालेखा नियन्त्रक कार्यालाई पत्राचार गरेको छ ।
विभिन्न कोष तथा लेखा नियन्त्रक कार्यालयहरूबाट थप औषधी उपचार खर्च भुक्तानीका सम्बन्धमा स्पष्टता माग भएपछि किताबखानाले फागुन ११ गते महानिर्देशकस्तरीय निर्णय गरी नयाँ मापदण्ड सार्वजनिक गरेको हो । राष्ट्रिय किताबखाना (निजामती) ले महालेखा नियन्त्रक कार्यालयलाई ७७ वटै कोष तथा लेखा नियन्त्रक कार्यालयहरूमा आवश्यक पत्राचार गर्न अनुरोध गरेको छ।
बिज्ञापन
यो व्यवस्था अनुसार,अब निवृत्तिभरण(पेन्सन) पाइरहेका व्यक्तिहरूले उमेरका आधारमा निवृत्तिभरण रकमको १० प्रतिशत रकम औषधी उपचार खर्चबापत उपलब्ध गराइने, ८५ वर्ष पूरा भएका कर्मचारीको हकमा साविकको निवृत्तिभरण रकमको थप १० प्रतिशत थप गरी कूल २० प्रतिशत रकम औषधी उपचार खर्चका रूपमा प्रदान गरिने भएको हो । यस्तै,पारिवारिक निवृत्तिभरण अधिकारपत्र प्राप्त गर्ने व्यक्तिको हकमा पनि उमेरकै हदबन्दी लागु गरिएको छ। तर ७५ वर्षभन्दा कम उमेर भएका पारिवारिक निवृत्तिभरण प्राप्तकर्तालाई औषधी उपचार खर्चबापतको रकम उपलब्ध नगराइने उल्लेख गरिएको छ ।

























