सुवोधकुमार देवकोटा गत भदौं ३० गतेदेखि सडक डिभिजन काठमाडौंका प्रमुख हुन् । यस अघि नुवाकोट सडक डिभिजनको नेतृत्व गरेर काठमाडौंमा सरुवा भएर आएका देवकोटाले यस बीचमा थुप्रै सुधारका यत्नहरु गरेका छन् । जस्तो : कार्यालयको खर्च कटौती, आन्तरिक सुधार, खाल्टाखुल्टीमुक्त सडक अभियानका अलवा सडक मर्मतमा उनले लिएको अग्रसरताको प्रंशशा हुँदै आएको छ । यस्का अलवा सडक एम्बुलेन्स र मोबाइल एप्स लगायतका केही नयाँ प्रयोग उनकै कार्यकालमा भएको छ । यी एप्सको प्रयोगले एकातिर नागरिक प्रत्यक्ष सहभागिता बढाएको छ । निर्माणको गुणस्तरमा गडबडी र काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही, अन्तरनिकाय समन्वय र ट्राफिक सुधारमा जोड दिँदै दीर्घकालिन र सुरक्षित सडक प्रणाली प्रथामिकतामा राखेर काम गरिरहेका छन्,देवकोटा ।
बिज्ञापन
उनको पहिलो प्रथामिकता सडक डिभिजन काठमाडौंलाई सुधार, पारदर्शीता, जवाफदेहिता र परिणाममुखी कार्य संस्कृतितर्फ रहेको जनाउँछन् । सोही अनुसार पदस्थापनकै क्रममा गरिएका प्रतिवद्धता अनुसार आन्तरिक सुधारतर्फ जोड दिए । राजनीतिक पहुँचका आधारमा नियुक्त भएका करार तथा ज्यालादारी ५० जना कर्मचारीलाई जिम्मेवारीबाट हटाए । तेल, मसलन्द, सवारी साधन लगायतका कम्तिमा ५० प्रतिशत खर्च कटौती गर्दा राज्यलाई वार्षिक करिब तीन करोड रुपैयाँ सरकारी कोषमा बचत हुने अनुमान छ । यस्तै,काठमाडौंका सडक खाल्डाखुल्डी मुक्त पार्ने द्रुततर गतिमा अगाडि बढाए । नागरिकले सडकको खाल्टाखुल्टी देख्नेवित्तिकै फोटो खिचेर तत्काल कार्यालयको एप्समा अपलोड गर्न सक्ने गरी प्रविधि विकास गरी प्रयोगमा ल्याए । नागरिकबाट यस प्रकारको सूचना प्राप्त हुनासाथ प्राविधिक टोलीसहित एम्बुलेन्स घटनास्थलमा पुगेर छिटोछरितो मर्मत गर्ने व्यवस्थाले अहिले काठमाडौं खाल्डाखुल्डीरहित हुन पुगेको छ ।
सडक एम्बुलेन्स र मोबाइल एपलाई उक्त कार्यालयले नयाँ कार्यक्रमका रूपमा होइन, नतिजामुखी सेवा प्रणालीका रूपमा सुरु गरेको छ । यसको प्रभावकारिता भावनात्मक होइन, तथ्य र परिणामका आधारमा मापन गरिन्छ । सबैभन्दा पहिले, प्रत्येक गुनासो दर्ता हुने क्षणदेखि मर्मत सम्पन्न नहुँदासम्मको सम्पूर्ण प्रक्रिया डिजिटल रूपमा अभिलेख गरिदै आएको छ । कुन स्थानबाट कति गुनासो आयो, सूचना प्राप्त भएपछि कति समयभित्र सडक एम्बुलेन्स वा प्राविधिक टोली परिचालन भयो, र वास्तविक मर्मत कति समयमा सम्पन्न भयो भन्ने स्पष्ट तथ्यांक राखिदै आएको छ । प्रतिक्रिया समय र समाधान समय नै प्रभावकारिताको पहिलो सूचक हो । यस्तै, मर्मतको गुणस्तरलाई पनि मूल्याङ्कनको आधार बनाइएको छ । मर्मतपछि पुनः सोही स्थानबाट कति समयभित्र फेरि गुनासो आयो भन्ने कुरालाई विश्लेषण गरिदै आएको छ । यस्का अलवा नागरिक सन्तुष्टि मापनलाई अर्काे सूचक बनाइएको छ । आन्तरिक अनुगमन र व्यवस्थापकीय समीक्षा नियमित रूपमा गरिन्छ । हरेक महिना कति सडक एम्बुलेन्स परिचालन भयो, कुन क्षेत्रमा बढी समस्या देखियो, कुन टोलीले समयमै काम ग¥यो वा गरेन—यी सबै विषयमा समीक्षा गरेर कार्यालय अगाडि बढिरहेको देवकोटाको कथन छ ।
उनी सो कार्यालयको प्रमुख हुँदा बर्खातकै समय थियो । प्रतिकूल मौसमका बाबजुद महाराजगन्ज–बसुन्धरा, बालाजु बाइपास, बालुवाटार, गैरिधारा, नारायणचौर, नागपोखरी, दरबारमार्ग, रत्नपार्क, कालिमाटी, बल्खु, टौदह, चोभार, गौशाला–पशुपति, मित्रपार्क, चुच्चेपाटी, पुरानो बानेश्वर, डिल्लिबजार लगायतका मुख्य तथा सहायक सडकमा चिसो मिश्रण र तातो मिश्रण प्रयोग गरी मर्मत कार्य तीव्र पारियो । यस्तै बालुवाटार क्षेत्रमा सडक भासिएर ठूला खाल्डा बनेको घटनामा पनि तत्काल प्राथमिक उपचार गरी सडक पुनःस्थापना गर्ने काम भइसकेको छ । यस्तै राजधानीको हकमा नयाँ प्रयोग गरे,मर्मत एम्बुलेन्स सञ्चालनमा आएको छ । सडक एम्बुलेन्स तीन सय ६५ दिन र चौबिसै घण्टा तयारी अवस्थामा रहनेछ । जेब्राक्रसिङ्ग, रोड मार्किङ्ग र बिग्रिएका ट्राफिक लाइट तत्काल मर्मत गर्नेतर्फ काम पनि अगाडि बढेको छ । कामका बेला ट्राफिक व्यवस्थापनका लागि चेतावनी बत्ती र सुरक्षा उपकरण प्रयोग हुँदै आएको छ । जसले भिडभाडका समयमा समेत आकस्मिक मर्मत सम्भव बनाउँदै आएको छ ।
बिज्ञापन
यस्तै आर्थिक वर्ष २०६७/६८ देखि ०७९/८० सम्म सम्झौता भएका तर वर्षौसम्म काम अघि नबढाइएका २५ वटा रुग्ण ठेक्का सार्वजनिक खरिद ऐन, २०६३ अनुसार रद्द गरिएको छ । सम्बन्धित निर्माण व्यवसायीलाई स्पष्टीकरण माग्दा प्राप्त जवाफ सन्तोषजनक नदेखिएपछि ठेक्का तोड्ने निर्णय गरिएका छन् । सडकको प्राविधिक परीक्षण ठेकेदारको सुविधाअनुसार होइन, सडक डिभिजन काठमाडौँकै कार्यालय, सडक विभागको केन्द्रीय प्रयोगशाला वा पुल्चोक इन्जिनियरिङ क्याम्पसमार्फत मात्र गर्ने र गुणस्तरमा कुनै सम्झौता हुँदैन भन्ने सन्देश अगाडि गएको छ ।
सडक डिभिजन काठमाडौँलाई राजनीतिक भागबन्डा, आसेपासे, ढिलासुस्ती र अनुत्पादक खर्चको घेराबाट बाहिर निकालेर परिणाममुखी, पारदर्शी र जनउत्तरदायी संस्थाका रूपमा स्थापित गर्नु नै आफ्नो लक्ष्य रहेको देवकोटा बताउँछन् । हामी प्रणाली निर्माणमा जोड दिइरहेका छौ‑डिजिटल रेकर्ड, स्पष्ट कार्यविधि, निगरानी संयन्त्र । यी संरचना बलियो भए भने नेतृत्व परिवर्तन हुँदा पनि सुधारको गति रोकिन्न । यी सुधारका परिणाम तत्काल नदेखिए पनि दीर्घकालीन रूपमा काठमाडौँको सडक व्यवस्थापन प्रणालीलाई स्वस्थ, भरपर्दो र गुणस्तरीय बनाउने दिशामा केन्द्रित रहेको र यस्ता निर्णयहरूलाई व्यवहारमै निरन्तर लागू भए भने राजधानीका सडकमा वर्षौंदेखि जरा गाडेर बसेका अस्वस्थ अभ्यास अन्त्य हुनेमा आफू विश्वस्थ रहेको देवकोटाको भनाइ छ ।


























